१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस सांसदको आरोप: गृहमन्त्रीले प्रहरीमा ‘सरुवा आतंक’ मच्चाए

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीको ‘चेन अफ कमान्ड’ तोडेको आरोप लगाएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले गृहमन्त्री लामिछानेले प्रहरीमा जथाभाबी सरुवा आतंक मच्चाएर चेन अफ कमान्ड तोडेको आरोप लगाएका हुन्

‘सय दिनमा १७ चोटि प्रहरीहरू परिवर्तन भए। ३४ सय भन्दा बढी प्रहरीहरू यो तीन महिनाको अवधिमा परिवर्तन भए। ६६ जना सिडियो र सहायक सिडियो परिवर्तन भएका छन्। सय दिन भित्र यत्रो परिवर्तनको आवश्यकता किन ?,’ सांसद केसीले भने, ‘जबकि प्रहरी नियमावलीमा स्पष्ट रुपमा एक वर्षसम्म विशेष परिस्थिति वा उसको काममा खोट देखिए मात्रै परिवर्तन गर्न सकिन्छ, नभए भने परिवर्तन गर्न नहुने भन्ने।’

यसरी अहिले भइरहेको सरुवा आतंक मात्रै नभएको उनले बताए। ‘यो आतंक मात्र होइन, प्रहरी भित्रको चेन अफ कमाण्डलाई लाचार छायाँ बनाउने खालको काम गरिएको छ,’ सांसद केसीले भने।

गृहमन्त्री लामिछानेबाट निश्चित पद्धति र मर्यादा भित्र बसेर लोकलाजबाट बचेर कामको अपेक्षा गरिएको सांसद केसीले बताए।

उनले भने, ‘तर मैले सय दिन अत्यन्त धैर्यतापूर्वक हेरेँ। तर जुन ढंगको सरुवा आतंक, प्रशासनलाई निरिह छायाँ बनाउने र सुरक्षा अङ्गहरूमा चेन अफ कमान्ड ब्रेक गर्ने र प्रमुखहरूमाथि नै वक्रदृष्टि राख्ने खालको स्थिति पुगेको छ।’

प्रकाशित: ४ असार २०८१ १५:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App