६ भाद्र २०८१ बिहीबार
image/svg+xml
राजनीति

आइतबार मन्त्रिपरिषद् बिस्तार नहुने, प्रधानमन्त्रीको नियुक्तिपछि मात्रै मन्त्रीको टुंगो !

तस्बिर: सूर्य थापाको फेसबुकबाट।

आइतबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा शपथ हुने भएपनि मन्त्रिपरिषद् बिस्तार भने नहुने देखिएको छ।

नेपाली कांग्रेस र नेकपा एमालेले आन्तरिक गृहकार्य टुंग्याउन नसक्दा मन्त्रिपरिषद् बिस्तार लम्बिने देखिएको हो दुवै पार्टी स्रोतले प्रधानमन्त्रीमा एमाले अध्यक्ष ओली नियुक्ति भएपछि मात्रै मन्त्रालय भागबण्डाको खाँका आउने जनाएका छन्।

त्यसपछि मात्रै दुवै पार्टीले मन्त्रीहरू को-को व्यक्ति पठाउने भन्ने तय गर्नेछन्। यो सबै गर्दा भोलि (आइतबार) नै सबै तयारी पुग्ने सम्भावना नरहेको दुवै पार्टीस्रोतले बतायो।

‘भोलि नै मन्त्रिपरिषद् बिस्तार हुने र मन्त्रीहरूले शपथ लिने कुरा सम्भव देखिन्न्,’ कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘प्रधानमन्त्रीले नियुक्त भएपछि मात्रै थप छलफल गरेर अघि बढ्ने भन्ने कुरा छ।’

भानुले भनेजस्तै धारणा एमालेका प्रमुख सचेतक महेश बर्तौलाको पनि छ। ‘प्रधानमन्त्रीमा हाम्रा श्रद्धय अध्यक्ष (ओली) ज्युले नियुक्ति र शपथ लिनुहुन्छ। थप मन्त्री नियुक्त हुने वा मन्त्रिपरिषद् बिस्तार चाहिँ अलि सम्भव देखिएको छैन,’ बर्तौलाले भने।

कांग्रेस र एमालेबीचको सहमतिमा कांग्रेसले गृहमन्त्रालयसहित ११ र एमालेले अर्थमन्त्रालयसहित १० मन्त्रालय पाउने प्रारम्भिक सहमति छ। तर, अन्य दलहरू पनि सरकारमा आउन चाहेको अवस्थामा दुई पार्टीले मन्त्रालयको संख्या घटाएर लिनेछन्।

अन्य दलहरूलाई पनि सरकारमा सहभागी गराउने सम्भावना प्रबल नै छ। 

कांग्रेसले मापदण्ड बनायो, एमालेमा ओलीकै तजबिजमा

कांग्रेसले सरकार सहभागी हुने मन्त्रीहरू छनोट गर्ने तयारी थालेको छ। शनिबार दिउँसो कार्यसम्पादन समितिको बैठक बसेर सरकारमा सहभागी हुने मन्त्री छनोटको लागि मापदण्ड नै तय गरिएको छ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार समावेशिता र प्रादेशिक सन्तुलनलाई आधार बनाएर मन्त्री छनोट गर्ने मापदण्ड बनाइएको छ।

कांग्रेसबाट पूर्व महामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी हुने लगभग पक्कापक्की रहेको बताइन्छ। उनीबाहेक रमेश लेखक, डा. आरजु राणा देउवा सरकारमा सहभागी हुने प्रबल सम्भावना छ।

लेखकलाई गृह र आरजुलाई परराष्ट्र मन्त्रालयमा पठाउने चर्चा भइरहेको छ। यसबाहेक किशोरसिंह राठौर, जीवन परियार, प्रदीप पौडेल, अजय चौरसिया, दीपक गिरी, ऐनबहादुर शाही, हृदयराम थानी, सरिता प्रसाईं, प्रतिमा गौतमलगायतको नाम चर्चामा छ।

उता एमालेमा भने मन्त्री छनोटबारे अहिलेसम्म ठुलै सुरसार देखिएको छैन। यद्यपि अर्थमन्त्रीमा विष्णु पौडेल नै जाने सम्भावना रहेको बताइन्छ। बाँकी मन्त्रीको छनोट अध्यक्ष ओलीकै तजबिजमा देखिएको एक नेता बताउँछन्।

राष्ट्रपति कार्यालय तम्तयार 

उता राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा ओलीलाई आइतबार बिहानै नियुक्त गर्ने तयारी गरेका छन्।

शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मतको प्रस्ताव राखेका थिए। जुन असफल हुनपुग्यो। त्यसपछि साँझ नै राष्ट्रपति कार्यालयले तीन दिनको समय दिएर नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिमको सरकार आह्वान गरेको थियो।

लगत्तै राति नै कांग्रेस सभापति देउवासहित राष्ट्रपति कार्यालय पुगेर एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए। रीतपूर्वक आएको दाबीलाई आइतबार बिहान सदर गर्दै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने र दिउँसो शपथ दिने तयारी राष्ट्रपति कार्यालयको छ।

यस्तै, मन्त्रिपरिषद् बिस्तार भएर आए त्यसका लागि पनि शपथ गराउने प्रबन्ध मिलाउन तम्तयार नै रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित: २९ असार २०८१ १७:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App