२७ भाद्र २०८१ बिहीबार
image/svg+xml
समाज

समाचार हटाउन पत्रकारलाई मेयरको धम्की

सिराहाको धनगढीमाई नगरपालिकाका प्रमुख शिवशंकर महतोले समाचारको विषयमा पत्रकारलाई धम्क्याएको प्रति पत्रकार महासंघले आपत्ति जनाएको छ।

पत्रकारलाई धम्कीपूर्ण शैलीमा समाचार हटाउन दबाब दिएको भन्दै तत्काल व्यवहार सुधार गरी पत्रकारहरूलाई स्वतन्त्र रूपमा लेख्न र बोल्न दिने स्वतन्त्रताको सुनिश्चित माग गरिएको छ।

नेपाल पत्रकार महासंघ सिरहा शाखाका सदस्य मुकेश यादव (स्वामी) लाई समाचारको विषयलाई लिएर सिरहास्थित धनगढीमाई नगरपालिकाका प्रमुख शिव शंकर महतोले गालीगलौज गर्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको महासंघका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सुप्रिम खबर अनलाइन, न्युज कारखाना र प्राइम टेलिभिजनमा २०८१ साउन २३ गते सम्प्रेषित समाचारलाई लिएर पत्रकार यादवलाई नगरपालिका प्रमुख महतोले समाचार मेटाउन दबाब दिँदै "त दुई कौडीको पत्रकार समाचारको तथ्य प्रमाणित गर्न नसके जे पनि हुनसक्छ" भनी धम्कीपूर्ण भाषा प्रयोग गर्दै गालीगलौज गरेको भन्दै यादवले महासंघ सिरहा शाखामा निवेदन दिएका थिए।

"सम्प्रेषित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसउपर कानुनी उपचारमा जान सकिने या प्रेस काउन्सिल नेपालमा उजुरी गर्न सकिने विकल्पलाई छाडेर सार्वजनिक पदमा बहाल प्रमुखजस्तो जिम्मेवार व्यक्तिले देखाएको यो व्यवहार अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको प्रहार हो।" जारी विज्ञप्तिमा उल्लेख छ।

संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न र यस किसिमका हर्कत नदोहोर्‍याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै महासंघ पत्रकारलाई सुरक्षित र निर्भीक रुपमा काम गर्ने वातावरण निर्माण गर्न स्थानीय प्रशासनसँग महासंघ सिरहा शाखाका सभापति मनोज बनैता, प्रदेशका अध्यक्ष राजेश कर्ण र केन्द्रका महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्ति मार्फत माग गरिएको छ।

नेपाल पत्रकार महासंघले धनगढीमाईका मेयर महतोको अनुदार कार्यशैली र व्यवहारको निन्दा गर्दै तत्काल व्यवहार सुधार गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न माग गरेको छ।

नेपाल पत्रकार महासंघ सिरहा शाखा कार्यालयद्वारा जारी विज्ञप्ति।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशद्वारा जारी विज्ञप्ति।
नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्ति।

प्रकाशित: ५ भाद्र २०८१ २०:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App