९८औं जन्मोत्सव मनाइरहेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको सक्रिय वकालती जीवन अहिलेका युवा कानुन व्यवसायीले समेत अनुकरण गर्न चाहेको भविष्य हो । उमेरको यो उचाइमा पनि नियमित बहस गर्न अदालत जानु, आफ्नो ल फर्ममा उपस्थित हुनु र मुलुक र कानुनी व्यवस्थाको मात्रै होइन, राजनीतिक प्रणालीको विषयमा समेत खरो टिप्पणी गर्नु भण्डारीको दिनचर्या हो।
‘राम्रा मानिसको गठबन्धन हुनुपर्यो,’ भडारीले सोमबार जन्मोत्सवकै बीचमा नागरिकसँग भने, ‘न्यायालयलाई कसरी स्वच्छ गर्ने र राजनीतिक प्रणाली जनताको पक्षमा लगाउने भन्ने विषयमा काम गर्न ढिला भइसक्यो।’ जहिलेसुकै भेट हुँदा भण्डारी आफूभित्र गढेको एउटा सुषुप्त चाहना दोहोर्याइरहन्छन्। ‘लौ न मलाई प्रधानमन्त्री कहिले बनाइदिने ?’ न्याय क्षेत्रका सबैभन्दा पुराना व्यक्ति भएकाले अझै पनि उनी न्यायालयमा चर्चाको अग्रभागमा छन्। रसियामा पढेर आएका भण्डारी अहिले मुलुकले ठुलाठुला देशसँगको सम्बन्ध राम्रोसँग अगाडि बढाउनतिर ध्यान नदिएको बताउ“ छन्।
‘देशका लागि चिन्ता गर्ने युवाले यी विषयमा चासो दिनुपर्यो र सक्रिय हुनुपर्यो,’ भण्डारी भन्छन्, ‘अमेरिका, रुस र चीनजस्ता ठुलाठुला मुलुकसँग राम्रो कूटनीतिक सम्बन्ध कायम राख्न ध्यान दिनुपर्यो।’ कानुन व्यवसायसँगै राजनीतिमा समेत लामो जीवन व्यतीत गरेका भण्डारी नेकपा मानन्धर (विष्णुबहादुर मानन्धर) समूहको वरिष्ठ उपाध्यक्ष भइसकेका छन्। उनी तत्कालीन राजा महेन्द्रले आफूलाई मन्त्री बनाउन खोजेको अहिले पनि सम्झिन्छन्।
‘आफ्नो सिद्धान्तलाई छाडेर पद रोजेको भए कति हो कति अवसरले मलाई पच्छ्याएका थिए,’ उनी सम्झन्छन्। तर सक्रिय वकालत छाडेर भण्डारी कहिल्यै पदको पछि लागेनन्। नेपाल ल फर्म नामक उनको पहिलो ल फर्ममा अभ्यास गरेका कतिपय व्यक्ति प्रधानमन्त्री र प्रधानन्यायाधीश भए पनि उनले कहिल्यै पदलाई महत्त्व दिएनन्।
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्ददेखि लोकसेवा आयोगका पूर्व आयुक्त लवदेव भट्टसमेत उनका चेला हुन् भने पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्याय समेतले भण्डारीकै ल फर्मबाट वकालत सिकेका थिए। वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठदेखि अनेकन वरिष्ठ अधिवक्ता भण्डारीकै ल फर्मबाट वकालत सुरु गरेका थिए। कतिपय न्यायाधीश अहिले पनि पदमै छन्, जसले भण्डारीको ल फर्मबाट वकालत सुरु गरेका थिए।
