१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

८ हजारमाथिका हिमाल आरोहणपछि मात्रै सगरमाथा आरोहण गर्न पाउने मापदण्ड: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले हिमालहरुको संरक्षणमा आवश्यक पहलकदमी हुन नसकेको बताएका छन्।

बुधवार काठमाडौंमा आयोजित ७१ औं सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको चपेटामा नेपाल परेको बताएका हुन्।

अहिले हिउँ नदीहरु क्रमशः सुक्ने, हिमाल कालो हुँदै जाने गरेको उनले बताए। उनले आरोहणलाई नियमन गर्न र आरोहणको मापदण्ड व्यवस्थित बनाउन जरुरी रहेको उल्लेख गरे।  

उनले भने, ‘जलवायु परिवर्तनको चपेटामा आज हाम्रो देश पनि अछुतो रहेन। हामीले वन क्षेत्रको संरक्षणमा उल्लेख्य उपलब्धि हाँसिल गरेका छौँ। यसले हाम्रो पर्यावरणलाई धेरै हदसम्म राहत दिएको छ। तर हामीसँग भएका हिमालहरुका सन्दर्भमा जे जति पहलकदमी लिनुपर्ने हो, त्यो गर्न सकिरहेका छैनौँ। फलस्वरुप अहिले हिउँ नदीहरु क्रमशः सुक्ने अवस्थामा छन्। हिमाल काला हुँदै गएका छन्। यसको संरक्षणमा धेरै उपाय होलान्। प्राकृतिक रुपमा जस्तो अवस्थामा छ, त्यस्तै कायम राख्ने हो भने एउटै मात्र उपाय हो आराम दिने, पूर्ण रुपमा प्रयोगमा ल्याउने, आरोहण बन्द गर्ने भनेको पनि होइन, आरोहणलाई नियमन गर्न जरुरी छ।’

यस्तै,उनले ६ हजार मिटरको हिमाल चढेपछि सगरमाथा चढ्न पाइने व्यवस्था हटाइ ८ हजार मिटर माथिको हिमाल आरोहण गरेपछि मात्र सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनुपर्नेमा जोड दिए।

मुख्यमन्त्री कार्कीले ८ हजार माथिका हिमाल आरोहणपछि मात्रै सगरमाथा चढ्न पाउने व्यवस्था गरेको खण्डमा मात्रै नियमन र आरोहणलाई व्यवस्थित बनाउनुका साथै जनताको अर्थिक अवस्थामा सुधार गर्न सकिने उल्लेख गरे।

प्रकाशित: १६ जेष्ठ २०८१ १०:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App