३० भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

सरकारका कारण जनता उकुसमुकुस भएका छन्ः वर्षमान

नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो दललाई सरकारमा जाने हतारो नभएको बताएका छन् ।

पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बाँके जिल्ला सम्मेलनलाई सोमबार नेपालगञ्जमा सम्बोधन गर्दै पुनले सदन र सडकबाट जनताको पक्षमा काम गर्न सरकारलाई खबरदारी गर्ने बताए । पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासन र समृद्धिका पक्षका काम गर्दा बिचौलियाहरुको डिजाइनमा काँग्रेस–एमालेले रातारात समीकरण निर्माण गरेको आरोप लगाए । सरकारले जनताको पक्षमा काम गरेकै कारण सरकारबाट बाहिरिँदा पार्टी पंक्तिको मनोबल उच्च भएको उनको भनाइ थियो ।

पुनले सातवटै प्रदेशका परामर्श बैठक सकिँदै पार्टीभित्रका आन्तरिक समस्या समाधान भएर गएको दाबी गरे । अब एकताबद्ध भएर सडक र सदनबाट संघर्ष गर्ने उनले बताए । ‘हामीलाई सरकारमा जान होइन, जनतामा जान हतारो छ’, पुनले भने, ‘हामी जनताको एजेण्डामा एकजुट सडक र सदनबाट सरकारलाई खबरदारी गर्छौं, संघर्ष गर्छौं ।’

मुलुकको राजनीतिमा बिचौलियाको संरक्षण गर्ने, भ्रष्टाचार र राज्य दोहन गर्ने र सुशासनका लागि त्यस्ता प्रवृत्तिहरुसँग संघर्ष गर्नेहरुबीचको ध्रुवीकरण पैदा भएको टिप्पणी पुनले गरे । ‘बिचौलियाहरुको पक्षमा सरकार छ । हामी तिनीहरुलाई पराजित गर्नुपर्ने पक्षमा छौं । हामीले सरकारमा हुँदा भ्रष्टाचार र राष्ट्रिय सम्पत्ति दोहन गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गरेका थियौं’, पुनले भने, माओवादीले सरकार छाडेपछि पनि हाम्रो पंक्ति किन उत्साहित छ र उच्च मनोबल किन छ भन्दा सामाजिक न्याय र सुशासन लागि जनताको आकांक्षाका अनुसार काम गरेका छौं ।’  

पुनले सरकारबाट बाहिरिएपछि पुराना संसदवादी पार्टीहरु एकातिर र आफूहरु अर्कोतिरजस्तो भएको बताए । माओवादी पनि पुराना पार्टीहरुजस्तै भयो भन्ने गुनासाहरु थिए र खबरदारीहरु रहेको भन्दै उनले आफूहरुका अगाडि काँग्रेस–एमालेभन्दा फरक हौं भन्ने मौका आएको तर्क गरे । ‘अब हामीलाई पुराना पार्टीहरुभन्दा फरक हौं भनेर पुष्टि गर्ने मौका आएको छ । आफ्नो धार बोकेर अगाडि बढेका छौं’, पुनले भने, ‘सुशासनको, सामाजिक न्यायको, गरिखाने जनताको र उत्पीडित  वर्गको आवाज र एजेण्डाको नेतृत्व हामी गर्छौं ।’  

एमाले अध्यक्ष केपी ओली नेतृत्वमा वर्तमान सरकार बनेपछि जनतामा उकुसमुकुस, असन्तुष्टि र विद्रोहको भावना बढेको उल्लेख गरे । सत्ताधारीप्रति जनतामा बढेको वितुष्णा र असन्तुष्टिलाई भड्काएर प्रतिगमनतिर लैजाने प्रयासमा एकथरि शक्ति लागेको पुनले बताए । फरक प्रसंगमा उनले अबको राजनीतिको मात्र नभई राष्ट्रिय जीवनका सबै क्षेत्र तथा सामाजिक–आर्थिक आन्दोलनको नेतृत्व युवाहरुको हातमा जाने बताए ।

प्रकाशित: १७ भाद्र २०८१ १९:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App