१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

नख्खुमा सरकार पुगेको थियो, तर उद्धार सम्भव भएन: गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले ललितपुरको नख्खुमा बाढीमा परेका सर्वसाधारणहरुलाई समयमै उद्धार गर्नका लागि सरकार पुगेको भएपनि सम्भव नभएको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले सरकारका तर्फबाट समयमै उद्धार गर्न हरसम्भव प्रयास गरिएको बताए।

नख्खु बाढीमा टिनको छानामाथि बसेर गुहार मागिरहेका नागरिकहरुलाई समयमै उद्धार गर्न नसक्दा उनीहरु बगेका थिए । सो कुराको सांसदहरुले आलोचना गरेसँगै उनले त्यहाँ उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी पुगेको भएपनि प्रतिकुल मौसमका कारण उद्धार सम्भव नभएको सुनाए।

उनले भने ‘नख्खुमा सरकारको उपस्थिति भएन, सरकार पुग्नै सकेन। सरकारले हेर्नै सकेन भन्ने होइन। हामीले प्रयत्न गरेको हो। सशस्त्र प्रहरी, नेपाल प्रहरी पनि त्यहाँ गएको छ। प्रहरीले उहाँहरुलाई उद्धार गर्ने प्रयत्न गरेको छ। हेलिकप्टरबाट पनि उद्धार गर्न सकिन्छ कि भनेर प्रयास गरिएको हो। प्रतिकुल मौसमका कारणले भएन। प्रयत्न गर्दागर्दै पनि उहाँहरु बग्नुभयो। ३ जनाको उद्धार भयो। २ जना बेपत्ता भएको अवस्था छ। सरकारको उपस्थिति नभएको, जाँदै नगएको, हेर्दै नहेरेको होइन। कोशिस गरेको हो।’ 

उनले मृतकको परिवारलाई गृह मन्त्रालयले घोषणा गरे अनुरुपको दुई लाख रुपैयाँ ललितपुर जिल्लाले आजै दिन सक्ने बताए। आवश्यकता भएको जिल्ला व्यवस्थापन समितिहरुमा प्राधिकरणबाट आवश्यक रकम पठाइएको जानकारी दिए।

‘यदि राहतका लागि रकमको अभाव भयो भने तत्काल रकम उपलब्ध गराइने कुरा सबैलाई जानकारी गराइएको छ। त्यसको सुुनिश्चितता गरिएको छ। हामी अहिले खोज, उद्धार, राहत, बिरामीहरुको उपचार, घाइतेहरुको उपचार र सडक आवागमनलाई सुचारु गर्ने विषयमा केन्द्रीत भएका छौं। र त्यसमा लाग्छौं। यसपछि बिस्तृत क्षतिको जानकारी लिएर पुर्ननिर्माणका कामहरु, अरु पनि धेरै कामहरु गर्नेछौं।’ उनले भने।

प्रकाशित: १५ आश्विन २०८१ १५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App