७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

इलाम-२ को चुनावी जोड-घटाउः अवस्था यस्तो छ, कसले जित्छ त चुनाव ?

एमाले उम्मेदवार सुहाङ नेम्बाङ, रास्वपा उम्मेदवार मिलन लिम्बू, कांग्रेस उम्मेदवार डम्बर खड्का र पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम ।

इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनमा कसले बाजी मार्ला! यो जिज्ञासा अहिले इलाम मात्र होइन, देशभर छ। 

२०६४ र २०७० सालका दुवै संविधानसभा अध्यक्षमा निर्विरोध निर्वाचित नेकपा (एमाले) नेता सुवासचन्द्र नेम्बाङले २०५६ सालयताका सबै चुनाव जितेको यो क्षेत्रमा आउँदो निर्वाचन सबै उम्मेदवारका लागि फरक अनुभवको हुँदैछ।

२०७९ साल मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचन मत परिणामले अबको उपनिर्वाचनमा सबैभन्दा सहज एमाले–नेकपा (माओवादी केन्द्र)का साझा उम्मेदवार सुहाङ नेम्बाङलाई देखिन्छ। तर, बितेका दुई वर्षको देशको राजनीतिक उतारचढाव र कोशी प्रदेशको नामकरणमा देखिएको असन्तुष्टिले इलाम क्षेत्र २ मा विशेष गरी एमालेलाई नै ‘टार्गेट’ गरेको छ।

इलामस्थित नेपाली कांग्रेसभित्रको बाहिरै छताछुल्ल किचलो, अर्को पाटोतिर मोडिएको संघीय राजनीतिक गठबन्धन, हत्तपत्त पुरानो दल नछाड्ने इलामे मतदाताको बानी र विगतको मत परिणामले अहिलेसम्मको मतको तराजु भने एमाले उम्मेदवार तिरै ढल्किएको अनुमान गर्नेको संख्या कम छैन।

कांग्रेस भने एमालेको तीन दशकको इतिहास भत्काउने दाउमा छ। गत प्रतिनिधिसभा निर्वाचनको मत परिणाम र झिनो मतान्तरले कांग्रेसमा जितको आशा धेरै देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुराना दलको ‘एकाधिकार’ तोडेर उदाउने तयारी गर्दैछ। पुराना दलप्रति मतदाताका वितृष्णालाई रास्वपा ‘सदुपयोग’ गर्ने कोसिस गर्दैछ। विगतका निर्वाचनभन्दा यसपटक पहिचान पक्षधर समूहका उम्मेदवार पनि प्रतिस्पर्धामा रहेकाले नतिजा कसको पक्षमा पर्छ भन्ने सहजै अनुमान गर्न सकिँदैन। 

यस्तो छ अङ्कगणित 

०७९ सालको निर्वाचनमा यो क्षेत्रमा एमाले नेता सुवासचन्द्र नेम्बाङ ३० हजार २० मत ल्याएर विजयी भए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार नौ सय छ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश सापकोटाको एक हजार तीन सय ८० मत आयो। कांग्रेसका खड्काले ल्याएको मत तत्कालीन सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी)लगायत सबैको हो। तर, एमाले त्यस बेला एक्लै चुनाव लडेर एक सय १४ मतको अन्तरले गठबन्धनलाई जितेको थियो।

प्रत्यक्षमा रुखमा भोट हालेको माओवादीले समानुपातिकमा पाँच हजार एक सय ५३ मत ल्यायो। प्रत्यक्षमा रुखमै भोट हालेको नेकपा (एस)ले पनि समानुपातिकमा पाँच सय ८६ मत पायो। समानुपातिकतर्फ एमालेले २६ हजार पाँच सय ६२, कांग्रेसले २२ हजार तीन सय ३३ र रास्वपाले चार हजार छ सय ८६ मत ल्याए। 

कांग्रेस उम्मेदवार खड्काले ल्याएको मतमा तत्कालीन गठबन्धनका दल माओवादी र नेकपा (एस)ले समानुपातिकमा ल्याएको मत घटाउने हो भने एमाले उम्मेदवारसँग झन्डै छ हजार मतको अन्तर छ। आउँदो निर्वाचनमा पहिलाको जस्तै मत खस्ने हो भने माओवादीसँग गठबन्धन गरेको एमालेको मत कांग्रेसको भन्दा पाँच हजार बढी हुनेछ। र, अहिले एमाले उम्मेदवारलाई नेपाल कम्युनिस्ट पार्टीले समेत समर्थन गरेको छ। नेपाल कम्युनिस्ट पार्टी आफ्नो करिब दुई हजार मत भएको दाबी गर्छ।

