नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने प्रतिबद्धता जनाएका छन्।
सोमबार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उनले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिन आवश्यक रहेको बताए।

"हामीले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ। हामी सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्नुपर्छ। यहाँका युवाहरूलाई प्रोत्साहन गर्नका लागि हामी आएका हाैँ। खेलकुदलाई सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउनेछाैँ।" उनले भने।
मन्त्री चौधरीले सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेकोमा जाेड दिए। केही अप्ठ्यारो नभए डेढ वर्षसम्म मन्त्री बन्ने पनि उनले दाबी गरे।
"हाम्रो अवधि केही अप्ठ्यारो परेन भने डेढ वर्षको हुनेछ। खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरुमा हामीले जथाभाबी लगानी गरेको महसुस गरेका छौँ।"
मन्त्री चौधरीले आफूलाई सबैतिरबाट सुझाव, साथ र सहयोग हुने विश्वास लिएको पनि बताए।
प्रकाशित: ३१ असार २०८१ १६:०१ सोमबार





