२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
समाज

मोही बिक्रीबाट आम्दानी गर्दै सन्तोष

कोहलपुर नगरपालिका–१० का सन्तोष पौडेल हाल  ‘ठेकी स्वादको मोही’ लाई व्यावसायिक रूपमा ‘ब्रान्डिङ’ गरी स्थानीय बजारमा बिक्री गर्दै आएका छन्।

परम्परागत स्वाद हराउँदै गएको समयमा कोहलपुरका पौडेलले पुरानै शैलीलाई आधुनिक बजारसँग जोड्ने प्रयास गरिरहेका छन्। उनको यो प्रयासले स्थानीय उत्पादनलाई मात्र होइन, नेपाली मौलिक खानपान संस्कृतिलाई नयाँ पुस्तासम्म जोगाइराख्ने विश्वास गरिएको छ।

सन्तोषले हाल मदानीले दही  मथेर पुरानो शैलीमा मोही बनाउने गरेका छन्। काठको ठेकीमा दहीलाई मथेर पारेको मोहीको स्वादले पारखीहरु पल्कन थालेपछि उनको मोहीको व्यापार बढेको छ। त्यसैले उनले सञ्चालन गर्दै आएका ‘ए–वान डेरी उद्योग’ अहिले कोहलपुर क्षेत्रमा ठेकी मोहीका लागि परिचित बन्दै गएको छ।

विगत एक दशकदेखि दुग्धजन्य पदार्थको व्यवसायमा सक्रिय पौडेलले सुरुमा सामान्य डेरी व्यवसायबाट यात्रा थाले पनि पछिल्ला वर्षमा मोही उत्पादनमा विशेष ध्यान दिएका छन्।

उनका अनुसार बजारमा मेसिनबाट तयार हुने मोही सजिलै पाइए पनि आगोमा पकाइएको दूध र ठेकीमा मथिएको मोहीको स्वाद फरक हुने भएकाले उपभोक्ताले यसलाई रुचाउन थालेका छन्।

उनको उद्योगमा अहिले दैनिक ४०० लिटर ठेकीबाट बनाइएको मोही उत्पादन हुन्छ। यसबाहेक करिब डेढ सय लिटर खुला मोही पनि बिक्री हुँदै आएको छ। पाँच सय मिली लिटरको बोतलमा ‘प्याक’ गरिएको मोही स्थानीय बजारमा पुग्ने गरेको छ भने खुला मोही उद्योगबाटै बिक्री हुन्छ।

ठेकी मोही बनाउने प्रक्रिया लामो छ। दाउराको चुलोमा मनतातो गरी दूध तताइन्छ। त्यसपछि मेसिनबाट क्रिम अलग गरिन्छ। पुनः सोही दूधलाई चुलोमा उमालिन्छ र आवश्यक तापक्रममा चिस्याएपछि दहीको जोडन हालेर निश्चित समय हिटिङ रुममा राखिन्छ।

दही जमिसकेपछि आवश्यक मात्रामा ठेकीमा राखेर मदानीले मथिन्छ। यही प्रक्रियापछि तयार हुने मोहीमा आगोको स्वाद र काठको प्राकृतिक गन्ध मिसिने भएकाले यसको स्वाद फरक हुने पौडेलले बताए।

उनका अनुसार उपभोक्ता स्वादसँगै स्वास्थ्यप्रति  सचेत बन्दै गएका छन्। मोहीले पाचन प्रणाली सुधार गर्ने, शरीरलाई चिस्यान दिने, एसिडिटी कम गर्ने, थकान हटाउने, क्याल्सियम उपलब्ध गराउने तथा रक्तचाप नियन्त्रणमा सहयोग पुर्याउने विश्वासले पनि यसको माग बढिरहेको उनी बताउछन्।

‘राजनीतिमा सेवा भावले लागेँ। तर, जीवन धान्न नसकेपछि अहिले व्यवसायमै बढी समय दिइरहेको छु,’ पौडेलले भने।

पौडेलको व्यवसायमा परिवारका सदस्यसहित अन्य चार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्। उद्योग सञ्चालन गर्न लुम्बिनी प्रदेश सरकार तथा कोहलपुर नगरपालिकाबाट केही मेसिनरी सामग्री उनले प्राप्त गरेका छन्।

नगरपालिकाले उपलब्ध गराएको ५० प्रतिशत अनुदानमा ऊ अटोमार्फत मोही बजारसम्म पुर्याउन पौडेललाई सजिलो भएको छ।

स्थानीय उत्पादनलाई राष्ट्रियस्तरमा चिनाउने लक्ष्य बोकेका पौडेलले  स्वच्छ पिउने पानी उत्पादनका लागि आवश्यक फिल्टर प्रणालीमा अनुदान वा सहुलियत उपलब्ध भए उत्पादन विस्तार र ब्रान्डिङ अझ प्रभावकारी बन्ने बताए।रासस

प्रकाशित: १८ जेष्ठ २०८३ १७:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App