१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

बागमतीका मुख्यमन्त्री आज विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले आज विश्वासको मत लिँदैछन्।

केन्द्रमा भएको सत्ता समिकरण परिवर्तनसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन्।

केन्द्रमा बनेको नयाँ सत्ता समिकरणमा आबद्ध दलहरु मिल्दा समेत एक मत नपुग्ने अवस्थामा २ सांसद् रहेको हाम्रो नेपाली पार्टीलाई विवादकाबीच मन्त्री पद दिएर सरकारमा सहभागी गराएका उनले विश्वासको मत लिने तयारी गरेका हुन्। तर, मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत नपाउने स्थिति बनेको छ।

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले मुख्यमन्त्री जम्कट्टेललाई यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेपछि विश्वासको मत नपाउने अवस्था बनेको हो। गत बिहीवार हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका मुख्यमन्त्रीले शनिबार साँझ नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका थिए।

आन्तरिक विवादमा रहेको हाम्रो नेपाली पार्टीलाई सरकारमा सहभागी गराएर आफ्नो पक्षमा बलियो आधार बनाएका जम्कट्टेले विश्वासको मत नपाउने अवस्था आइपुगेको हो। सत्ता साझेदार दल नेकपा (एस)ले मुख्यमन्त्री जम्कट्टेललाई यथास्थितिमा विश्वासको मत नदिने बताएपछि प्रदेशको राजनीति थप तरंगित बनेको छ।

आइतवार बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले जम्कट्टेललाई अहिलेकै अवस्थामा विश्वासको मत दिन नसकिने निर्णय गरेपछि मुख्यमन्त्री जम्कट्टेल थप दवावमा परेका छन्।

दलका नेता कृष्ण शर्मा खनालले सबै प्रदेशमा भागबन्डा नटुंगिएको अवस्थामा यहाँ विश्वासको मतको पक्षमा उभिन सक्ने अवस्था नभएको बताएका छन्। माओवादी केन्द्र र एमालेले जे निर्णय गरेपनि त्यसलाई मान्नपर्छ भन्ने पक्षमा आफूहरु नरहेको उनले बताए।

‘केन्द्रमा गठबन्धनको विषय अझै टुङ्गिएको छैन। विश्वासको मत यहाँ मात्र नभई अन्य प्रदेशमा पनि लिनुपर्ने अवस्था छ’, नेता खनालले भने, ‘प्रदेशको भागबण्डा नटुङ्गिएसम्म हामीले बागमतीमा विश्वासको मत दिनसक्ने अवस्था भएन।’ मुख्यमन्त्री जम्कट्टेलले आज १ बजे प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची रहेको छ।

उनलाई बहुमतका लागि ५६ मत आवश्यक रहेको छ। प्रदेश सभामा एमालेको २७, माओवादी केन्द्रको २१, नेकपा (एस)को ७, हाम्रो नेपाली पार्टीको २ मत छ। यदी एकीकृत समाजवादीले मत दिएन भने जम्कट्टेललाई विश्वास मत नपुग्ने अवस्था रहेको छ।

हाम्रो नेपाली पार्टीले समेत आफ्ना सांसद् बज्राचार्यलाई राजनीतिक अपहरण गरेको आरोप लगाउँदै कारबाही गर्ने चेतावनी दिँदै आएको छ। यस्तो अवस्थामा यो पार्टीले पनि के गर्छ अझै निक्र्यौल भैसकेको छैन। कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन्।

कांग्रेसले मुख्यमन्त्रीलाई मत नदिने  

नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको विपक्षमा मतदान नगर्ने भएको छ। विश्वासको मत लिने तयारीमा रहेका जम्कट्टेललाई मत नदिन कांग्रेस बागमती प्रदेश समितिले निर्देशन दिएको हो।

कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा आईतबार काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न अनुरोध गर्दै विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो।

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता जम्कट्टेललाई २०७९ माघ ३ गते विश्वासको मत दिएको र २०८० फागुन २३ गते प्रदेश सरकारबाट बाहिरिँदै समर्थन समेत फिर्ता लिएकोले विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दललाई निर्देशन दिएको कांग्रेस बागमती प्रदेशका मुख्यसचिव राजु नेपालले जानकारी दिए।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहे अनुसार जम्कट्टेलले विश्वासको मत लिने तयारी गरेका हुन्। ११० सदस्यीय बागमती प्रदेशसभामा जमकट्टेलले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन्।

प्रकाशित: १९ चैत्र २०८० ०७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App