१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेमकिपा र एमालेले नाराबाजी गरेपछि चामुण्डाविन्द्रासैनीको नगर सभा स्थगित

स्थगित भएको चामुण्डाविन्द्रासैनी नगरपालिकाको नगर सभा।

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा नगर सभा स्थगित भएको छ। नगर सभा उद्घाटन भएलगत्तै नेपाल मजदुर किसान पार्टी र नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने नगर सभा सदस्यहरूको नारा जुलुसका कारण नगर सभा स्थगित भएको हो।

नेमकिपा र एमालेबाट नगर सभामा प्रतिनिधित्व गर्ने सदस्यहरूले बजेट बाँडफाँडमा अनियमितता भएको भन्दै नगर सभा रोक्न नारा जुलुस गरेका छन्। जसका कारण उद्घाटन लगत्तै असार १८ गतेसम्मका लागि नगर सभा स्थगन गरिएको छ।

नगर सभा हुनुअघि कार्यपालिकाको बैठकबाट बजेट लगायतका विषयमा हुनुपर्ने छलफल समेत नगरी सीमा निर्धारण समितिले बजेट बडामा पठाएको भन्दै आफुले विरोध गर्नुपरेको चामुण्डाविन्द्रासैनी नगरपालिका ७ का वडाअध्यक्ष इन्द्र चौल गाईले बताए। 

‘कार्यपालिका बैठकमा नबोलाएर बजेट सिलिङ वडामा पठाइएको छ। वडाअध्यक्ष चौल गाईले भने, सीमा निर्धारण समिति कार्यपालिका बैठकभन्दा माथि कसरी हुन्छ।’ बलिच्याई तरिकाले सभा चलाउन खोजिएपछि आफूहरूले रोकेको र नगर सभाका सदस्यहरुलाई ७ दिन अघि नै बोलाउनुपर्नेमा नबोलाइएको आरोप चौल गाईले लगाए। नगर सभामा आफूहरूलाई प्रहरी लगाएर प्रवेशमा रोक लगाइएको दुखेसो वडाअध्यक्ष चौल गाईले गरे। चौल गाई नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधित्व गर्छन्।

सहमति सहकार्यबाट अगाडी बढ्नुपर्छ भन्ने चाहना हुँदा हुँदै पनि सहमति विना नगर सभा तानासाह प्रवृत्ति एकल रुपमा उद्घाटन गरेको आरोप वडा नम्बर ५ वडाअध्यक्ष हरिप्रसाद शर्माले लगाए। ‘नगर सभामा बजेट टुक्राएर योजना सहित जाने कुरा थियो।’ वडाअध्यक्ष शर्माले भने, आफूखुसी नगर सभा चलाउन खोजेको पाइयो। सहमति अनुसार बजेट बाडँफाँड भएमा सभा सञ्चालन हुन्छ।’

असार ७ गतेदेखि कार्यपालिका बैठक चलेको छ। त्यहाँ केही कार्यपालिका सदस्यहरू सहभागी नहुने निर्णय गरेको र ज्ञापन पत्र मार्फत नगर सभा स्थगनको माग समेत केही कार्यपालिका सदस्यले गरेको पाइएको छ। नगर सभा उद्घाटनपछि नाराजुलुससहित नगर सभा सदस्यहरूको विरोधपछि १८ गतेसम्मलाई स्थगित गरिएको चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर उपप्रमुख मन्सरा कुमारी शर्माले बताइन्। नगर सभा स्थगन भएपछि सहमति खोज्ने प्रयासहरू भइरहेको शर्माको भनाई छ। 

प्रकाशित: १० असार २०८१ १६:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App