२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

विधायन समितिको सभापतिमा एमाले र नेकपा एसबीच प्रतिस्पर्धा

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा माओवादीको एकल उम्मेदवारी

फाइल।

राष्ट्रिय सभा अन्तर्गतका दुई समितिको सभापतिमा तीन जनाको उम्मेदवारी परेको छ। 

विधायन व्यवस्थापन समितिमा दुई र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा एक जनाको उम्मेदवारी परेको संघीय संसद सचिवालयले जनाएको छ।

निर्वाचन कार्यतालिकाअनुसार आइतबार दिउँसो साढे १२ बजेसम्मको समयभित्र विधायन समितिमा नेकपा (एकीकृत समाजवादी) की जयन्ती देवी राई र नेकपा (एमाले) की तुलसाकुमारी दाहालको उम्मेदवारी परेको हो।

राईको प्रस्तावकमा एकीकृत समाजवादीका बेदुराम भुसाल र समर्थकमा माओवादी केन्द्रका सुरेशकुमार आलेमगर छन्। यस्तै, दाहालको प्रस्तावकमा नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थकमा एमालेकी भगवती न्यौपाने रहेका छन्।

यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा भने माओवादी केन्द्रका मायाप्रसाद शर्माको एकल उम्मेदवारी परेको छ। उनको प्रस्तावकमा एकीकृत समाजवादीकी मदनकुमारी शाह र समर्थकमा माओवादीका नरबहादुर विष्ट रहेका छन्।

सोमबार दिउँसो एक बजे बस्ने सम्बन्धित समितिको बैठकबाट सभापति चयन गर्ने कार्यतालिका छ।

प्रकाशित: ३० भाद्र २०८१ १३:४८ आइतबार

#National-Assembly #Legislative Management Committee