एमाले आफ्नो तीन दशकदेखिको विरासत जोगाउन जोडतोडले लागेको देखिन्छ। ‘०७९ सालमा अरू सबै दल अर्कापट्टि हुँदा पनि एमाले एक्लैले जितेको यो क्षेत्रमा अब हामी अघिल्लो निर्वाचनभन्दा सहज हिसाबले चुनाव जित्नेछौँ,’ एमाले  उम्मेदवार सुहाङ नेम्बाङ भन्छन्, ‘यसपटक एमाले एक्लै पनि छैन।’

एमालेलाई पहिचान र ‘वंशवाद’को डर

एमालेले उपनिर्वाचनमा उम्मेदवार बनाएका सुहाङ एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङका कान्छा छोरा हुन्। उनी यसअघि राजनीतिमा सक्रिय थिएनन्। सुवासको गत भदौ २६ मा निधन भएपछि एमालेले उनकै परिवारका व्यक्तिलाई टिकट दियो। पार्टी जिल्ला कमिटीले छ आकाङ्क्षीको नाम केन्द्रमा पठाउँदा केन्द्रले सुहाङका नाममा निर्णय गरेको थियो।

एमालेकै कतिपय नेता–कार्यकर्ताले पार्टीको कुनै जिम्मेवारीमै नभएको व्यक्तिलाई सुवासको छोरा भएकै कारण उम्मेदवार बनाउनुलाई ‘वंशवाद’को संज्ञा दिए। कतिपयले सार्वजनिक रूपमा आक्रोश पोखे। पार्टीमा लामो समय लागिपरेका नेतालाई पाखा लगाएर सुहाङलालाई टिकट दिँदाको असन्तुष्टि बाहिरै देखियो। माओवादीका कतिपय नेता–कार्यकर्ताले पनि सुहाङलाई उम्मेदवार बनाउनुलाई वंशवादको संज्ञा दिँदै विरोधको ‘चुरो’ बनाए।

माओवादीले जिल्ला कमिटीबाट केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमणलाई उम्मेदवार बनाउने गरी सिफारिस ग¥यो। केन्द्रबाट अन्तिम टुंगो नलाग्दै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच इलाम क्षेत्र २ मा एमाले उम्मेदवारलाई साझा मान्ने सहमति भएपछि शर्माको उम्मेदवारी सिफारिस निष्क्रिय बन्यो। माओवादी र एमाले सुहाङलाई जिताउने प्रतिबद्धता जनाए।

तत्कालीन १ नम्बर प्रदेशलाई प्रदेशसभाले पोहोर फागुन १७ मा ‘कोशी’ नामकरण ग¥यो। प्रदेशमा सबैभन्दा ठूलो दल रहेको एमालेसहित कांग्रेस, माओवादीलगायत दलको दुई तिहाइभन्दा बढी मतले पारित गरेको नाममा पहिचान पक्षधर समूहले विरोध जनाए। एमाले नेतृत्वमा रहेको प्रदेश सरकारमाथि नाम सच्याउन दबाब दिएपछि माओवादी कोशी नामबाट पछि हट्यो, सरकार छाड्यो र यो नाम सच्याउनुपर्ने भन्दै आन्दोलनमै होमियो। प्रदेशका १४ वटै जिल्लाका कांग्रेस सभापतिले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै कोशी नाम साझा नभएको भन्दै सच्याउन माग गरे।

पहिचान पक्षधरको आन्दोलनले उत्कर्ष रूप लियो। विराटनगरमा भएको आन्दोलनमा प्रहरीको गोली लागेको आन्दोलनकारीको मृत्युसमेत भयो। आक्रोशित आन्दोलनकारीले विशेष गरी कोशी सरकारको नेतृत्व गरिरहेको एमालेविरुद्ध आन्दोलन गरे। आन्दोलनमा एमालेका प्रदेश तहका मात्र होइन, केन्द्रीय तहका नेतासमेत आन्दोलनकारीको निसानामा परे। इलाम आउँदै गरेको एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, एमाले सचिव योगेश भट्टराई, मुख्यमन्त्री कार्कीलगायत एमाले नेताका सवारी साधनमाथि ढुंगामुढासमेत भयो। प्रदेशसभामा कोशी प्रदेशको नाम प्रस्ताव गरेका एमाले केन्द्रीय सदस्य तथा इलामे नेता रामबहादुर रानामगरसमेत आन्दोलनकारीको निसानामा परे।

