१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण गर्ने तीन जनालाई राप्रपाले गर्‍यो कारबाही

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्न तीन जनालाई निलम्बन गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अनुशासन समितिको सिफारिसका आधारमा चार वर्षका लागि निलम्बित गरेका हुन्।

अध्यक्ष लिङ्देनले आइतबार घटनामा संलग्न भएको आरोपमा पार्टी उपाध्यक्ष विक्रम पाण्डेका स्वकीय सचिवसमेत रहेका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं –४ का क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई निलम्बन गरिएको हो।

गत फागुन २७ गते आइतबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समितिको बैठक चलिरहेको समयमा कार्यालय हाताभित्र श्रेष्ठमाथि कुटपिट भएको थियो। पाण्डेको योजनामा श्रेष्ठमाथि आक्रमण गरिएको आरोप छ। यद्यपि राप्रपाले उनको विषयमा कुनै निर्णय लिएको छैन। श्रेष्ठले घटनालाई लिएर प्रहरीमा उजुरी पनि गरेका छन्।

‘उपर्युक्त विषयमा मिति २०८०–११–२७ गते कार्य सम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै सांघातिक आक्रमणमा तपाईंको संलग्नता देखिएको र उक्त कार्य र व्यवहार पार्टीको हित र स्वार्थ विपरीत, गैरजिम्मेवारपूर्ण एवं अनुशासनहीन देखिएकोले राप्रपाको विधान (संशोधन सहित) २०४८ को दफा ३० (ड) बमोजिम ४ (चार) वर्षका लागि निलम्बन गर्न केन्द्रीय अनुशासन समितिले २०८०।११।३० मा सिफारिस गरेको छ,’ अध्यक्ष लिङ्देनले निलम्बन गरेको पत्रमा उल्लेख छ।

यसैबिच, सरकारसमक्ष ४० बुँदे माग अघि सार्दै आन्दोलनमा होमिएको राप्रपाले चैत २७ गते काठमाडौँमा वृहद जनप्रदर्शन गर्ने जनाउँदै मधेस प्रदेश झरेको छ। चैत ५ गतेदेखि ८ गतेसम्म तराई–मधेसका आठ जिल्लामा उसले मधेस यात्रा गर्ने भन्दै नेताहरू तराई झरेका हुन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा उपाध्यक्ष बुद्धिमान तामाङ र रवीन्द्र मिश्र, महामन्त्री धवलशमसेर राणा, प्रवक्ता ज्ञानेन्द्र शाही, मधेस प्रदेशका अध्यक्ष भरत गिरी, प्रतिनिधिसभा सदस्य बिना जयसवालसहितका नेताहरूले सोमबार जनकपुरको जानकी मन्दिरमा पूजाआजा गरी मधेस प्रदेश यात्रा प्रारम्भ गर्ने छन्।

चैत ६ गते रौतहटको गौरमा कार्यकर्ता भेला र वीरगन्जमा आमसभा गर्नेछ भने साँझ उद्योग वाणिज्य संघको सभाकक्षमा वीरगन्जका उद्योगी–व्यवसायीसँग छलफल, चैत ७ गते बाराको निजगढमा आमसभा र बर्दिबासमा महोत्तरीको अगुवा कार्यकर्ता र चैत ८ गते सिराहाको लाहानमा कार्यकर्ता भेला गरेर सप्तरीको बोधेबसान नगरपालिकामा आमसभा गर्ने तालिका छ।

प्रकाशित: ४ चैत्र २०८० १९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App