२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस, एमाले र माओवादीबाट परिवर्तनको आशा गर्नु गोरुको टाङ् मुनी बाल्टी थाप्नु सरह हो: लिङ्देन

विराटनगरको महेन्द्र चोकमा आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन । तस्बिर: विनोद सुवेदी/नागरिक

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ सम्झौता गरेर देशलाई अगाडि बढाउन प्रमुख राजनीतिक दलहरूलाई आग्रह गरेका छन्। 

आज विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यथास्थितिमा देश अघि बढ्न नसेक्ने भएकाले नयाँ सम्झौता गरेर अघि बढ्न प्रमुख दलहरूलाई आग्रह गरेका हुन्। 

लिङ्देनले चैत २७ गते राप्रपाले काठमाण्डौँमा शक्ति प्रदर्शन गर्न लागेको बताउँदै उक्त कार्यक्रम अघि नै सम्झौताका लागि दलहरूलाई आग्रह गरेका हुन्। लिङ्देनले भने‘ राजा पनि रहने र दलहरूको स्थान पनि रहने गरी नयाँ सम्झौता गरेर अघि बढौँ।’ 

लिङ्देनले देशलाई बन्धक बनाई राखे राप्रपाले सुरु गरेको आन्दोलन विद्रोहमा परिणत हुने चेतावनी पनि दिए। लिङ्देनले बेलैमा नसोचेर देशलाई बन्धक बनाई राख्न खोजे दलहरूले भाग्नुको विकल्प बाँकी नरहने दाबी गरे। 

लिङ्देनले भने, ‘देशलाई यथास्थितिमा बन्धक बनाइ राख्न खोजे जनताको आक्रोश सडकमा उत्रिएपछि दलहरूले देश छाडेर भाग्नुको विकल्प बाँकी रहँदैन।’

 लिङ्देनले कांग्रेस, एमाले प्रचण्डको पुच्छर भएर झिँगा धपाउँदै हिँडिरहेको बताए । लिङ्देनले प्रमुख राजनीतिक दलहरू कांग्रेस एमाले र माओवादीबाट परिवर्तनको आशा गर्नु गोरुको टाङ् मुनी बाल्टी थापेर दूधको आशा गर्नु जस्तै रहेको टिप्पणी गरे। 

लिङ्देनले चैत २७ गते काठमाण्डौँमा राप्रपाले आयोजना गर्न लागेको प्रदर्शनको प्रचारका लागि देशैभर राप्रपाले सभाहरू आयोजना गरिरहेको जानकारी दिए। कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले बिपी कोइरालाको सच्चा अनुयायी राप्रपा भएको दाबी गरे। 

उनले बिपीले राजासहितको प्रजातन्त्रको परिकल्पना गरेको बताउँदै बिपीकै भाइ गिरिजाप्रसाद कोइरालाले प्रचण्डको पछि लागेर राजालाई हटाएको बताए। मिश्रले राप्रपाले राजासहितको प्रजातन्त्रका लागि आन्दोलनको सुरूवात गरेको बताउँदै देशको पहिचान, सनातन धर्म, संस्कृतिको संरक्षणका लागि राजासहितको प्रजातन्त्र अपरिहार्य भएको स्पष्ट पारे।   

प्रकाशित: १९ चैत्र २०८० १७:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App