१६ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

अखिलको ६० वर्ष: विद्यार्थी महोत्सवको वर्ष

एमालेको जनवर्गीय संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) स्थापनाको ६० औ वर्षमा प्रवेश गर्दा विद्यार्थी महोत्सवको पूर्व सन्ध्यामा उभिएको छ।

जेठ १ देखि ३ गतेसम्म काठमाडौँको भृकुटी मण्डपमा आयोजना गर्ने महोत्सवमा देशभरका करिब एक लाख विद्यार्थीहरू सहभागी गराउने गरी महोत्सवको तयारी पूरा गरेको अनेरास्ववियुका अध्यक्ष समिक बडालले जानकारी दिएका छन्।

महोत्सवमा विद्यार्थीलाई राजनीतिक चेतना र विद्यार्थी आन्दोलनबारे जानकारी गराइने र विभिन्न सत्रहरूमा छलफल हुने गरी तयारी गरिएको छ। ‘विद्यार्थी महोत्सवमा १ सय ५० भन्दा बढी शैक्षिक स्टल रहने र महोत्सव अवधिभर करिब एक लाख विद्यार्थीहरूले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य लिइएको छ’, अध्यक्ष बडालले भने।

सरकारी तथ्याङ्क अनुसार हरेक वर्ष एक लाख २० हजार विद्यार्थी अध्ययनका लागि विदेश जाने गरेका छन्। विदेशमा होइन, नेपालमा नै उत्कृष्ट गुणस्तरीय शिक्षा छ भन्ने सन्देश दिन महोत्सवको आयोजना गरिएको अखिलले जनाएको छ। भृकुटी मण्डपमा १ सय ५० बढी स्टलहरू राखेर अनेरास्ववियुले त्यहाँ १४ विद्याका कार्यक्रम गर्ने तयारी गरेको पनि बडालले जानकारी दिएका छन्।  

विद्यार्थीलाई मुलुकमा नै पढेर केही गर्न सकिन्छ भनेर उत्प्रेरणा दिन महोत्सव गर्न लागिएको पनि उहाँले जानकारी दिए। महोत्सवमा अनेरास्ववियुको बारेमा जानकारी गराउनेदेखि लाइभ म्युजिक र प्रत्यक्ष परियोजनाका बारेमा अन्तरक्रिया गरिनेछ। त्यसैगरी करियर काउन्सिलिङ, युवा संसद बहस र संवाद, सांस्कृतिक प्रदर्शनी, रक्तदान तथा स्वास्थ्य शिविर,फूड स्टल, ई–गेमिङ प्रतियोगिता र पर्यटन भिजन जस्ता कार्यक्रम राखिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।देशभरका विद्यार्थीका विभिन्न नवीनतम प्रतिभा महोत्सव स्टलमा राख्ने, सात वटै प्रदेशबाट सांस्कृतिक एक्सपो सञ्चालन गर्ने जस्ता तयारी पनि अनेरास्ववियुले गरेको छ। महोत्सवमा नेपालको शिक्षा प्रणाली, जागिरका लागि परामर्श, युवा विद्यार्थीलाई संसदीय प्रणालीबाट जानकारी लगायत विषयमासमेत सामूहिक छलफल गर्ने तयारी पनि अखिलले गरेको छ।

पार्टीको उच्च तहमा अखिलको नेतृत्व 

यतिबेला एमालेमा उच्च नेतृत्वमा अखिलबाटै उत्पादन भएका नेताहरु रहेका छन्। महासचिव शंकर पोखरेलदेखि सचिव योगेश भट्टराईसम्म नेतृत्वका अखिलबाट उत्पादन भएका नेताहरु नेतृत्वमा रहेको बेला विद्यार्थी महोत्सवको आयोजना गर्न लागेको हो। २०२२ सालमा स्थापना भएको अखिल अहिले ६० वर्षमा पुग्दैछ। 

६० वर्षको इतिहासमा अनेरास्ववियुले २३ वटा सम्मेलन, अधिवेशन–महाधिवेशन सम्पन्न गरिसकेको छ। पार्टीमा सरकारमा आफ्नो नेतृत्वलाई बारम्बार पठाइसकेको छ। अहिले पनि नेकपा एमाले र एमालेबाटै विभाजित भएको नेकपा एकीकृत समाजवादीको उच्च नेतृत्व तहमा अखिलबाट  गएका नेताहरुको बाहुल्यता रहेको छ। पार्टी अध्यक्ष हुने बाहेक नीति निर्माण र रणनीतिक तहमा अखिलबाट पार्टी काममा प्रवेश गरेका नेताहरुको बचश्व रहेको।  ६० वर्षे इतिहासमा अनेरास्ववियुको दुई दर्जन बढी अध्यक्षहरूले पार्टी, सरकार र सामाजिक क्षेत्रको नेतृत्व सम्हालेका छन्।

