२ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

जित्न खोज्दाखोज्दै हारेका ‘बादशाह’

गत ९ साउनमा मन्त्री पदको जिम्मेवारी पाएका लुम्बिनी प्रदेशका वन मन्त्री बादशाह कुर्मीले मंगलबार राजीनामा बुझाए। लुम्बिनीका मुख्यमन्त्री चेत नारायण आचार्यले उनको राजीनामालाई बुधबार सदर गरिदिएका छन्। अर्थात कुर्मी बुधबार देखि लुम्बिनी प्रदेश मन्त्री परिषद्को सदस्यबाट पदच्युत भएका छन्।

मन्त्री पदबाट राजीनामा दिएर मन्त्रालयबाट मंगलबार साँझ गृह जिल्ला बाँके निस्किएका कुर्मी मन्त्री पद सम्हाले लगत्तैदेखि जघन्य अपराधमा संलग्न आरोपितका रुपमा आलोचित बन्दै आए।

बाँकेकी निर्मला कुर्मीको अपहरण तथा बेपत्ता मुद्दामा मुछिएको भन्दै उनी विरुद्ध लगाइएको आरोपले उनको ‘सरकारी यात्रा’ लाई धरमराइरहेकै थियो। तर उनले यसलाई सहजै फेस गर्ने अठोट लिइरहेका थिए। आफू माथि लागेको आरोपलाई निराधार टिप्पणी गरेर फेस गर्दै आएका उनको तर्क थियो ‘मन्त्री बनेपछि यो विषय उठ्नु आफू माथि साँधिएको व्यक्तिगत प्रतिशोध मात्रै हो।’

आफू माथि लागेको आरोपलाई प्रतिशोधका रुपमा व्याख्या गर्दै आफूलाई मन्त्री पदमै आसिन बनाउने रणनीतिमा थिए बादशाह। तर उनीमाथि लागेको आरोपको राप व्यापक फैलँदै गयो। आफू माथि लागेको आरोपलाई जितेर अघि बढ्ने योजनामा हिँडेका बादशाहले अन्ततः हारे।

कांग्रेस संस्थापन समूहका बादशाह मन्त्री चयन भएलगत्तै कांग्रेस भित्रै पनि उनलाई मन्त्री बनाउन गरिएको निर्णयको विरोध भएको थियो। जघन्य मुद्दाको आरोप लागेको व्यक्तिलाई मन्त्री बनाइएको भन्दै कांग्रेसको एउटा खेमाले पार्टी नेतृत्वको निर्णयको आलोचना गरिरहेको थियो। त्यसमाथि मन्त्री बादशाहलाई मन्त्री पदबाट हटाइनु पर्ने आवाज झन बढ्दै जान थाले। उनी विरोधी आवाज उपर आफ्नो पार्टी नेतृत्व मौन रहनुले पनि बादशाहलाई आफ्नो सत्ता यात्रा नखल्बलीने विश्वास थियो नै।

तर मंगलबार पार्टी नेतृत्वले नै आलोचना बढेका कारण मन्त्री पदबाट राजीनामा दिन बादशाहलाई सुझाएको थियो। स्रोतका अनुसार उनलाई पार्टी सभापति शेरबहादुर देउवाले मन्त्री पदबाट राजीनामा दिएर अनुसन्धानलाई सघाउन भनेका थिए। तर बादशाहले भने आफूले मन्त्रीबाट मात्रै नभई सांसद पदबाटै समेत राजीनामा दिने जवाफ दिएका थिए। तर सभापति देउवाले सांसद पदबाट राजीनामा दिनबाट रोकेका थिए।

‘मन्त्री पदबाट राजीनामा दिन भनिएपछि उहाँ (बादशाह) ले सांसदै पदबाट समेत राजीनामा दिने जवाफ दिनु भएको थियो,’ उनी निकट स्रोतले भन्यो ‘सभापतिको आग्रह पछि उहाँले मन्त्री पदबाट मात्रै राजीनामा दिनु भएको हो, आफू माथिको आरोप छानबिनका लागि सहयोग पुगोस् भनेर उहाँले राजीनामा दिनु भएको हो।’

कांग्रेसका बादशाहले राजीनामा दिएपछि कांग्रेसबाट अब को मन्त्री बन्ने चर्चा चलेको छ। कतिपयले कुर्मी माथि लागेको आरोपको छानबिन गरेर उनी निर्दोष साबित भए पुनः उनिनै सरकारमा फर्किने तर्क समेत गरिरहेका छन्। अनुसन्धान प्रकृया अगाडी बढाउने र आरोप प्रमाणित नभए पुनः सरकारमा सहभागी गराइने आश्वासन सभापति देउवाले दिएको स्रोतको दाबी छ। सोही आश्वासनका कारण कुर्मीले सांसद पदबाट राजीनामा नदिएको उनी निकटस्थ स्रोतले जनाएको छ।

यता कुर्मीको राजीनामा पछि दुई मन्त्रालयमा कसलाई पठाउने भन्ने थप जटिलतामा कांग्रेस पुगेको छ। कांग्रेसको भागमा परेको एक मन्त्रालयमा कांग्रेसले अहिले सम्म कसैलाई पठाउन सकेको छैन। कांग्रेसको भागमा परेको सामाजिक विकास मन्त्रालय अहिले सम्म रिक्त नै छ। मन्त्रीका लागि आकाङ्क्षीहरू धेरै भएका कारण कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन।

यसअघिकै भागमा परेको मन्त्रालयमा मन्त्री पठाउन नसकेको कांग्रेसको भागमा परेको वन मन्त्रालय समेत रिक्त भएपछि कांग्रेसलाई थप जटिल भएको छ। ‘वन मन्त्रीले समेत राजीनामा दिएपछि कांग्रेसको भागमा अब दुई मन्त्रालय बाँकी भएको अवस्था हो,’ कांग्रेस स्रोतले भन्यो ‘यी दुई मन्त्रालयमा कसलाई पठाउने भन्ने समस्या पार्टी भित्र छ , तर तत्कालै कांग्रेसले रिक्त मन्त्रालयमा मन्त्री पठाउने छ।’

वन मन्त्री कुर्मीले राजीनामा दिएपछि लुम्बिनीमा चार मन्त्रालय रिक्त भएका छन्। वन सँगै सामाजिक विकास, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र आन्तरिक मामिला मन्त्रालय रिक्त रहेका छन्। यी चार मध्य वन र सामाजिक विकास कांग्रेसको भागमा र आन्तरिक मामिला र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सरकारलाई समर्थन गरेका साना दलहरुको भागमा पार्ने गरी टुंग्याईएको छ। 

प्रकाशित: २७ भाद्र २०८१ १५:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App