२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकारलाई सांसदहरूको ध्यानाकर्षण: ‘राहतका नाममा हुने ठगी नियन्त्रणमा ध्यान देऊ’

राष्ट्रिय सभाका सांसदहरूले विपद् व्यवस्थापनको नाममा जनतालाई ठगी गर्ने काम हुन नदिन सरकारसँग आग्रह गरेका छन्।

बाढी, पहिरो र डुबानपछि देशमा दैनिक उपभोग्य वस्तुको मूल्य अत्याधिक बढाएर जनतालाई ठग्ने काम गरेको भन्दै त्यस्ता अवाञ्छित गतिविधि बन्द गर्न उनीहरुले सरकारलाई सचेत गराएका हुन्। 

शुक्रवार सङ्घीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सत्तारुढ नेपाली कांग्रेसका सांसद युवराज शर्मा, एमालेकी सांसद सुमित्रा बिसी र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)की सांसद रेणु चन्दले विपद् व्यवस्थापनको कामलाई प्रभावकारी ढंगले नीति निर्माण गर्न र त्यसको कार्यान्वयनको कामलाई तीव्रता दिन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

 सत्तारुढ एमालेकी सांसद सुमित्रा बिसीले गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबानको समस्या समाधान गर्ने काममा पर्याप्त ध्यान दिन नसकेको भन्दै सरकारको आलोचना समेत गरिन।

सत्तारुढ कांग्रेस सांसद युवराज शर्माले विपद्को नाममा हुने गरेका अनावश्यक मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरे। उनले बाढी र पहिरोपछि रोग व्याधि पनि बढ्ने सम्भावना भएको औँल्याउँदै त्यसलाई नियन्त्रण गर्न पनि सरकारलाई ध्यान दिन आग्रह गरे।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले पनि विपदमा  परेकाहरूलाई तत्काल राहत दिने गरी आवश्यक नीतिगत निर्णय लिन सरकारलाई दबाब दिइन।

उनले जाजरकोट लगायतका जिल्लामा एक वर्ष बित्दा पनि भूकम्प पीडितका लागि आवास निर्माणका लागि दोस्रो किस्ता बापतको रकम सरकारले उपलब्ध नगराएकोमा पनि आक्रोश व्यक्त गरिन।सांसद चन्दले सरकारले विपदमा परेका जनतालाई राहत दिने कुरामा ढिलाइ गर्न नहुने पनि बताइन। 

प्रकाशित: २ कार्तिक २०८१ १५:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App