४ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

गगनको एक भाषण तीन निसाना: सत्ताधारी दलका आआफ्नै खेलोफड्को

थाहा नभएको प्रधानमन्त्री, जिम्मेवारीबाट भाग्ने एमाले, चटकमा रास्वपा

नेपाली कांग्रेसका महामन्त्री गगन थापा वाचाल नेता मानिन्छन्। आफ्नो कुरा रवाफिलो ढंगले तर्कसहित प्रस्तुत गर्न सक्ने खुबीकै कारण उनी नेपाली राजनीतिमा स्थापित पनि छन्। 

महामन्त्री थापाले आफ्नो यही वाचाल शक्ति पछिल्लो समय सत्तारूढ गठबन्धनमाथि प्रयोग गर्दै आएका छन्। विशेषगरी सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र गिरिबन्धु टि–इस्टेट प्रकरणमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उनी वाकयुद्धमा छन्।

कांग्रेस प्रतिपक्षी दल भएकाले उनलाई अहिले यो भूमिका स्वभावजन्य रूपमा जमेको भन्ने विषयमा पनि राजनीतिक वृत्तमा टिप्पणी भइरहेको छ। यस्तोमा महामन्त्री थापाले शनिबार अर्को प्रशंगमा फेरी सत्ता गठबन्धनमाथि निसाना साँधेका छन्।

कांग्रेसको नागार्जुन कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सम्बोधन गरेका थापाले अर्थतन्त्र समस्याबारे बोलेका छन्। अर्थतन्त्रमा भइरहेको समस्यामा प्रधानमन्त्री पुष्पकमल दाहाल, सत्ता गठबन्धनको ठुलो दल एमाले र गृहमन्त्री लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीमाथि महामन्त्री थापाले निसाना प्रहार गरेका हुन्।

‘प्रधानमन्त्रीलाई के गर्ने थाहा छैन’

नागार्जुनको कार्यक्रममा महामन्त्री थापाले पहिलो निसाना प्रधानमन्त्री दाहालमाथि नै साँधे। उनले सरकार मूलतः एमाले र माओवादी केन्द्रको रहेको टिप्पणी गर्दै प्रधानमन्त्रीका रूपमा दाहाललाई के गर्नेसम्मको ज्ञान नभएको तिखो टिप्पणी गरिदिए।

‘माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन। किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन,’ महामन्त्री थापाले भने,‘ के को लागि हुनुभएको हो ? के गर्ने हो ? उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले ? केही पनि छैन।’

प्रधानमन्त्री दाहाल खेलोफड्को गर्ने र यता आएपनि पनि प्रधानमन्त्री उता गएपनि प्रधानमन्त्री बन्ने र बनिराख्नेमै केन्द्रित रहेको आरोप लगाउँदै उनले यस्तो अवस्थामा मुलुकको अर्थतन्त्र भने बिग्रँदै गइरहेको बताए।

‘अबको यो दिनमा हाम्रो अर्थतन्त्र बिग्रँदै जाँदा अहिलेको प्रधानमन्त्रीले त्यसको बारेमा जिम्मा लिएर जवाफ दिनुहुन्छ भन्ने मलाई पटक्कै लाग्दैन,’ उनले भने।

महामन्त्री थापाले प्रधानमन्त्री दाहालले यसअघि एकवर्ष कांग्रेससहितको सरकारमा हुँदा राम्रो गर्न नसकेपछि कांग्रेसको टाउकामा दोष थोपरेर भागेको आरोप समेत लगाए। त्यसैले अहिलेको कमजोरीको जिम्मा पनि लिन्छन् भन्ने पटक्कै नलागेको उनले बताए।

सरकारले ल्याएको बजेटले काम गरेन भने प्रधानमन्त्री दाहालले बजेटको जिम्मा समेत नलिने महामन्त्री थापाले दाबी गरे।

एमाले खेलोफड्को गर्छ, जिम्मेवारी लिँदैन

महामन्त्री थापाले दोस्रो निसाना एमालेतर्फ साँधे। जसमा ‘एमाले सरकारमा छ पनि, छैन पनि’ भनेर टिप्पणी गर्दै अगाडि भने, ‘सरकारमा उसले जुनियर मन्त्रीहरू पठाएको छ, हेर्दाखेरी।’ तर आफू सरकारमा बस्ने पनि र जनतामा गएर यो सरकार आफ्नो नरहेको भनेर पन्छिन् खोजिरहेको उनले आरोप लगाए।

जसको उदाहरण बजेटमा एमालेको ‘स्ट्यान्ड’लाई देखाए। ‘हेर्नुस् त बजेटमा कसरी पन्छिएको। सरकार आफ्नो छ। यो बजेट माओवादीको जस्तो देखियो। यो बजेटमा रातोरातो देखियो भनेर सर्लक्क पन्छिएको छ,’ महामन्त्री थापाले भने,‘एमालेले मेरो बजेट नै हो भन्दैन।’

अबको दुई तीन वर्ष एमाले सरकारमा रहिरहन चाहने पनि महामन्त्री थापाले दाबी गरे। उनले भने,‘सबै खेलोफड्को उसले पनि गर्छ। तर जिम्मा लिँदैन।’

रास्वपा सामाजिक सञ्जालको चटकमा

महामन्त्री थापाले तेस्रो निसाना गृहमन्त्री लामिछानेको दल रास्वपामाथि साँधे।

‘नयाँ राजनीतिक दलहरुको प्रवृत्ति लोकरिझ्याँइ बाहेक अरु केहीपनि छैन,’ रास्वपालाई लक्षित गर्दै उनले भने, ‘कसरी हुन्छ, के गर्ने, जे गर्दाखेरी सामाजिक सञ्जालमा साँझ दुईवटा मान्छेले गर्ने लाइक बढ्छ। बिहान उठेपछि सोच्ने के हुन्छ भने देशको समस्या समाधान कसरी गर्ने भन्ने होइन। आज मैले के बोल्ने होला ? आज मैले कहाँ गएर के दिने होला ? कस्तो भिडियो बनाउने होला ? त्यो गरेपछि बेलुका सुत्ने बेलामा कम्तीमा चारजना बढीले टिकटकमा हेर्छन्।’ 

जिम्मेवारीमा बसेको व्यक्ति समस्या समाधानभन्दा चटकमा लागेको उनले आरोप लगाए। ‘उपप्रधानमन्त्री भएको छ, मन्त्रीहरु भएको छ, तर देशको समस्या समाधान गर्ने भन्ने होइन कि चटक गर्ने,’ महामन्त्री थापाले भने।

समस्याको समाधान नगरेर खालि मानिसको भावनासँग खेल्ने र सामाजिक सञ्जाल उपयोग गरेर त्यसको आधारमा मानिसको दृष्टिकोण निर्माण गर्ने प्रयासबाहेक जिम्मा लिने काम नभएको उनले बताए।

प्रकाशित: १ असार २०८१ १६:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App