२९ भाद्र २०८१ शनिबार
image/svg+xml
राजनीति

अध्यक्ष पदभन्दा माथि प्रचण्ड हो भन्ने कुरा बुझ्न आवश्यकः दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नेतृत्त्व तत्काल परिवर्तन नहुने बताएका छन्।

शुक्रवार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सधैंभरी नेतृत्व गर्ने रुचि आफ्नो नभएको बताउँदै राम्रो टीम बनेपछि आफू फरक भूमिकामा रहने बताए।

‘आजका मितिमा नेतृत्व हस्तान्तरणको कुरा उपयुक्त छैन्। उपमहासचिव जनार्दन शर्माको प्रस्तावमा पनि त्यो छैन्,’ उनले भने, ‘सधैं नेतृत्व गरिराख्ने रुचि पनि मेरो छैन्।’

अध्यक्ष दाहालले आफू अध्यक्ष पदभन्दा माथि रहेको भन्दै देश दुनियाँले नेपालको ठूलो क्रान्तिकारी नेताको रुपमा स्वीकार गरिसकेको उल्लेख गरे। उनले भने, ‘अध्यक्ष पदभन्दा माथि प्रचण्ड हो भन्ने कुरा बुझ्न आवश्यक छ।’ उनले पार्टीमा राम्रो टीन बनार आफू फरक भूमिका जान चाहेको बताए।

उनले उपमहासचिव शर्माले पार्टी बैठकमा राखेको प्रस्ताव फरक मत नभएको बताए। शर्मासँगै पत्रकार सम्मेलन गरेका अध्यक्ष दाहालले शर्माले लिखित रुपमा बैठकमा आफ्नो मत मात्रै राखेको बताए। ‘उहाँ (जनार्दन शर्मा) आफूले फरक मत राखेको होइन् लिखित मत मात्रै राखेको हुँ भनिसक्नु भएको छ,’ उनले भने, ‘त्यसलाई मैले सहज रुपमा लिएको छु।’

दाहालले पार्टी नफुट्ने पनि बताए। ‘एकथरीले डिजाइन गरेर पार्टी फुट्दैछ भन्ने भ्रम छरेका छन्,’ उनले भने, ‘पदाधिकारी र स्थायी समिति बैठकमा खुलेर छलफल गरेर पार्टी फुट्छ भनेर जुन प्रचार गरियो त्यसलाई खारेज गरेका छौं।’ उनले पार्टीमा बहस–छलफल भइराख्ने भन्दै यसलाई सामान्य रुपमा लिनुपर्ने बताए।

‘पार्टी हो छलफल भइनै राख्छन्, जनयुद्धमा हुँदा पनि छलफल बहस भइनै राखेका थिए, अहिले पनि भइनै राखेका छन्,’ उनले भने, ‘अहिले माओवादी केन्द्रको काँधमा ठूलो जिम्मेवारी आएको छ, परिवर्तनको रक्षा गर्दै शान्ति प्रक्रियालाई निस्कर्षमा पु¥याउने जिम्मेवारी पार्टीको बाँधमा आएको छ।’

प्रकाशित: १४ भाद्र २०८१ १०:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App