१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

सिर्जनात्मक कलामा रमाउँदै अवलोकनकर्ता, प्रदर्शनीको साझा थलो विद्यार्थी महोत्सव

बुधबार दिउँसो नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवाली भृकुटीमण्डपको विद्यार्थी मेलामा मदानी र ठेकीसँग रमाउँदै थिए। मेला अवलोकन गर्न पुगेका ज्ञवाली गाउँको सम्झना ताजा गराउन मोही पारिरहेको भेटिए। कार्यकर्ताहरुको घेराभित्र रहेका पूर्वमन्त्री ज्ञवालीले करिब एक मिनेट मोही पारे तर घिउ झिक्न भने उतिसारो चासो दिएनन्। उनी अन्य स्टल अवलोकनका लागि लम्किए।  

भृकुटीमण्डपमा यो बेला एमालेको भ्रातृ संगठन अनेरास्ववियुले आयोजना गरेको तीन दिने विद्यार्थी मेला चलिरहेको छ। उक्त मेलामा अहिले नेतादेखि विद्यार्थी, शिक्षक शिक्षिकाहरुको बाक्लै उपस्थिति देखिन्छ।

तीनै भिडमा आफूले बनाएको सामग्री देखाउँदै थिए सम्पन्न सिलवाल। सिलवाल अक्सिडेन्टल पव्लिक स्कुलमा कक्षा १० मा पढ्दै छन्। उनी आफ्नो स्टलमा अवलोकन गर्न आउनेहरुलाई सामग्री बारे बढो चासोपूर्वक बुझाउँदै थिए। उनको वाकशैलीमा अवलोकनकर्ता पनि एकटकले हेरिरहेका र सुनिरहेका देखिए। सम्पन्नसहितको समूहले ट्राफिक सिग्नल बनाएको छ। जसले सडकमा गाडीहरु ओभरस्पिडमा छन् भने बजरबाट जानकारी दिने र ट्राफिक सिग्नललाई अलर्ट गर्ने काम गर्दछ।

पद्मोदय सेकेण्डरी स्कुलका आर्नव गौतम पनि आफ्नो स्टलमा आएका अवलोकन गर्नेहरुलाई सामग्री बारे जानकारी दिइरहेका थिए। गौतमसंगै अन्य तीन जना साथीहरुले एलपीजी ग्यास डिडेक्टर र भूकम्प डिडेक्टर बनाएका छन्।

गौतम भन्छन्, ‘हामीले एलपीजी ग्यास डिडेक्टर र भूकम्प डिडेक्टर बनाएका छौं। एक सय जनाभन्दा बढीले अवलोकन गरिसक्नुभयो। राम्रो प्रतिक्रिया दिनुभएको छ। हामीले बनाएका नयाँ सामग्रीहरु यसरी प्रदर्शन गर्न पाउँदा खुशी लागेको छ।’

सोहि मेला अवलोकन गर्न थानकोटबाट आएकी थिइन् छोइङ पाल्देन। उनी एनएमस विद्यालयमा कक्षा ७ मा पढ्दै छन्। मेलामा सेनेटरी प्याड बनाउने तरिका बारे जानकारी लिएको उनले बताइन्।

ललितपुरका मेघ तुलाधर पनि आफ्ना साथिहरुसँग मेला अवलोकन गर्दै थिए। कक्षा ९ मा अध्ययनरत तुलाधरलाई विद्यालयले नै शैक्षिक भ्रमण गराउन मेलामा ल्याएको हो। मेलामा विज्ञानका कुराहरु धेरै उपयोगी रहेको उनको अनुभव रह्यो। 

तुलाधर भन्छन्, ‘मेलामा धेरै जसो रोबर्ट बारे भित्रिएको नयाँ प्रविधि सम्बन्धमा जानकारी लिए। विज्ञान र आर्टिटेक्टरको बारेमा पनि जानकारी लियौं। हामी विद्यार्थीका लागि मेला राम्रै लाग्यो।’

मेलामा आफूले बनाएको क्यान्डल बेच्दै थिइन् रक्षा क्षेत्री। बिक्री भइरहेको यी क्यान्डल उनीसहित तीन जनाले बनाएका हुन्। विशेषत उक्त क्यान्डल व्यक्तिहरुले आफ्नो कोठा सजाउन साथिहरुको जन्मदिनमा उपहार दिन लाने गरेको सुनाइरहँदा क्षेत्रीसहित सबैको अनुहारमा सफलताको खुशी झल्किरहेको थियो।

उनले भनिन्, 'हाम्रो लागि यो राम्रो अवसर हो। आफूले बनाएको सामाग्रीहरु यसरी बेच्न पाएका छौं।'

यो मेलाले पछिल्लो समय विद्यार्थी संगठनहरु सिर्जनात्मक र रचानात्मक कार्यहरुमा पनि संलग्न हुँदै आइरहेका छन् भन्ने पुष्टि गर्छ। अनेरास्ववियुले आफ्नो ६० वर्षे इतिहासमै पृथक कार्यक्रम आयोजना गरेको दाबी अध्यक्ष समिक बडालको छ। उनले यो महोत्सवले विद्यार्थी आन्दोलनले नयाँ फड्को मार्ने बताए।

प्रदर्शनीमा अनेरास्ववियुको इतिहास समेटिएको तस्बिर, वृत्तचित्र पनि प्रदर्शनमा राखिएका छन्। लाइभ म्युजिक, चित्रकारिता, कन्सर्टहरू, करिअर काउन्सिलिङ, बहस र संवादहरू पनि भएका छन्।

यसका अतिरिक्त सात वटै प्रदेशको पहिचान, संस्कृति प्रतिविम्बित हुने झाँकी, स्वास्थ्य शिविर, खानेकुराका परिकारहरूको प्रदर्शनी, पर्यटन भिजन, इ–गेमिङ, रोबो सकर नेपाली तथा विदेशी विश्वविद्यालयबाट सम्बन्ध प्राप्त कलेजहरूको जानकारी दिइने स्टलहरू राखिएका छन्।

प्रकाशित: ३ जेष्ठ २०८१ १४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App