प्रतिनिधि सभाको सोमबारका लागि बोलाइएको बैठकको समय परिवर्तन भएको छ ।
संघीय संसद सचिवालयले सोमबार दिउँसो एक बजेका लागि बोलाइएको बैठकको समय ३ घण्टा पछाडि सरेको जनाएको हो । बैठक अब अपराह्न ४ बजे बस्नेछ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने र सोमबार बिहान ११ बजेको हाराहारीमा शपथको तयारी भएपछि बैठकको समय सरेको बुझिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझसम्मको समय दिँदै संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गर्न समय दिएका हुन् । सोहीअनुसार एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेश गरिसकेका छन् । उनलाई आइतबार नै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी शीतल निवासको छ ।

प्रकाशित: ३० असार २०८१ १४:५६ आइतबार





