१ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

बेपत्ताले पनि सहिदकै दर्जा पाउँछन्ः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बेपत्ताले पनि सहिदकै दर्जा पाउने बताएका छन्।  नेकपा माओवादी केन्द्र निकट जनयुद्धका सहिद तथा बेपत्ताका परिवारसँग सोमबार पोखरामा भएको भेटका क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले बेपत्ताको छानविन गर्दा नभेटिएमा उनीहरुलाई सहिदको दर्जा दिईने बताए।  

संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) विधेयक पास भइसकेकाले अब आयोग बन्ने भन्दै उनले भने, ‘टिआरसी आयोग सहिदका लागि मात्र बन्ने होईन। बेपत्ताका लागि पनि हो। बेपत्ताको छानविन हुन्छ। छानविनमा भेटिएन भने सहिदकै सम्मान र सहिदकै परिपुरण पाउने हुन्छ।  

‘बेपत्ता भएका भेटियो भने त झन् राम्रो भईहाल्यो,’ उनले भने। उनले बेपत्ताको छानविनमा ढिलाई नहुने बताए। अब छिट्टै आयोग बन्ने भन्दै उनले भने, ‘त्यसपछि छिटोछिटो काम हुन्छ। बेपत्ताको छानविन हुन धेरै समय लाग्दैन।’

अध्यक्ष प्रचण्डले टिआरसी विधेयकले माओवादीलाई तनावबाट छुटकारा दिएको बताए। यो पास नभएसम्म कहाँ के हुने हो भन्ने चिन्ता र तनाव भएपनि अब यसले तनावबाट छुटकारा मिलेको उनको भनाई थियो।

‘विधेयकले पीडितलाई न्याय दिने बाटो खोलेको बताउँदै उनले भने, ‘अब टिआरसी टुंगिएपछि जनयुद्धका सहिदले पनि राष्ट्रिय सहिदको सम्मान पाउँछन्। त्यसपछि उनीहरुलाई सोहि अनुसारको व्यवहार हुन्छ।’  

अध्यक्ष प्रचण्डले जनयुद्धका सहिदले राष्ट्रिय सहिदको सम्मान नपाउँदा तनाव भइरहेपनि अब भने त्यो समस्या समाधान हुने उनको भनाई छ। ‘हाम्रा सहिद राष्ट्रिय सहिद घोषणा नभएर हामी सबैलाई तनाव थियो,’ उनले भने, ‘अरु सबै सहिद हुने, जनयुद्धका सहिद राष्ट्रिय सहिद नहुने, यसले तपाईं हामी सबैलाई टेन्सन थियो। त्योपनि यो पटक सरकारले सबैलाई राष्ट्रिय सहिद घोषणा मात्रै गरेको होईन, राजपत्रमै प्रकाशित गरियो र हाम्रा सबै सहिदहरु राष्ट्रिय सहिदको दर्जामा जानुभयो।’

सहिद तथा बेपत्ता परिवारले भने बेपत्तालाई पनि सहिदकै दर्जामा राखेर सम्मान दिनुपर्ने माग गरेका थिए। बेपत्ता भएको दशकौं बित्दासमेत संस्कार गर्न नपाएको भन्दै उनीहरुले भनेका थिए, ‘बेपत्ता भनियो तर अझै भेटिएको छैन। यसले गर्दा जातीय संस्कार अनुसार काम गर्नपनि पाइएन। त्यसैले बेपत्तालाईपनि सहिदकै दर्जामा राख्नुपर्छ भन्ने हाम्रो माग हो।’

प्रकाशित: १० भाद्र २०८१ १६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App