२ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन: ‘गठबन्धनको मर्म अनुसार काम गर्नुस्’

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई कांग्रेस-एमाले गठबन्धनको मर्म अनुसार काम गर्न निर्देशन दिएका छन्।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदेशका मुख्यमन्त्री सहित मन्त्रीहरुसंगको भेटमा प्रधानमन्त्री ओलीले वर्तमान गठबन्धन मुलुकको स्थायित्वका लागि बनेको भन्दै नागरिकलाई गठबन्धनको यो मर्मको प्रत्याभूत गराउने गरि काम गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीलाई भेट्न मुख्यमन्त्री चेतनारायण आचार्य सहित ८ मन्त्री प्रधानमन्त्री निवास पुगेका थिए। दुई घण्टा लामो उक्त छलफलमा प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई प्रदेशको हितका निम्ति काम गर्न निर्देशन दिएका थिए।

‘वर्तमान कांग्रेस एमालेको गठबन्धन मुलुकको स्थायित्वको निम्ति बनेको हो,’ प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै छलफलमा सहभागी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले भने ‘नागरिकलाई गठबन्धनको यो मर्म अनुसारको प्रत्याभूति हुने गरि काम गर्नुस्।’

उनले प्रदेशमा उत्पादन मूलक कार्यक्रममा जोड दिइनु पर्ने भन्दै यसले आम नागरिकमा वर्तमान सरकार र गठबन्धन प्रतिको विश्वास कायम हुने समेत बताए।

‘उत्पादन मूलक कार्यक्रम गरेर प्रदेशको उत्पादनको औचित्य पुष्टि गर्नुहोला,’ प्रधानमन्त्री ओलीको भनाई उद्धृत गर्दै मन्त्री न्यौपानेले भने ‘यसले प्रदेशको समृद्धिमा टेवा पुग्छ र आम नागरिकमा सरकार र गठबन्धन प्रतिको विश्वास बढेर जान्छ।’

वर्तमान गठबन्धन प्रति आम नागरिकको अपेक्षा धेरै रहेको भन्दै प्रधानमन्त्री ओलीले गठबन्धन प्रतिको यो विश्वास कायम राख्ने दायित्व प्रदेश तहको समेत उत्तिकै रहेको बताए।

यसैगरी, प्रधानमन्त्री ओलीले प्रदेश सरकारसँग सङ्घीय सरकारको समन्वयलाई थप बलियो बनाइने बताएका थिए। तीनै तहका सरकार बिच समन्वय आवश्यक रहेको भन्दै प्रधानमन्त्री ओलीले प्रदेशको औचित्य पुष्टिका लागि सङ्घीय सरकारले समेत सघाउ पुर्‍याउने बताए।

‘मुलुकलाई स्थायित्व दिने सवालमा तीनै तहका सरकार बिच बलियो समन्वय हुन आवश्यक छ,’ प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेम सारु मगरले भने ‘प्रदेश तहको औचित्य पुष्टि गर्ने सवालमा सङ्घीय सरकारले सघाउ पुर्‍याउँछ।’

प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले प्रधानमन्त्री ओली समक्ष समानीकरण अनुदान रकम कटौती भएको विषयमा जानकारी गराएका थिए  यो अनुदान कटौती हुँदा विकासे आयोजनाको रकम फर्स्यौट गर्न समस्या भएको भन्दै उनीहरूले समानीकरण अनुदान बढाएर दिन आग्रह गरेका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले वर्तमान आर्थिक मन्दीका कारण सोचे जस्तो आर्थिक लाभ हुन नसकेको भन्दै यसबारेमा आफू गम्भीर भएर लाग्ने बताएका थिए।

यसै गरी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले प्रदेशको व्यवस्थित राजधानी निर्माणका लागि दातृ निकायको खोजी गरिनु पर्ने आवश्यकता रहेको भन्दै यसका लागि सङ्घीय सरकारले समन्वय गरिदिनु पर्ने बताएका थिए।

प्रदेशको देउखुरी स्थित राजधानीमा व्यवस्थित सहर निर्माणका लागि गुरुयोजना निर्माण भैसकेको छ। गुरुयोजना अनुसार सहर निर्माणका लागि आवश्यक रकमको जोहो दातृ निकायबाटै गरिनु पर्नेमा प्रदेशका मन्त्रीहरुले जोड दिएका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले प्रदेशको राजधानी निर्माणका सवालमा सङ्घीय सरकारले आवश्यक समन्वय गरेर ऋढा सहायताको वातावरण निर्माण गर्ने बताएका थिए।

‘प्रदेशको राजधानीमा व्यवस्थित सहर निर्माणका लागि गुरुयोजना बनेको अवस्था छ,’ स्वास्थ्यमन्त्री मगरले भने ‘यो गुरुयोजना अनुसार राजधानी निर्माणका लागि दातृ निकायबाट ऋण सहायता अपरिहार्य छ, प्रधानमन्त्री ज्यूले यसका लागि आवश्यक समन्वय गर्ने बताउनु भएको छ।’

प्रधानमन्त्री ओलीलाई प्रदेश राजधानी निर्माणका लागि बनाइएको गुरुयोजना अनुसारको डकुमेन्ट्री समेत देखाइएको थियो।

यसैबिच प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले लुम्बिनी प्रदेशको पर्यटन प्रवर्धन परियोजना बारे जानकारी गराएका थिए।

उनले परियोजनामा समावेश योजनाहरू उल्लेखित प्रतिवेदन समेत बुझाएका थिए। प्रदेशको समृद्धिका लागि प्रदेशको पर्यटन विकास अपरिहार्य रहेको भन्दै मन्त्री न्यौपानेले सङ्घीय सरकारबाट समेत प्रदेशको पर्यटन विकासमा सहयोग रहनुपर्ने बताएका थिए।

उनले प्रधानमन्त्री ओलीलाई लुम्बिनीको पर्यटन विकास सम्बन्धी परियोजना बारे जानकारी गराएका थिए।

छलफलमा प्रधानमन्त्री सहित अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोख्रेल, कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी सहभागी थिए।

प्रकाशित: २७ श्रावण २०८१ १९:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App