पहिचान पक्षधरको यो आन्दोलनले अहिले इलाम क्षेत्र २ मा पहिचान पक्षधरको आफ्नै उम्मेदवार खडा गर्नुले पनि एमाले उम्मेदवारलाई अबको निर्वाचनमा प्रत्यक्ष असर पार्ने देखिएको छ। पहिचान पक्षका उम्मेदवार पनि एमालेकै पूर्व नेता भएकाले पहिचान पक्षमा एमालेकै मत बढी ‘काटिने’ डर एमालेमा देखिन्छ। एमाले जिल्ला तहका एक नेता भन्छन्, ‘पहिचानको आन्दोलनले अरू दललाई भन्दा एमालेलाई बढी असर गर्न भन्ने हाम्रो पनि अनुमान हो,’ ती नेताले दाबी गरे, ‘तर, पछिल्लो समय यो सोचाइमा पनि परिवर्तन आएको छ, एमाले पहिचानकै पक्षमा छ भन्ने मतदाताले बुझ्दै गएका छन्।’

कांग्रेसभित्र किचलो

यसपटक कांग्रेस एक्लै चुनावमा जाँदै छ। माओवादी, समाजवादीलगायत दल पनि सँगै हुँदा झिनो ९एक सय १४० मतान्तरले पराजित कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्का नै पुनः उम्मेदवार बनेका छन्। खड्का समाजसेवीका रूपमा चिनिन्छन्। 

कोरोना कहरका बेला सर्वसाधारणलाई खाद्यान्न वितरण होस् वा चाडबाडमा गाउँ–गाउँमा आयोजना गरिएका फुटबल र अन्य प्रतियोगिता, खड्का कुनै न कुनै सहयोगका लागि युवासँग जोडिने गरेका छन्। गाउँघर र सामाजिक क्षेत्रमा आयोजना गरिने धार्मिक कार्यक्रममा समेत रकम दान दिएर खड्का मतदातासँग जोडिएका छन्। यही सम्बन्धले खड्कालाई यसअघि गठबन्धनका मात्रै नभएर अरू दलका सर्वसाधारणले समेत मत दिएको चर्चा चलेको थियो। नभन्दै, परिणाम पनि झिनो मतान्तरमा आएपछि यो अनुमान पुष्टि भएको कांग्रेसजन नै चर्चा गर्छन्।

तर, ०७९ सालको निर्वाचनमा पराजित भएपछि खड्काले दिएको अभिव्यक्ति र आफ्नै दलका इतर समूहप्रति गरेको पटाक्षेपले उनी निकै आलोचित भए। निर्वाचन समीक्षा बैठकमा आफ्नै दलका अर्को खेमा नेता–कार्यकर्ताले धोका दिएको भन्दै खड्का धरधरी रोएको भिडियो सार्वजनिक भयो। उनले कतिपय अभिव्यक्तिमा आफूले निर्वाचनका लागि गरेको खर्च नै ‘सदुपयोग’ हुन नसकेकोसमेत सार्वजनिक गरेका थिए। भिडियोमा उनले भनेका थिए– ‘मलाई काखमा राखेर छुरा रोपिएको छ।’ उसो त, मतगणना स्थलमै खड्काले आफ्नो पक्षमा नतिजा नआउने देखेपछि आफ्नै दलको अर्को खेमाका नेता–कार्यकर्तालाई सबैले सुन्ने गरी कतिपयको नामै किटेर गाली गरेका थिए। त्यसपछि उनले आफूलाई हराइएको भन्दै निर्वाचन आयोगमा छानबिनको मागसमेत गरेका थिए।

खड्काको यो अभिव्यक्तिले कांग्रेसकै अर्को समूह चिढियो। कतिपय नेता–कार्यकर्ता खड्का पराजित भएकैमा खुसी देखिन थाले। पार्टीभित्रको किचलो सार्वजनिक रूपमा झगडामै परिणत भयो। यही किचलोका कारण यसपटक पनि खड्कालाई उपनिर्वाचनको टिकट ल्याउन निकै हम्मे भयो।

