२७ भाद्र २०८१ बिहीबार
image/svg+xml
समाज

स्याउ पाक्दा ‘जुम्ला राताम्य’

जुम्लाका स्याउ बगैंचा । तस्बिर: गोल्डेन बुढा/नागरिक

जुम्लाको गुठिचौर गाउँपालिका-४ उखाडी गाउँका रामाकान्त पाण्डेको स्याउ बगैंचा अहिले राताम्य भएको छ। उनका करिब ८ सय बोट मध्ये ४ सयमा स्याउ फलेका छन्। स्याउ पाकेसँगै बारी राताम्य बनेका छन्। जसले पाण्डेको मुहारमा चमक थपिदिएको छ।

"स्याउले कलर दिइसकेको छ," उनले उत्साहित हुँदै सुनाए। पाण्डेले २०५३ सालमा मष्ठ माणु कृषि तथा स्याउ फार्म स्थापना गरी स्याउ खेती सुरु गरेका थिए।

यस्तै, सिँजा गाउँपालिका-५ गोरागाउँका रामसिंह रावलको बगैंचामा झन्डै ७ सय स्याउका बिरुवा राेपेका थिए।, जसमा हाल ३ सय बाेटले फल दिन थालेका छन्।

राता हुँदै जुम्ली स्याउ । तस्बिर गाेल्डेन/नागरिक

उनले गत वर्ष स्याउ बेचेर पाँच लाख रुपैयाँ आम्दानी गरेका थिए। यस वर्ष ८ लाख रुपैयाँसम्म आम्दानी गर्ने उनको लक्ष्य छ। "स्याउ पाक्न लागेसँगै जुम्लाका गाउँहरू राताम्य भएका छन्। स्याउ जुम्लाको आम्दानीको प्रमुख स्रोत हो," रावलले सुनाए।

राता भइसकेका जुम्ली स्याउ । तस्बिर गाेल्डेन/नागरिक

जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाका ६० वटा वडामा स्याउ फल्ने गर्छ। यहाँ रेड, रोयल, र गोल्डेन जातका स्याउ फल्छन्। स्याउ पाक्न थालेपछि बगैंचामा व्यापारीहरूको चहलपहल बढेको छ। किसानहरू स्याउ टिप्न व्यस्त छन् भने व्यापारीहरू स्याउ खरिद गर्न बगैँचामै पुग्न थालेका छन्।

जुम्लाको प्रमुख आम्दानीको स्रोत मानिएको स्याउ जिल्ला बाहिर निर्यातका लागि स्थानीय तहले सिफारिस दिन सुरु गरिसकेका छन्।

कृषि विकास कार्यालयले भदौको पहिलो सातासम्म स्याउ नटिप्न सूचना जारी गरेको थियो, तर केही किसानहरूले सुर्खेत र नेपालगन्जसम्म स्याउ पठाइसकेका छन्।

तिला-७ की लक्ष्मी रोकायाले प्रतिकेजी ७० रुपैयाँमा स्याउ बेचेको बताइन्। "यो पटक स्याउले छिटो कलर दिएको छ, उत्पादन पनि ठिकै भयो र मूल्य पनि राम्रो पाइयो," उनले खुसी व्यक्त गरिन्।

जिल्ला कृषि विकास कार्यालयका अनुसार, यस पटक ३ हजार ९ सय हेक्टरमा स्याउ रोपिएको छ, र १९ हजार घरधुरीमा स्याउ बगैंचा छन्। यो वर्ष १५ हजार मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ। जसमा ८ हजार मेट्रिक टन स्याउ जिल्ला बाहिर निर्यात हुने अपेक्षा गरिएको छ। यसबाट ४० करोड रुपैयाँ आम्दानी हुने देखिएको छ।

कृषि कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार, जुम्ली स्याउ सुर्खेत, नेपालगन्ज, बुटवल, भैरहवा, काठमाडौं लगायतका सहरहरूमा निर्यात हुँदै आएको छ।

यद्यपि, स्याउको भण्डारण र बजार व्यवस्थापनमा राज्यले चासो नदेखाएको किसानहरूको गुनासो छ। स्याउ ढुवानी गर्ने कर्णाली राजमार्ग हिलाम्मे र धुलाम्मे हुने भएकाले निर्यात गर्न कठिन भइरहेको व्यापारीहरु बताउँछन्।

जुम्ली स्याउलाई कुनै केमिकल प्रयोग नगरी उत्पादन गरिने भएकाले अर्ग्यानिक स्याउ पनि भनिन्छ।  पछिल्लो समयमा जुम्लाले स्याउका बिरुवा र दाना बेच्न थालेको छ। जसले यहाँको अर्थतन्त्रमा योगदान पुर्‍याइरहेको छ।

प्रकाशित: ५ भाद्र २०८१ २०:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App