वकालतमा भण्डारीको योगदानको कदरस्वरूप दुई वर्षअघि नेपाल बार एसोसिएसनले उनको रथारोहण मात्रै गरेन, उनलाई शताब्दी कानुन वाङ्मय पुरुषको उपाधिले समेत सुशोभित गरिसकेको छ। भण्डारी मेहनत गर्न मात्रै उत्प्रेरित गर्दैनन्, धनी वकिल बन्न पनि उक्साउ“ छन्। वकिल गरिब भयो भने कि त त्यसले मेहनत गर्दैन कि ऊ काम गर्न जान्दैन भन्ने भण्डारीको मान्यता छ । तर, उनी घुस बोकेर न्यायाधीशकहाँ जाने र मुद्दा जिताइदेऊ भन्दै दलाली गर्नेहरूलाई असली कानुन व्यवसायी मान्दैनन्।
एक शताब्दीसम्म कुनै व्यक्ति कसरी सक्रिय हुनसक्छ भनेर मानिस आश्चर्यचकित छन्। भण्डारीको विषयमा चर्चापरिचर्चा पनि पर्याप्त मात्रामा भइरहेका छन्। प्रधानमन्त्री वा प्रधानन्यायाधीश मात्रै नबन्नु पनि चर्चा नहुनु होइन। उनी कानुन क्षेत्रका लागि ‘गुरुदेव’ अर्थात् उच्च मर्यादाको व्यक्तित्व बन्न पुगेका छन्। विषयवस्तुका सन्दर्भमा भण्डारीसँग सहमत भए वा नभए पनि उनको उपस्थितिमा कुनै पनि विवाद गम्भीर बन्न जान्छ । मुद्दाको सुनुवाइमा इजलासमा समेत उनको उपस्थिति ओझपूर्ण बन्छ। उनको उपस्थितिले जुनसुकै विषय पनि गम्भीर बनाइदिन्छ र उनको उपस्थिति महत्त्वपूर्ण बनीदिन्छ।
७० वर्षभन्दा बढी वकालत गरेका भण्डारीका सफलताका किस्सा युवा कानुन व्यवसायीका लागि आश्चर्यका विषय मानिन्छन्। ९० वर्षको उमेर बिताइसकेपछि पुतलीसडकजस्तो राजधानीको केन्द्रमा तीन रोपनी जग्गामा ५० करोड रूपैयाँ खर्च गरी ल फर्म भवन बनाउने हिम्मतले उनको आर्थिक उन्नतिको विषय जति आश्चर्यजनक छ, त्यति नै आश्चर्यजनक उनका पेसागत किस्सा पनि युवा कानुन व्यवसायीका चर्चायोग्य विषय हुन्।
युवा कानुन व्यवसायीलाई मेहनत गर्न, व्यावसायिक बन्न र अर्थाेपार्जन गर्न भण्डारीको आशीर्वादलाई कानुन व्यवसायीले ‘सञ्जीवनी बुटी’ मान्ने गर्छन् । आवश्यक पर्दा १०/२० लाखको ऋण उपलब्ध गराइदिन तत्पर हुने उनमा सहयोगी भावना प्रष्ट देख्न सकिन्छ । कुनै नया“ काम थालनी हु“दा भण्डारीलाई सम्झिने गरेको र त्यस्ता काम सहजै पत्याउ“ दा आफैं फसेको उदाहरण पनि उनीसँग छ।
एकजना नाम चलेका वकिलले केही वर्षअघि कानुन विषयको कलेज खोल्छु भनेर पत्याउ“दा भण्डारी आफैं पनि ठगिएका छन्। उनी मात्रै ठगिएनन् नाम चलेका वरिष्ठ अधिवक्तालाई कलेजको नाममा रकम लगानी गरिदिन लबिङ गरिदिँदा उनीहरू पनि फस्दा भण्डारी अचम्मित भएका छन्। उनीसमेत अरू वरिष्ठ अधिवक्ताको तीन करोड पचाइदिएका ती वकिल केही वर्ष ठगी मुद्दामा जेल परेको प्रसंगले भण्डारीमा जोकोहीलाई विश्वास गर्नुहु“दैन भन्ने शिक्षा मिलेको छ।