चैत ७ मा जिल्ला समितिबाट उम्मेदवारका लागि क्षेत्रीय समितिबाट आएकै सात जनाको नाम सिफारिस भयो तर केन्द्रले उम्मेदवारको नाम चैत २२ मा मात्र टुंगो लगायो। एमालेले चैत ११ र रास्वपाले चैत १५ मा उम्मेदवार टुङ्ग्याएर मतदाताका घर–घर पुगिसक्दा कांग्रेस उम्मेदवार छनोटको किचलोमै थियो। उम्मेदवारका आकांक्षी काठमाडौं पुगेका थिए। यतिसम्म कि, इलाममा हुने उपनिर्वाचनको उम्मेदवार छान्न कांग्रेसको संसदीय बोर्ड बैठकमा केन्द्रका दुई खेमबाबीच बैठक बहिष्कारसम्मको अवस्था आयो। सभापति शेरबहादुर देउवाले खड्काको र महामन्त्री गगन थापाले भेषराज आचार्यको नाममा अडान लिएपछि बोर्ड बैठक पटक–पटक बिना निष्कर्ष टुङ्गिएको थियो। अन्ततः देउवाकै अडानमा खड्का उम्मेदवार बने।

उपनिर्वाचन हुन लागेको इलाम क्षेत्र २ मा देउवा पक्षको प्रभाव शेखर कोइराला पक्षको भन्दा कमजोर छ। यो निर्वाचन क्षेत्रका पाँच पालिकामध्ये इलाम नगरपालिकाका मेयर केदार थापा र चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङसमेत कांग्रेसकै छन्। तर, उनीहरू दुवै देउवा इतर हुन्। यो क्षेत्रका कांग्रेस क्षेत्रीय सभापति डिकेन्द्र इदिङगो पनि देउवा इतर नै हुन् भने इलामबाटै कोशी प्रदेशको मन्त्रीसमेत रहेका कांग्रेसका प्रभावशाली युवा नेता समशेर राईसमेत देउवा खेमाका होइनन्। स्रोतका अनुसार उनीहरू सबै यसपटक कांग्रेसको टिकट खड्कालाई दिनुपर्ने पक्षमा थिएनन्।

खड्का उम्मेदवार बनेपछि कांग्रेसभित्रको शेखर पक्षका धेरै नेता–कार्यकर्ता अहिले पनि असन्तुष्टि व्यक्त गरिरहेका छन्। जिल्ला तहका कतिपय कांग्रेस नेता–कार्यकर्ताले सामाजिक सञ्जालमा समेत असन्तुष्टि व्यक्त गरे। कतिपय कांग्रेसजनले नै आफ्नो पार्टी अबको निर्वाचनमा कमजोर हुने चिन्तासमेत व्यक्त गरे।

कांग्रेस अब एमालेको तीन दशकयताको ‘लालकिल्ला’ तोड्न चाहन्छ। ‘यसपटक कांग्रेसको पक्षमा वातावरण बनेको छ,’ कांग्रेस उम्मेदवार खड्का भन्छन्, ‘अब पार्टीभित्र विवाद छैन, पार्टीभित्रको एकता, मैले मतदातासँग जोडेको सम्बन्ध, सकेसम्म विगतमा मतदातालाई गरेको सेवा र युवाको अग्रसरताले हामी यसपटक लालकिल्ला तोड्नेमा ढुक्क छौँ।’ उनी यो पटक यहाँका मतदाताले कांग्रेसलाई जिताउनेमा शंका नगर्न आग्रह गर्छन्। ‘उम्मेदवार जो आएपछि कांग्रेसले पार्टीलाई जिताउने हो,’ उनी भन्दैछन्, ‘यहाँ कांग्रेसले जित्नु भनेको देशभर राम्रो म्यासेज जानु हो। यो निर्वाचनले सरकार बनाउँदैन, ढाल्दैन तर निकै महत्त्वपूर्ण चाहिँ छ।’

पहिचान आन्दोलन

०७९ सालभन्दा आउँदो उपनिर्वाचन अलि फरक हुँदैछ। किनभने, २०७९ फागुन १७ मा कोशी प्रदेशको नामकरण भएपछि यो नाममा असन्तुष्ट हुँदै प्रदेशभर झाँगिएको पहिचान आन्दोलनको मुख्य केन्द्र पनि इलाम क्षेत्र २ नै हो।

प्रदेशकै पहिचान आन्दोलनको अगुवाइ गरिरहेका संघर्ष समिति संयोजक डकेन्द्रसिंह थेगिम नै अहिले यो क्षेत्रबाट स्वतन्त्र रूपमा चुनावी मैदानमा छन्। र, उनलाई ठूलो संख्यामा रहेका लिम्बू समुदायको संस्था किरात याक्थुङ चुम्लुङसहित किरात राई यायोक्खालगायत ४१ समूह र संस्थाको समर्थन छ। पूर्व शिक्षक लिम्बू एमालेका पूर्व नेता पनि हुन्।

