२ माघ २०८१ बुधबार
image/svg+xml
राजनीति

चीन–भारत जोड्ने छोटो फलाक नाका सडक निर्माण गर्न माग

दोलखाबाट निर्वाचित सांसदहरूले चीन र भारतलाई जोड्ने छोटो सडक मार्गको रुपमा चर्चा पाउँदै आएको ‘लामाबगर फलाक नाका’ सडक निर्माणका लागि यथाशीघ्र कार्य थालनी गर्न माग गरेका छन्।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेटेर दोलखाका सांसद ईश्वरी रिजालसहितको टोलीले न्यूनतम ५० करोड बजेटसहित बहु वर्षीय आयोजनाको रुपमा ठेक्का प्रक्रिया सुरु गर्न आग्रह गरेका हुन्।

सांसद रिजालका अनुसार चीनको फलाक नाकाबाट दोलखा, रामेछाप र सिन्धुली हुँदै भारतको भिटामोड नाका जम्मा २२० किलोमिटरको दूरीमा रहेको छ। यसमध्ये लामाबगरबाट तिब्बत जोडिने सीमासम्म जम्मा ३३ किलोमिटर मात्र छिचोल्नुपर्ने भएकाले यो सडक मार्ग नेपालकै उत्तर-दक्षिण जोड्ने छोटो मार्ग हुनेछ।

उनले भने, "तातोपानी र केरुङ नाकाभन्दा सुरक्षित मानिएको फलाक नाकासम्म सडक विस्तार हुँदा दुई देशबीचको व्यापार बिस्तारले मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पुग्नेछ।"

पूर्वमन्त्री तथा एमाले पोलिटब्यूरो सदस्य आनन्दप्रसाद पोखरेलले माथिल्लो तामाकोशी आयोजनाभन्दा माथिल्लो क्षेत्रमा जलविद्युत उत्पादकहरुले बनाएको ९०० मिटर सुरुङ मार्गको उल्लेख गर्दै नाकातर्फ ६ किमी कच्ची सडक खुलिसकेको बताए। उनले भने, "३३ किलोमिटर सडकलाई छोट्याएर अर्को सर्भेमार्फत सडक निर्माण गर्न सकिने विकल्पमा समेत सोच्नुपर्ने जरुरी छ।"

पूर्वमन्त्री पार्वत गुरुङले फलाक नाका सडकमार्ग दोलखाका लागि माथिल्लो तामाकोशी आयोजनाको जतिकै गौरवको आयोजना भएको बताए। "तत्कालीन केपी ओली नेतृत्वको सरकारले सर्भे सम्पन्न गरी अध्ययन प्रतिवेदन तयार पारेको र नीति तथा कार्यक्रममा समावेश गरेर ठेक्का प्रक्रिया सुरु गरिसकेको थियो। अहिलेको सरकारको पालामा रोकिएका कामलाई पुनः निरन्तरता दिन जरुरी छ।"

सांसदसहितको टोलीले मन्त्री दाहाललाई माग पत्र बुझाउँदै, नाका सडकमार्ग खुलाउन भूराजनीतिक स्वार्थ जोडिन नहुनेमा पनि ध्यानाकर्षण गराए।

विद्युत् उत्पादकहरुले निजी प्रयासबाट ९०० मिटर सुरुङ ब्रेक थ्रु गरी सडक निर्माण कार्यमा सहयोग पुर्‍याएका छन्। तर, राज्यले पर्याप्त बजेट विनियोजन नगरेको र यसअघि विनियोजित बजेटसमेत खर्च हुन सकेको छैन। नेपाल र चीन सरकारबीच यस नाकालाई संचालन गर्ने आपसी सहमति भइसकेको छ।" माग पत्रमा उल्लेख छ।

प्रतिनिधिमण्डलमा प्रदेशसभा सांसद द्वय ठूला थामी र उर्मिला सुनुवार, पूर्वमन्त्री तथा एमाले पोलिटब्यूरो सदस्यद्व पोखरेल र गुरुङ, पूर्व सांसद तथा कांग्रेस केन्द्रीय सदस्य जिपछिरिङ लामा, पूर्व प्रदेशसभा सभासद् तथा एमाले केन्द्रीय सदस्य सरस्वती बस्नेत, एमाले केन्द्रीय सदस्य श्यामकुमार बस्नेत तथा जिल्ला समन्वय समितिका पूर्व संयोजक डबल पाण्डेलगायत सहभागी थिए।

प्रकाशित: २३ श्रावण २०८१ २०:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App