३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस नेताहरुमाथि लगाइएको आरोपकाे छानबिन गर्न महामन्त्री शर्माको चुनौती

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसका नेताहरुमाथि लगाइएको आरोपमाथि छानबिन गर्न चुनौती दिएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टी स्टेटको जग्गामा कांग्रेसले कमिसन खाएको आरोप लगाएको भन्दै सो विषयमा छानबिन समिति बनाउन चुनौती दिएका हुन्। उनले नेपाली कांग्रेसका नेताहरु छानबिनको दायरामा आउन तयार रहेको बताए।

उनले गृहमन्त्रीले पनि कांग्रेसका नेताहरुमाथि संसदमा बोलेरै आरोप लगाएको भन्दै त्यसमा पनि सबैमाथि छानबिन गर्न आफूहरु तयार रहेको कांग्रेस पार्टी सभापतिदेखि महामन्त्रीसम्म र दाजुदेखि भाउजुसम्म छानबिन गर्न तयार रहेको भन्दै कसलाई छानबिन गर्ने हो भनी प्रश्नसमेत गरे। उनले प्रत्येक व्यक्तिमाथि नाम, थर, गोत्र, वजन, ठेगाना सबै लेखेर छानबिन गरे पनि आपत्ति नभएको बताए।

उनले भने, ‘हामीमाथि आरोप लगाउनुभएको होइन पूर्वप्रधानमन्त्री केपी ओलीले कि कांग्रेसले गिरिबन्धुको जग्गा बेचेर कमिसन खायो। छानबिन समिति त्यसमा पनि बनाऔँ न। हामी त्यसमा तयार छौँ। गृहमन्त्रीजीले संसदमा बोल्दै गर्दा कांग्रेसका सांसद, मन्त्री, प्रधानमन्त्रीमाथि आरोप लगाउनुभयो। को–को माथि छानबिन गर्नुपर्‍यो? सब छानबिन गर्न हामी तयार छौँ। कांग्रेस सभापतिमाथि छानबिन गर्ने कि महामन्त्रीमाथि? दाजुमाथि छानबिन गर्ने हो कि भाउजुमाथि ? मामामाथि छानबन गर्ने हो कि माइजुमाथि रु प्रत्येकमाथि छानबिन गर्नुस्। नाम लेखेर छानबिन गर्नुस्। थर, गोत्र, वजन, ठेगाना लेख्नुस्। माइतीपट्टि लेख्नुस्। ससुरालीपट्टि लेख्नुस् । गोलाकार शंख र चक्र के–के छन् त्यो पनि लेख्नुस्। लेखिराखेर छानबिन गर्नका लागि हामीलाई कुनै आपत्ति छैन।’

यस्तै, महामन्त्री शर्माले वर्तमान सत्तारुढ गठबन्धनलाई सहकारीबन्धु गठबन्धन भएको टिप्पणी गरे। एमालेले रास्वपालाई सहकारी प्रकरणमा साथ दिने र रास्वपाले एमालेलाई गिरिबन्धु प्रकरणमा साथ दिने सहमतिका साथ यो गठबन्धन अगाडि बढिरहेको उनले बताए।

प्रकाशित: ११ जेष्ठ २०८१ १५:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App