कोरोना कालमा खान नपाएर कुनै पनि वकिललाई मर्न दिन्न भन्दै हिँड्ने भण्डारीमा गज्जबको साहस लुकेको पाइन्छ। कोरोना काल लम्बिए केही सय वकिललाई तराईमा रहेको आफ्नो जग्गामा खेती गरेर बचाउने उनले सार्वजनिक उद्घोष गरेका थिए।
तराईमा दर्जनौं बिघा जग्गा भएका, उपत्यकामा केही रोपनीको मालिक र करोडौं पर्ने घरजग्गाको मालिक भएर पनि भण्डारीमा गाडी चढ्ने मोह कहिल्यै नजाग्नुले उनमा रहेको सादगीपन खुल्छ। थापागाउँमा तीन रोपनी जग्गामा रहेको आफ्नो घरदेखि पुतलीसडकमा रहेको नेपाल ल फर्मसम्म हिँडेरै पुग्नु र हिँडेरै सर्वाेच्च हुँदै घर फर्कने दिनचर्याले उनलाई ९४ वर्षको होइन, चालिस वर्षको उमेरको ऊर्जा दिएको देखिन्छ।
उमेर ढल्कँदै जाँदा लौराको सहायतामा हिँड्न मन पराउने उनी कुनै पनि कार्यक्रममा उपस्थित हुँदा अन्य कसैको सहारा लिन मन पराउ“दैनन्। समातेर स्टेजमा लैजान खोज्दा उनी म आफैं सक्षम छु, मलाई सहारा दिनुुपर्दैन भन्छन्। एक्लै ठमठम हिँड्न मन पराउने वरिष्ठ अधिवक्ता भण्डारीका अरू पनि धेरै किस्सा छन्।
लौराको सहायतामा हिँडिरहेका उनलाई कहिलेकाहीँ सर्वाेच्चका सुरक्षाकर्मीले नचिनेर गेटबाट छिर्न सकस पार्दाका रोचक प्रसंग छन्। कुनै दिन उनी पुतलीसडकबाट ठमठम हिँड्दै सर्वाेच्च छिर्न खोजेछन्। सुरक्षाकर्मीलाई लागेछ कुनै वृद्ध यत्तिकै छिर्न खोज्दै छन्। सुरक्षाकर्मीले तपाईंको के काम छ भित्र भनेर सोधेछन्। उनले म वकिल हुँ भन्दा पनि सुरक्षाकर्मीले पत्याएनछन्। धेरैबेर गलफती भएपछि बारको कुनै पदाधिकारी पुगेर उनीप्रति सम्मानपूर्वक भित्र लैजान लाग्दा उनको वास्तविक परिचय पाएका सुरक्षाकर्मी लाजले भुतुक्क भएर माफी मागेछन्।
नेपाल बार एसोसिएसनको दुई पटक अध्यक्ष भएका भण्डारी न्यायालयको स्वतन्त्रता र गलत प्रवृत्तिको सशक्त पहरेदार मानिन्छन्। पूर्वप्रधानमन्त्री केपी ओलीले संसद् विघटनको मुद्दामा बहस गर्दा उनी बेग्लै तरिकाले चर्चामा आएका थिए। रिट निवेदकले उनलाई बहसमा उतार्दा ‘बाजे वकिललाई समेत बहसमा लगेछन्’ भन्ने ओलीको अभिव्यक्तिले ओली–भण्डारीबीच निकै नोकझोंक चल्यो।
बाजे भन्ने शब्द आफैंमा त्यति धेरै नकारात्मक नभए पनि आफ्नो आदरणीय व्यक्तिलाई ‘बाजे वकिल’ भनेर देशको प्रधानमन्त्रीले सम्बोधन गर्दा बारले विरोध गर्यो । नेपाल बार एसोसिएसन, सर्वाेच्च अदालत बार एसोसिएसन र कानुनक्षेत्र सम्बद्ध संस्थाको चर्काे विरोधपछि क्षमायाचनाको शैलीमा ओलीले भण्डारीमाथि चोट पुर्याउने आफ्नो उद्देश्य नरहेको स्पष्टीकरण दिन ओली बाध्य भए। वरिष्ठ अधिवक्ता भण्डारीसँग कत्रो नैतिक बल रहेछ भन्ने कुरा ओलीको स्पष्टीकरणले पुष्टि गर्यो।