अनेरास्ववियुका संस्थापक अध्यक्ष सुजन खरेल, चौथो सम्मेलनबाट अध्यक्ष निर्वाचित मुकुन्दबहादुर श्रेष्ठ रामनाथ ढकाल, रवीन्द्र अधिकारीको भौतिक उपस्थिति छैन। ०२५ सालमा काठमाडौँमा सम्पन्न दोस्रो सम्मेलनबाट अध्यक्ष बनेका विश्वकान्त मैनाली नेपाल बार एशोसियसनको अध्यक्ष भएका थिए। ०२६ सालमा ललितपुरमा सम्पन्न तेस्रो सम्मेलनबाट अध्यक्ष भएका गोविन्दमान श्रेष्ठ अहिले राजनीतिबाट पलायन भएर विदेशमा रहेका छन्। सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष निर्वाचित रामप्रसाद ज्ञवाली पनि अहिले राजनीतिमा सक्रिय छैनन्। सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीका संयोजक रहनु भएका गौरी प्रधान अहिले बाल अधिकारका क्षेत्रमा सक्रिय छन्। 

०४२ सालमा काठमाडौँमा सम्पन्न आठौँ महाधिवेशनबाट अध्यक्ष बनेका  चन्द्र भण्डारी राजनीतिबाट विश्राम लिएको अवस्था छ।  पाँचौ राष्ट्रिय सम्मेलन तयारी समितिको संयोजक  भएका टंक कार्की ०३६ मा पुनर्गठित पाँचौ राष्ट्रिय सम्मेलन तयारी समितिको पनि संयोजक तथा काठमाडौँमा सम्पन्न छैटौँ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष बनेका कार्की चीनका लागि नेपाली राजदूत भएपछि अहिले एमालेको केन्द्रीय सदस्य छन्।

यसैगरी ०४४ मा काठमाडौँमा सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित तुलबहादुर गुरुङ ०४६ सालमा सम्पन्न दशौँ महाधिवेशनबाट पुनः अध्यक्ष निर्वाचित भएका थिए। उनी अहिले एमालेबाट विभाजन भएको नेकपा ९समाजवादी० मा छन्।०४८ सालमा पोखरामा सम्पन्न ११ औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित शंकर पोखरेल अहिले एमालेको महासचिव हुन उनी लुम्बिनी प्रदेशको संस्थापक मुख्यमन्त्री पनि भएका थिए। त्यही बेला अखिलका महासचिव भएका घनश्याम भुसाल यतिबेला नेकपा एसमा महासचिव छन्। 

विराटनगरमा ०५२ मा सम्पन्न १३ औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित योगेश भट्टराई अहिले एमालेको सचिव छन्। अनेरास्ववियुको १४ औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका हिक्मत कार्की अहिले प्रदेश १ का मुख्यमन्त्री र एमालेको स्थायी कमिटी सदस्य छन्। 

०५३ मा अनेरास्ववियुको आन्तरिक विवादका कारण पुनर्गठन भएको अनेरास्ववियुको अध्यक्ष बन्नुभएका अरुण नेपाल प्रदेशको पूर्वमन्त्री छन्। उनकै महासचिव रहेका जगन्नाथ खतिवडा अहिले नेकपा एसका उपमहासचिव एवं प्रचार विभाग प्रमुख छन्। अर्का उपाध्यक्ष रूपनारायण श्रेष्ठ पनि अहिले एमालेको नेता छन्। १७ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष बनेका खिमलाल भट्टराई एमालेको पोलिटब्युरो सदस्य छन्। 

त्यस्तै कीर्तिपुरमा ०५९ मा सम्पन्न १६ औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित राजेन्द्र राई ०६१ मा वीरगञ्जमा सम्पन्न १७ औँ राष्ट्रिय सम्मेलनबाट पुनः अध्यक्ष निर्वाचित भएका थिए। उनी पनि अहिले एकृकित समाजवादीका सचिवमा क्रियाशील रहेका छन्। ०६५ मा पोखरामा सम्पन्न १८ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्ष निर्वाचित रामकुमारी झाँक्री पनि समाजवादी पार्टीकै सचिवको रुपमा क्रियाशील छिन्। 

०६३ सालमा सम्पन्न अनेरास्ववियुको १८ औँ महाधिवेशनबाट अध्यक्ष बनेका  ठाकुर गैरे एमाले पोलिटब्युरो सदस्यको जिम्मेवारीमा छन्। ०७० मा सम्पन्न २० औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित माधव ढुङ्गेल अहिले एमाले केन्द्रीय सदस्यको जिम्मेवारीमा छन्। अनेरास्ववियुको २१ औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका किशोर विक्रम मल्ल पनि केन्द्रीय सदस्य छन्। २०७२ फागुनमा काठमाडौँमा सम्पन्न २२ औँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित नबिना लामा एमालेको केन्द्रीय सदस्य छिन्। 

नबिना लामापछि अनेरास्ववियुको अध्यक्ष बनेका ऐन महर अहिले एमालेको केन्द्रीय हुन्। महरपछि अध्यक्ष बनेकी सुनित बराल प्रतिनिधि सभामा समानुपातिकमा सांसद छिन्। अखिलकै पूर्व प्रथम महिला उपाध्यक्ष शिवमाया तुम्बाहाम्फे उपसभामुख हुँदै एमालेको केन्द्रीय नेतृत्वमै क्रियाशील रहेकी छिन्। 

प्रकाशित: ३१ वैशाख २०८१ १८:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App