३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

भैरहवा र पोखरा विमानस्थलमा पुन: हवाई उडान गर्न ओमानलाई नेपालको आग्रह

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सइद बद्र हमाद हमुद अल बुसाइदीले भेटवार्ता गरेका छन् । उनीहरू बीच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो।

वार्तामा परराष्ट्र मन्त्री डा.राणाले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू भैरहवा र पोखरा विमानस्थलमा हवाई उडान सञ्चालनका लागि ओमानसँग आग्रह गरेकी थिइन्।

पहिला पनि ओमानले भैरहवामा हवाई उडान सुरु गरेको र पछि बन्द गरेको भए पनि हाल नेपाल सरकारले विदेशी एयरलाइन्सहरुलाई थप सुविधा उपलब्ध गराउने निर्णय गरेकाले पुनः उडान सञ्चालनका लागि उनले आग्रह गरिन्। यस विषयमा ओमानका विदेशमन्त्री अल बुसाइदीले पुनः विचार गर्ने बताएका थिए।

त्यसैगरी नेपालले नेपाली श्रमिकहरूको हक हित तथा थप श्रम गन्तव्यबारे कुरा उठाएको थियो। नेपाल पक्षले ओमानको श्रम कानुन र अरु वातावरण राम्रो रहेकाले नेपाली श्रम बजारको राम्रो गन्तव्य हुन सक्ने भन्दै यस विषयमा कुरा उठाएको थियो।

ओमान पक्षले पनि नेपाली श्रमिकहरू काममा लगनशील र इमानदार रहेकाले आफ्नो देशले आवश्यकताका आधारमा थप श्रमिक लैजाने विषय बताएको थियो। यस विषयमा दुई देशबिचमा श्रम सम्झौता गरिने सहमति सो वार्तामा भएको थियो।

त्यस्तै परराष्ट्र मन्त्री डा राणाले नेपालको प्राकृतिक सौन्दर्य, नेपालमा सगरमाथा लगायतका विश्वका आठ हजार भन्दा अग्ला हिमालहरू एवं विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरूका कारण पनि नेपालको पर्यटकीय सम्भावना धेरै रहेकाले ओमानी पर्यटकको नेपाल आगमन लगायतका अन्य सम्भावनाहरूमा संयुक्त रुपमा केही गर्न सकिने प्रस्ताव गर्दै नेपालमा पर्यटनका क्षेत्रमा लगानी गर्न ओमानसँग आग्रह गरेकी थिइन्। 

प्रकाशित: ११ भाद्र २०८१ १५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App