भण्डारी, पूर्व सभामुख दमननाथ ढुंगाना र पूर्व राजदूत कमल कोइराला नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको आन्दोलनका आकर्षणको केन्द्र झैं बने। उनीहरूको उपस्थिति आन्दोलनको नैतिक बल थियो। भण्डारी न्यायाधीशले घुस खाएको र अदालतमा भ्रष्टाचार भएको सुन्न सक्दैनन्। उनी प्रधानन्यायाधीश ठिक भए तलकाले भ्रष्टाचार गर्न सक्दैनन् भन्नेमा विश्वस्त छन्।
भण्डारीसँग जोडिएका अनेकौं रमाइला किस्सा सुन्नमा आउँछन् । उनीभित्र पनि स्वाभाविक मानवीय कमजोरी छन्। कसैले फकाएर उनलाई लाखौं ठग्न सक्छ भन्ने घटना जसरी अपत्यारिला लाग्छन्, त्यसैगरी आफ्नो जन्मोत्सवमा समेत वकिलहरूसँग १० रूपैयाँका दरले चन्दा लिएर रक्सी खाने उनको लहड अहिलेको जमानाका वकिलहरूका लागि अपत्यारिला किस्सा हुन्। आफैंले किनेर पनि महँगो ब्रान्डको रक्सी खानसक्ने उनी आफ्नो जन्मदिवस युवा वकिलले थाहा पाऊन् भन्नका लागि जन्मदिनमा रक्सी खान भन्दै १०/१० रूपैयाँ उठाउने उनको शैली बेजोड रमाइलो छ।
यति मात्रै होइन, आफ्नो जमानाका चर्चित कानुन व्यवसायी भण्डारीका विषयमा रमाइला रमाइला किस्सा चल्ने गरेका छन्। उनी जवान कानुन व्यवसायी हुँदा देशैभरका पक्षका मुद्दा लड्न उपत्यकाबाहिर र खासगरी तराईका जिल्लामा जाने गर्दा रहेछन्। एउटा कहानीअनुसार उनी त्यस बेलाको विराटनगर–काठमाडाैं चल्ने रात्रिबसमा यात्रारत थिए। उनीसमेत सवार रहेको बस मध्यरातमा चारकोसे झाडीमा लुटिएछ । उनी अन्तिम सिटमा कम्बल ओढेर मस्त सुतिरहेका रहेछन्। डा.“काले गाडी जबर्जस्ती रोकेछन्, यात्रुका घडी, सिक्री तथा रकम लुटेछन्। अन्तिम सिटमा सुतिरहेका भण्डारीलाई जब डा“काले देखेछन् त्यसपछि उनीहरू छक्क परेछन्। भण्डारी यात्रारत देखेर डाँकाहरूले लुटेको सबै सामान फिर्ता गरेछन्।
‘ये बसमे हमार वकिलसाब है, इस बसको लुटना नही चाहियें’ भन्दै सबै सामान फिर्ता गरेको विषय उनीसँग जोडिएको रमाइलो किस्सा हो। भण्डारी यो प्रसंगमा थप्छन्, ‘त्यसपछि म चढेको बस मात्रै होइन, अरू लुटिएका बसका सामानसमेत उनीहरूले फिर्ता गरेछ।’ भण्डारीप्रतिको सम्मानले डा“काबाट सबै यात्रु जोगिनु पनि गज्जबकै संयोग मान्नुपर्छ। वकिल हुनु त वरिष्ठ अधिवक्ता भण्डारीजस्तो जसलाई न्यायका मामिलामा डाँकाले समेत विश्वास गर्न सक्छन्।
प्रकाशित: २९ जेष्ठ २०८१ ०६:३६ मंगलबार