९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसको इतर पक्षको बैठकमा के के छलफल भयो ?

मन्त्री छान्दा सभापति देउवासँग समन्वय गर्ने जिम्मेवारी शेखर र गगनलाई

सरकारमा पठाउने मन्त्रीका सन्दर्भमा नेपाली कांग्रेसको इतर समूहले आइतबार बिहान छलफल गरेको छ।

इतर समूहका नेता शेखर कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा छलफल गरेको हो।

छलफलले नेता कोइराला र महामन्त्री गगन थापालाई पार्टी सभापति शेरबहादुर देउवासँग समन्वय गरेर सन्तुलित ढंगले सरकारमा प्रतिनिधित्व गर्ने सांसदहरूलाई मन्त्री बनाउने जिम्मेवारी प्रदान गरेको छ। ‘पार्टीले हिजो९शनिबार० मापदण्ड बनाएको छ। सोहीअनुरूप मन्त्रीहरू छनोट गर्न उहाँहरूले सभापतिज्यूसँग छलफल गर्नुहुनेछ,’ बैठकपछि सहमहामन्त्री बद्री पाण्डेले भने। 

छलफलमा इतर समूहबाट को व्यक्ति सरकारमा पठाउने भन्ने सन्दर्भमा भने छलफल नभएको उनले बताए। ‘व्यक्तिकै लेभलको छलफल भइसकेको छैन। पहिला सरकारमा कांग्रेसबाट कति मन्त्री सहभागी हुने भन्ने निर्क्योल निस्केपछि बाँकी विषय निर्धारण गर्ने कुरा भएको छ,’ उनले भने। एमालेसँगको पहिलो सहमतिअनुसार इतर समूहले ११ मध्ये पाँच मन्त्रालय पाउने कुरा भएको पाण्डेले सुनाए। यद्यपि अब घट्न सक्ने पनि छलफल भएको छ।

इतर समूहका नेता अर्जुननरसिंह केसीले सरकारमा पठाउने मन्त्री मात्र नभई समग्र राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको बताए। ‘पछिल्लो मुलुकको राजनीतिक घटनाक्रम, जनतामा बढ्दै गएको व्याप्त असन्तुष्टिका विषयमा पनि छलफल भयो। यस्तो बेला दुईवटा ठुला दल मिल्दा पनि आशा जगाउन नसकिए मुलुक झन् समस्यामा फस्छ,’ उनले भने, ‘यसैले भागबण्डा भन्दा पनि सरकारमा समन्वयकारी, आशाको सञ्चार गर्न सक्ने व्यक्तिलाई पठाउने विषयमा छलफल भएको छ।’ 

पार्टीभित्रको आन्तरिक भागबण्डा हुँदा पनि सरकारमा पठाउने अनुहारले दुई पार्टी, अन्य पार्टीसँग समन्वय गरेर अघि बढ् नसक्ने व्यक्तिलाई हेर्ने गरी सभापति देउवासँग छलफल गर्न नेता कोइराला र महामन्त्री थापालाई जिम्मेवारी दिइएको नेता केसीले बताए।  

छलफलमा नेता कोइराला, महामन्त्री थापा, सहमहामन्त्री पाण्डे, केसीका साथसाथै उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, दिलेन्द्रप्रसाद बडु, मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायतका नेता सहभागी थिए।

प्रकाशित: ३० असार २०८१ १३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App