२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेले समाजलाई सचेत ढंगले अघि बढाउन छुट्टै भोलेन्टियर संस्था बनाउँछः ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोलेन्टियर्स नेशनल नेटवर्क बनाउने घोषणा गरेका छन्।

समाज परिवर्तनको प्रयासलाई सचेत ढंगले अघि बढाउनका लागि पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेशनल नेटवर्क बनाएर परिचालन गर्न चाहेको ओलीको भनाई थियो।

एमालेले हालै सम्पन्न गरेको राष्ट्रिय महिला भेलामा महिलाहरुलाई मात्रै भोलेन्टियर्सको रुपमा परिचालन गरेको थियो। आईतवार पार्टी मुख्यालय च्यासलमा उनीहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेशनल नेटवर्क बनाएर काम गर्ने सोचलाई अघि बढाएको बताए। उनले त्यसमा सहभागी हुनेले जंगी अनुशासनमा रहेर समाजलाई लयमा अघि बढाउन सहयोग गर्ने बताए।

ओलीले भने, ‘हामी जानीबुझी सचेत ढंगले कुनै अलमलमा नपरी, दुविधा नभई अन्धविश्वासमा होइन। विश्वासमा र भ्रममा होइन, स्पष्टतामा यो लोक, यो देश सपार्नका लागि आफ्नो सेवा दिईरहेका छौं। विभिन्न संगठनहरुमार्फत खासगरी हाम्रो पार्टी नेकपा एमाले र यसका वरिपरी रहेको जनमत यसलाई हामीले विभिन ढंगले संगठित गरेर परिचालन गरिरहेका छौं। र यसले समाज परिवर्तनका लागि सही विचारमा संगठित शक्तिलाई अगाडि बढाईरहेको छ। यस प्रसंगमा स्वभाविक रुपमा स्वयमसेवा अत्यावश्यक हुन्छ। ठूलो समूदाय भयो भने त्यहाँ जैविक क्रियाकलापहरु हुन्छन नै। ती जैविक क्रियाकलापहरुको व्यवस्थापन कसरी गर्ने? त्यस्तो अवस्थामा त्यसलाई समग्रतामा व्यवस्थित बनाउने कुरामा स्वयमसेवाबाट मात्रै गर्न सकिन्छ। गोलमाल हुन नदिन, अस्तव्यस्त हुन नदिन, यता जाने कि उता जाने भन्ने भ्रम हुन नदिन, सहभागिताको कार्ड कहाँ पाईन्छ भन्दा यहाँ। नाम कहाँ लेख्ने भन्दा यहाँ। भित्र पस्ने ढोका कुन हो भन्दा यो। बस्ने सिट कुन हो भन्दा यो। बाहिर निस्कने ठाउँ कुन हो भन्दा यो। कता फर्किएर बस्ने भन्दा यता। यी सबै कुरा व्यवस्थित गर्नका लागि स्वयम सेवा चाहिन्छ। स्वयम सेवा विना पनि ती चिजहरु गर्न सकिन्छ। तर हामीसँग पवित्र भावनाले विना पारिश्रमिक आफ्ना कार्यहरु, आफना कर्तव्यहरु सफल बनाउनुपर्छ भन्ने भावनाले उत्प्रेरित समूदाय छदैछ भने हामीले भाडामा यसलाई एउटा व्यवसायको रुपमा चलाईरहनु पर्दैन। त्यसकारण हाम्रो पार्टीमा जति पनि फङसनहरु छन, ती आफ्नो ढंगले संचालन गर्छौं। कहिलेकहिले हामीले केही कुरामा मद्दत लिनुपर्ने हुन सक्छ। जस्तो खानेकुरामा क्याटरिङको मद्दत लिउँला। तर प्राय भन्ने हो भने हामी हाम्रा कामहरु सबै भोलेटियरली गरेका हुन्छौं। त्यसरी हाम्रो पार्टीलाई साँच्चै परिपूर्ण, सम्पूर्ण व्यवस्थित पार्टीको रुपमा चलाएका छाैँ।’

प्रकाशित: २७ जेष्ठ २०८१ १९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App