नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेसहितका दलहरूको वर्तमान गठबन्धन पूरा अवधि जाने बताएका छन्।
पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई शनिबार साँझ रात्रिभोजसहितको परामर्शमा देउवाले गठबन्धनका विषयमा आशंका नगरी काम गर्न मन्त्रीलाई निर्देशन दिएका हुन्।
पार्टीका दुई उपसभापति र दुवै महामन्त्रीसहितको छलफलमा देउवाले जनहितमा इमानदारीका साथ काम गर्न र मन्त्रालय सञ्चालनमा कुनै समस्या आए आफूलाई सोध्न आग्रह गरेको सहभागी एक मन्त्रीले जानकारी दिए।
पार्टी र सरकारमा सहभागी मन्त्रीहरूबिच समन्वय नभएको पटकपटक गुनासो विगतमा आएको जनाउँदै देउवाले महिनामा दुईपटक नियमित छलफल गर्ने पनि जनाएका छन्। मन्त्रीहरूले एक महिनामा गरेको कार्य प्रगतिका साथै आगामी योजनाका बारेमा पनि चासो राखेका देउवाले प्रभावकारी रूपमा काम गर्न आग्रह गरेका छन्।
कांग्रेसबाट मन्त्री हुनेमा उपप्रधानसहित सहरी विकास प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र वन तथा वातावरण ऐनबहादुर शाही छन्। दुई राज्यमन्त्रीमा रूपा विक र पूर्णबहादुर तामाङ छन्।
प्रकाशित: ३ भाद्र २०८१ ०७:३२ सोमबार