२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

सिरोहिया भेट्न पुगेका निधीले भने: उहाँ निर्दोष हुनुहुन्छ, तत्काल रिहाइ गर्नुपर्छ

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियासँग भेट गरेका छन्।

नागरिकता सम्बन्धित कसुर मुद्दामा धनुषा प्रहरीको हिरासतमा रहेका सिरोहियासँग बिहीबार नेता निधिले भेटघाट गरेका हुन्। 

बिहीबार जनकपुरधाम आइपुगेका निधिले सिरोहियालाई भेट्न विमानस्थलबाट सिधै जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए। 

भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने बताए।

उनले गृहमन्त्रीको प्रकरणमाथि सरकारले न्यायाधीश भएर निर्दोष घोषणा गर्नुले पनि झनै प्रमाणित हुने जिकिर गरे। उनले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा काँग्रेसले शुक्रवार काठमाडौं केन्द्रित विरोध प्रदर्शन गर्ने बताए।

सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको उनले बताए। उनले अध्यक्ष सिरोहियाको साथमा नेपाली काँग्रेस र सबै नेपालीहरू रहेको भन्दै कैलाश सिरोहियाको पक्राउको विरुद्धमा कांग्रेस रहेको बताए। सरकारले अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण रुपमा पक्राउ गरेकाले तत्काल रिहाइ गर्नुपर्ने उनको भनाइ छ। कैलाश सिरोहियामाथिका आरोप निराधार र त्रुटिपूर्ण रहेको बताए।

उनले भने, ‘सरकारले कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले सरकारले गिरफ्तार गरेको छ। अनावश्यक दुःख दिएको छ। उहाँलाई जनकपुरमै ल्याइएको छ। उहाँ प्रहरीको नियन्त्रणमा हुनुहुन्छ, उहाँलाई नै भेट्न आएको हुँ। उहाँप्रति ऐक्यबद्धता प्रकट गर्न आएको छु। हामी कैलाश सिरोहियाको साथमा छाैं। कैलाश सिरोहियाको पक्राउको विरुद्धमा छाैं । यो प्रतिशोधपूर्ण पक्राउको सरकारले रिहाइ गर्नुपर्छ। यस्तो त होइन, दुई वटा नागरिकता केसमा बदर नै भइसकेको छ। अहिले गृहमन्त्री जो हुनुहुन्छ, उहाँलाई बदर गरियो। कैलाश सिरोहियालाई अनावश्यक रुपमा गिरफ्तारी गरिएको छ। उहाँमाथि जुन आरोप छ, त्यो आरोप निराधार र त्रुटिपूर्ण छन्। कानूनी र व्यवस्थापकीय कारणले फरक फरक देखिएको छ। किर्ते होइन। यो सबैको सरोकारको विषय हो। रवि लामिछानेको सहकारी ठगीको आरोपमा छानबिन समिति बनाउन हामीले भनेका छौँ। सरकार आफैँले न्यायाधीश भएर निर्दोष घोषणा गर्नुभएको छ। त्यसको विरुद्धमा शुक्रवार प्रदर्शन गर्दैछौँ। जबसम्म संसदीय छानबिन समिति बन्दैन, तबसम्म संसदको अरु कामहरू अघि बढ्दैन।’

प्रकाशित: १० जेष्ठ २०८१ १४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App