१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘संसदीय छानबिन समिति’बाट पछि हटेन काँग्रेस, बालुवाटारमा फेरी छलफल सुरु

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको संसदीय दलको बैठकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथिको आरोपमा संसदीय छानबिन समिति बनाएरै छानबिन गर्नुपर्ने निर्णय गरेको छ।

गृहमन्त्री लामिछाने माथि सहकारी रकम अपचलनमा संलग्न रहेको आरोप छ।

मंगलवार संसद् भवनमा बसेको संसदीय दलको बैठकले कांग्रेस ‘संसदीय छानबिन समिति’बाट पछाडि नहट्ने निर्णय गरेको हो।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेसको माग बमोजिम सहकारीको रकम अपचलन भएको विषयमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेका जानकारी दिएका हुन्।  

‘कांग्रेसले उठाएको मागप्रति सरकार गैरजिम्मेवार भए संसद्का काम कारबाही रोकिएको जिम्मा सरकारले लिनुपर्छ’, लेखकले चेतावनी दिए। संसदीय बैठकले वर्तमान सरकार सहकारीबाट पीडित भएका लाखौँ नागरिकप्रति गम्भीर र संवेदनशील हुन नसकी गैर जिम्मेवार भएको ठहर पनि गरेको छ।

बैठकले गरेको निर्णय बारे जानकारी दिँदै लेखकले सरकारको बहालवाला मन्त्रीहरू समेत सहकारीको रकम अपचलन गर्ने कुरामा संलग्न देखा परेको अवस्थामा सरकार असंवेदनशील भएको आरोप लगाए।

उनले प्रारम्भदेखि नै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलनको काममा संलग्न भएको कुरालाई लिएर निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धान गर्न माग गरेको उल्लेख गरे।

यसैबीच कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि सभामुख देवराज घिमिरेसहित सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरू विवाद टुङ्ग्याउन बालुवाटारमा छलफल गरिरहेका छन्। छलफलमा  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा सहभागी छन्।

काँग्रेस संसदीय दलको बैठकले आपसमा धार्मिक, सामाजिक, सांस्कृतिक विपरीत विद्वेष फैल्याउने कुनैपनि खालका तत्त्वहरू अनुचित रहेको पनि ठहर गरेको छ । सुनसरीमा विषयलाई लिएर भएको धार्मिक झडपप्रति गम्भीर रहेको बताएको छ।

प्रकाशित: २७ चैत्र २०८० ११:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App