४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शिक्षा ऐन छिटै टुंग्याउँछौं: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी संसद्को सुरुवातमै शिक्षा ऐनलाई पारित गर्नेगरी तयारी भइरहेको बताएका छन्।

बुधबार काठमाडौंको मुलपानीमा आयोजित राष्ट्रिय शिक्षा दिवसको अवसरमा बोल्दै उनले सरकारको न्यूनतम साझा कार्यक्रममा पनि शिक्षा ऐनलाई चाँडै पारित गर्नेगरी प्रस्ताव अघि बढाइएको जानकारी दिए।

उनले शिक्षा ऐन दसैं तिहार लगत्तै सुरु हुने संसद्को हिउँदे अधिवेशनको सुरुवातमै पारित गर्नेगरी अघि बढ्ने तयारी रहेको सुनाए। सरकारको न्यूनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको पनि उनले बताए।

उनले भने "आज साँझ नयाँ बनेको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुपर्नेछ। त्यो कार्यक्रम बनाइरहेका छौं। त्यो बनाउँदै गर्दा शिक्षा ऐन तत्काल पारित गर्छौं भनेर त्यसमा लेख्दैछौं। लेखेर मात्रै हुँदैन, यहाँ त लेख्न चाहिँ लेख्ने तर संसदभित्रको काम हो। सरकारले चाहेर मात्रै हुँदैन। संसदले सँगै काम गर्नुपर्छ। संसद्को छाँटकाँट हेर्दै गर्दा अर्को दुई अढाइ वर्ष पारित नहुने अवस्था देखियो। त्यही भएर संसद्को समितिमा यो विषयमा आफ्ना धारणा राख्दा त्यहाँको सभापतिजीलाई विशेष अनुरोध गरेको कुरा मैले टिममा शेयर गरेको थिएँ।" 

महामन्त्री थापाले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत समितिमा सहभागी राजनीतिक दलहरुले दलगत हिसाबमा समूह बनाएर सहमतिले पारित गर्नेगरी अघि बढ्न आफूले सुझाव दिएको बताए। उनले उक्त समितिलाई दुई महिनाको समय दिएर समस्या सुझाउने प्रयास गर्न र सहमति जुटाउनसके छिटै शिक्षा विधेयक पारित हुने उल्लेख गरे।

उनले केही समयभित्रै शिक्षा ऐनलाई टुंग्याउने प्रतिबद्धता समेत व्यक्त गरे।

प्रकाशित: २ आश्विन २०८१ १४:४० बुधबार

#gaganthapa