४ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

देश विकासका लागि सरकारमा गएका हौँ,त्यही नभएपछि कसरी सन्तुष्ट हुने: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन्।

शनिबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो कुरा बताएका हुन। उनले एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको बताए। एक/दुई जनाको मुख हेरेर सरकारमा छँदै छाै भनेर नहुने उनको भनाइ थियो।

अध्यक्ष ओलीले नेकपा एमालेले चलाइरहेको मन्त्रालयको स्थिति,मन्त्रालयमा बजेट विनियोजन कस्तो छ भन्नेेकुराको समीक्षा गर्न जरुरी रहेको बताए। उनले मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्न आग्रह गरे।उनले ठिक ठाउँको छलफल, सुझाव, निर्णयबाट मात्रै स्थितिमा परिवर्तन ल्याउन सकिने धारणा राखे।

उनले नेकपा एमाले प्रतिक्रियावादी शक्तिहरू जसरी विचार, नीति, उद्देश्य शून्य, स्वार्थका थैलाहरू बोकेर हिँड्ने पार्टी नभएको जानकारी दिए। अध्यक्ष ओलीले स्वार्थका थैलाहरू भर्नका लागि अशिष्टता, असभ्यता, अमर्यादा, अलोकतान्त्रिक तरिकाहरू अवलम्बन गर्ने काममा एमाले नलाग्ने बताए।

उनले प्रतिक्रियावादीहरुले नेकपा एमालेविरुद्ध दिनदिनै नयाँ नयाँ अकल्पनीय कुराहरू आविष्कार गरी समाजमा भ्रम पैदा गरिरहेको बताए। अध्यक्ष ओलीले नेकपा एमालेका विरोधी प्रतिक्रियावादीहरुले देश अगाडि नबढोस् भन्ने चाहने गरेको धारणा राखे । उहाँले नेकपा एमाले देश बाउने संकल्प, दृढता र अठोटमा रहेको बताए।

प्रकाशित: १ असार २०८१ १६:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App