कांग्रेस, एमाले र रास्वपाललगायत दलमा पनि लिम्बू, राई समुदायका मतदाताको संख्या ठूलो भएकाले उनीहरूको मत सबै दलका लागि महत्त्वपूर्ण देखिन्छ। ‘पहिचान पक्षधरको मत निकै राम्रो रहेकाले यस पटकको जित पहिचान पक्षधरकै हुन्छ,’ उम्मेदवार थेगिमले भने, ‘यो आन्दोलनमा राई, लिम्बू मात्र छैनन्, पहिचानको महत्त्व बुझेका गैर जनजाति समुदायसमेत हाम्रो पक्षमा छन्।’ 

इलाम क्षेत्र २ मा किरात धर्मावलम्बीको धार्मिक स्थल लारुम्बा पनि पर्छ। धर्मगुरु आत्मानन्द लिङ्देनको बसोबास रहेको यो ठाउँमा जुनसुकै निर्वाचन हुँदा र जो उम्मेदवार भएपनि सुरुमा धर्मगुरुलाई भेट्न पुग्ने गरेको देखिन्छ। धर्मगुरुबाट पनि ‘आशीर्वाद’ लिने आशा उम्मेदवारमा देखिन्छ। ‘जुनसुकै निर्वाचनमा पनि उम्मेदवारहरू प्रायः सुरुमै यहाँ आउँछन्,’ धर्मगुरुका एक अनुयायी भन्छन्, ‘तर, कसैसँगको भेटमा राजनीतिक कुरा हुँदैन, गुरुको दर्शन–भेट मात्र हुन्छ।’

उदाउन खोज्दै रास्वपा 

इलाम क्षेत्र २ मा रास्वपाका मिलनकुमार लिम्बू उम्मेदवार छन्। स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा जाने प्रचार गरिरहेका लिम्बूलाई रास्वपाले उम्मेदवार बनाएको हो। २०७९ सालको निर्वाचनमा प्रत्यक्षमा एक हजार तीन सय ८० मत ल्याएको रास्वपा यो पटक विजयी बन्ने दाबीसहित चुनावी मैदानमा होमिँदै छ।

लामो समय एमालेले विजय हासिल गरेको यो क्षेत्रमा विकास निर्माणको नारा लिएर रास्वपा इतिहास बनाउने योजनामा देखिन्छ। उम्मेदवार मिलन भन्छन्, ‘देशलाई सुशासन र समृद्धि पथमा लैजाने रास्वपाको अभियानमा इलामबासीले साथ दिनुहुनेछ,’ उनले भने, ‘लामो समयदेखि एउटै दलमा मतदान गरिरहेका मतदाताले यो पटक हामीलाई अवसर दिएर विजयी बनाउनुहुनेछ।’

इलाम क्षेत्र २ मा तीन दशकदेखि एमालेले नै विजय हासिल गरिरहेकाले यहाँका मतदाताले हत्तपत्त नयाँ चुनाव चिह्न नरोज्नेमा एमाले मात्र होइन, कांग्रेससमेत ढुक्क छ। यसको फाइदा एमाले र कांग्रेसले नै आशा गरेका छन्। तर, केही युवापंक्तिमा अहिले एमालेले सुवास नेम्बाङकै छोरा सुहाङलाई टिकट दिनु र कांग्रेसभित्र ठूलो पंक्ति असन्तुष्ट रहँदारहँदै पनि खड्काले नै टिकट पाउनुको फाइदा लिने दाउमा छ रास्वपा। ‘पुराना दलमा असन्तुष्ट युवाको संख्या धेरै छ,’ मिलन भन्छन्, ‘ती युवाले पनि एक पटक परीक्षण गर्ने रास्वपालाई नै हो।’

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनका लागि १२ दल र आठ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। जनमत पार्टीका प्रेमबहादुर लिम्बू, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, मंगोल नेसनल अर्गनाइजेसनका मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) समाजवादीबाट जितबहादुर राई उम्मेदवार बनेका छन्। 

राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयन्तविक्रम साह, राप्रपा नेपालका गणेशबहादुर चौहान, नेपाली जनता दलका रेशमबहादुर सुनार नेपालीले उम्मेदवारी दर्ता गराए। स्वतन्त्रबाट डाकप्रसाद गौतम, मनोज निरौला, अर्जुनकुमार साही, केशवकुमार चापागाईं, दीपेश बोहोरा, योगेन्द्र गुरुङ र राज बस्यालले उम्मेदवारी दर्ता गराएका छन्।

प्रकाशित: २७ चैत्र २०८० १७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App