१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

उपनिर्वाचन आचारसंहिता आजबाट लागू

निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ (१) मा निर्वाचन आचारसंहिता लागू गरेको छ। मंगलबार आयोगका प्रवक्ता एंव सहसचिव शालिग्राम शर्मा पौडेलले चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू हुने जानकारी दिए।

‘आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिससमेतका आधारमा इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं. १(१) मा आचारसंहिता लागु गराउन जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय गरेको छ,’ उनले भने। 

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आचारसंहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्न निर्देशन दिइएको छ।

त्यस्तै राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन, सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, मतदाता, उम्मेदवार तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचारण जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलासम्बन्धी विषय, सवारीसाधनको प्रयोग र सञ्चारमाध्यमको प्रयोगसम्बन्धी विषय र निर्वाचन खर्चसम्बन्धी विषयमा दैनिक विवरण लिन भनिएको छ। आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाका सम्बन्धमा पनि तयारी समीक्षा गरेको आयोगले जनाएको छ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उपनिर्वाचनका लागि सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत नेपाल सरकारलाई लेखेर पठाउने निर्णय समेत गरेको छ। आयोगले उपनिर्वाचनका लागि वैशाख १३ गतेदेखि १५ गतेसम्म मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयको उपयोग गर्नुपरेको हुदा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्य सचिवमार्फत् सरकारलाई लेखेर पठाउने निर्णय भएको हो।

‘इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र बझाङ जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं १(१) मा हुने उपनिर्वाचनका आगामी वैशाख १३ र १४ गतेका लागि बिदा दिन मुख्य सचिवमार्फत् अनुरोध गर्न लागेको हो,’ उनले भने, ‘मंगलबार उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले चैत २८ गतेदेखि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ को कार्यान्वयनको लागि जिल्ला आचारसंहिता अनुगमन समितिले निर्णय गरी पालना गराउन अनुगमन समितिलाई निर्देशनहरू दिइएको छ ।’ आचारसंहिता पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्च प्रहरी तथा अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत् आवश्यक सूचना र विवरण लिएर कारबाही गर्न निर्देशन दिइएको छ।

सरकार र प्रदेश सरकारका मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले आयोगको अनुमति नलिई निर्वाचन क्षेत्रमा उपस्थित भएको वा प्रचार प्रसारमा संलग्न भएमा जाँचबुझ गरी कारबाही अघि बढाउन पनि निर्देशन दिइएको छ। वैशाख २ गतेदेखि १५ गतेसम्म मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्ने गराउने व्यवस्था मिलाउन पनि पत्र पठाउने लेखेर पठाएको छ।

निर्वाचन आचार संहिता, २०७९ को परिच्छेद ४ बमोजिम राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नु पर्ने आचारणहरू जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलासम्बन्धी विषय, सवारीसाधनको प्रयोग र संचार माध्यमको प्रयोग सम्बन्धी विषय र निर्वाचन खर्च सम्बन्धी विषयमा दैनिक विवरण लिने र अनुगमन अधिकृत र जिल्ला आचार संहिता अनुगमन समितिले आचारसंहिता उल्लंघनको विषयमा तत्काल कारवाही प्रारम्भ गर्ने र कुनै द्विविधा उत्पन्न भएमा टेलिफोन, एसएमएस, एवं इमेल वा अन्य कुनै उपयुक्त माध्यममार्फत आयोगबाट निकासा लिई कारबाही टुंग्याउने उल्लेख गरिएको छ। उपनिर्वाचन हुने इलाम जिल्ला र बझाङ जिल्लामा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ को व्यवस्था कार्यान्वयन गर्न मातहतका सबै निकायहरूको परिचालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत राष्ट्रिय अनुसन्धान विभाग र गृह मन्त्रालयमार्फत नेपाल प्रहरीमा लेखी पठाउने भनिएको छ।

प्रकाशित: २८ चैत्र २०८० ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App