५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेको मिसन ८४: १८ बुँदे कार्ययोजना

नेकपा एमालेले पार्टीलाई बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न डेढ वर्षअघिबाटै मिसन ८४ सुरु गर्दै आएको छ। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन ८४ पछि एकल बहुमतको सरकार बन्ने दाबी गर्दैै आएका छन्। सोहीअनुसार ‘समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४’मा एकल बहुमतको सरकारको भएको बताउँदै आएका बेला शुक्रबारको सचिवालय बैठकबाट त्यसलाई लक्षित गरी एक वर्षभित्र ‘युथ समिट’ गर्ने निर्णय गरिएको छ।

‘अहिले हामी मिसन २०८४ भनेर अघि बढिरहेका छौं। हरेकको गन्तव्य, हरेकको उद्देश्य अब एउटा आवधिक लक्ष्य भन्ने हो भने हाम्रो समृद्ध नेपाल, सुखी नेपाली हो। त्यसको आवधिक टार्गेट मिसन २०८४ हो,’ प्रधानमन्त्री ओलीले एक वर्षअघिबाटै यही भन्दै आएका थिए।

एमाले शुक्रबारको सचिवालय बैठकबाट मिसन ८४ सफल पार्न १८ बुँदे वार्षिक कार्ययोजना बनाएर अनुमोदन गरिसकेको छ। केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको कार्ययोजनालाई पास गरेर कार्यान्वयनमा पठाउने भएको छ।

सचिवालय बैठकपछि एमाले महाचिव शंकर पोखरेलले वार्षिक कार्ययोजनामा सदस्यता नवीकरण र विस्तारदेखि ४० वर्षमुनिका युवाहरूको शिखर सम्मेलन आयोजनासम्मका कार्यक्रम तय भएको बताए। उनका अनुसार एमालेले पार्टीका सबै सदस्यले हरेक वर्ष कम्तीमा एउटा कक्षा लिनैपर्ने योजना बनाएको छ।

महासचिव पोखरेलले दिएको जानकारीअनुसार बलियो राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजनामा १८ वटा विषय समेटिएका छन्। सदस्यता नवीकरण, विस्तार र अभिलेखीकरण, नियमित अधिवेशन आयोजना र व्यवस्थापन (कात्तिकभित्र बाँकी जिल्ला कमिटी र मंसिरभित्र सबै कमिटीको अधिवेशन आयोजना गरिसक्ने), अरू पार्टीबाट प्रवेश गरेका तथा अधिवेशनहरूमा पराजित भएका नेता–कार्यकर्तालाई तीन महिनाभित्र यथोचित जिम्मेवारी दिइसक्ने विषयसमेत त्यसमा छन्।

अन्य विषयमा कार्यकर्ताको कामको मूल्यांकन गर्ने विधि बसाल्ने, पार्टी कमिटी परिचालन र अन्तरविरोध व्यवस्थापनको प्रणाली बसाउने, पार्टी स्कुल सञ्चालनलाई अभियानका रूपमा चलाउने, प्रत्येक वर्ष पार्टीका सबै सदस्य कुनै न कुनै स्कुलमा भाग लिनैपर्ने, सरकार र जनप्रतिनिधिको कामलाई प्रभावकारी बनाउने, जनप्रतिनिधिहरूको कामको मूल्यांकन गर्दै जनतामा आफूले गरेका कामको जानकारी गराउने, पार्टी कार्यालयहरूको प्रभावकारी व्यवस्थपन गर्ने रहेका छन्।

केन्द्रदेखि वडासम्मै कार्यालयहरू सञ्चालनको मोडालिटी बनाउने पार्टी प्रचारको परम्परागत ढाँचामा सोसल मिडिया अनिवार्य जोड्ने, हरेक कमिटीले प्रचार व्यवस्थित गर्ने सन्दर्भमा सोसल मिडिया नेटवर्किङ गर्ने, कामका नयाँ क्षेत्र पहिचान गर्ने र जिम्मेवारी नपाएकालाई ती नयाँ क्षेत्रमा परिचालन गर्ने पनि कार्ययोजनामा उल्लेख छ।

यसैगरी हरेक कमिटीले वार्षिक बजेट तयार पार्ने, त्यसअनुसार स्रोत परिचालन तथा आम्दानी र खर्चको व्यवस्थापन गर्ने, पार्टी जीवनको शुद्धीकरण र सुदृढीकरणलाई अभियानका रूपमा लैजाने, बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माण तथा मिसन ८४ मा कसरी बहुमत प्राप्त गर्ने भन्ने योजनासहित सबै कमिटीले योजना बनाउने कार्ययोजनामा उल्लेख छ।

नयाँ पुस्तामा पार्टी कामको विस्तार तथा जनसम्बन्ध विकासमा जनसंगठन परिचालन गर्ने, प्रवासमा रहेका प्रवासीबीचको कामलाई देशहितको पक्षमा परिचालन गर्ने, पार्टीको आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गर्ने, नेकपा स्थापनाको ७५ वर्षको अवसरमा अघि सारिएका र हुन बाँकी सबै काम सम्पन्न गर्ने, पार्टीमा नियमित रिपोर्टिङ प्रणाली व्यवस्थित गर्ने, पार्टीको आयोजनामा ४० वर्षमुनिका युवाको ‘युथ समिट’ आयोजना गर्ने सचिवालयले तयार पारेको कार्ययोजनामा उल्लेख छ।

एमालेले यो सरकारको नेतृत्व गर्नुअघि नै मिसन ग्रासरुट, झुलाघाट चिवाभन्ज्याङ संकल्प यात्रा चलाएर मिसन ८४ रहेको झझल्को दिएको थियो। यतिबेला एमालेले हाल सरकारको नेतृत्व गरिरहे पनि मिसन ८४ केन्द्रित भएको छ। एमाले अध्यक्ष ओली र सरकारमा रहेका एमालेका नेताहरूबाहेक सबै नेता पार्टीको काममा व्यस्त छन्।

 एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले साउन २२ गते जारी गरेको आन्तरिक पार्टी निर्देशन (अपानी) ले पनि त्यसको आभास दिलएको थियो। अपानीमा पार्टी निर्माणको महत्त्वपूर्ण चरणमा प्रवेश गरेको जनाइएको थियो। त्यसपछिका सबै प्रकारका पार्टीगत बैठकले पनि मिसन ८४ लाई प्राथमिकता दिएको थियो।

संयुक्त सरकारको कामलाई प्रभावकारी बनाउने, पार्टी सदस्यता नवीकरण र विस्तारको कामलाई योजनाअनुरूप अघि बढाउने, अधिवेशन सम्पन्न गर्न बाँकी स्थानीय पार्टी कमिटीका अधिवेशनहरू तोकिएको समयमा सम्पन्न गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकका निष्कर्षसमेतको आधारमा पार्टी कामलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्ने अपानीमार्फत निर्देशन दिइएको छ।

एमालेले यसअघि पार्टी कामलाई व्यवस्थित गर्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकयता केन्द्रीय सचिवालयका महत्त्वपूर्ण बैठकहरू सम्पन्न भएका छन्। स्थायी कमिटी र पोलिटब्युरो बैठकहरू पनि सम्पन्न भइसकेका छन्। 

प्रकाशित: २९ भाद्र २०८१ ०८:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App