पूर्वपञ्चहरूको उपमा पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फेरि विभाजनको संघारमा उभिएको छ । पुराना अन्य दलहरूभित्रको आन्तरिक कलह सतहमा आइरहेका बेला पटकपटक एकता र विभाजनको गोलचक्करमा फसेको राप्रपा फेरि विभाजन उन्मुख भएको हो ।
राप्रपाको २०७८ सालको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएसँगै पार्टीबाट अलग भएका कमल थापा गत पुस १६ गते पुरानै घरमा फर्केका थिए । थापाको प्रवेशसँगै पार्टी बाहिर रहेका सबै शक्ति समेटिएको दाबी राप्रपाका नेताहरूले गर्दै आएका छन् । तर पार्टी नेतृत्वको कार्यशैलीप्रति नेता धवलशमशेर राणासहितको समूह असन्तुट थियो ।
फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राप्रपाको नराम्रो पराजयसँगै आन्तरिक विवाद विस्तारै चुलिँदै गएका बेला राणाले आइतबार विज्ञप्ति जारी गरी आफू देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणमा लाग्ने बताएका छन् । उनले राष्ट्रवादी शक्ति निर्माणको नयाँ अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेका छन् । उनले भनेका छन्, ‘देशलाई माया गर्ने र देशको समृद्धि चाहने राष्ट्रवादीसहित युवा पुस्तालाई यही नयाँ अभियानमा सहभागी हुन आह्वान गर्छु ।’
राप्रपालाई विगत चार वर्षमा जनभावनाअनुकूल अघि बढाउने प्रयास आफूले गरेको तर विरोधाभाष र सैद्धान्तिक द्विविधाबिच गलत बाटोमा हिँड्ने हिँडाउने नेतृत्वको क्रमले राप्रपा निर्वाचनमा जनताबाट दण्डित भएको बताएका छन् । ‘राप्रपामा आबद्ध साथीहरूलाई यही बाटो सही लाग्छ भने त्यतै रहन शुभकामना छ, कुनै वैरभाव छैन । होइन, स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर, हाम्रा मान्यताहरुलाई सही लक्ष्य दिने चाहना हो भने एकजुट भएर अघि बढ्न सबै राष्ट्रवादी मित्रहरुलाई हार्दिक आह्वान गर्छु,’ उनले विज्ञप्तिमार्फत भनेका छन् ।
राणासहितका नेताहरू अलग हुने तयारी गरेपछि राप्रपाका शीर्ष नेताहरूले शनिबार नै पार्टी एकता जोगाउनुपर्नेमा जोड दिएका थिए । अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङसहितले पार्टी एकता जोगाउने प्रयास गरिरहेको निकट एक नेताको दाबी छ । ‘पार्टीका नेताहरूले पटकपटक एकता जोगाउने प्रयास गरिरहनुभएको छ,’ ती नेताले भने, ‘तर उहाँहरूले पनि निरन्तर धम्क्याउने र घुक्र्याउने गर्दा समस्या भएको छ ।’
मुलुकमा २०४६ सालको राजनीतिक परिवर्तनपछि पूर्वपञ्च नेताहरू सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द मिलेर पार्टी खोल्ने निष्कर्षमा पुगेका थिए । पञ्चायतकालमा पटकपटक प्रधानमन्त्री बन्ने अवसर पाएका थापा र चन्द मिलेर पार्टी गठन गर्दानगर्दै उनीहरूबिच नै मतभेद भएको जानकार बताउँछन् । अन्तिम चरणमा नेतृत्वको विषयमा थापा र चन्दबिच विवाद उत्पन्न भएपछि २०४७ जेठ १५ गते राप्रपा (चन्द) र राप्रपा (थापा) समूह गरी दुई पार्टी स्थापना भएका थिए ।
२०४८ सालमा भएको संसदीय निर्वाचनमा चन्द र थापा समूहले राम्रो नतिजा ल्याउन सकेनन् । त्यतिबेला चन्द समूहले ३ र थापा समूहले एक सिट जित निकालेका थिए । विभाजनबाट फाइदा नभएपछि २०४८ माघमा दुवै समूहबिच एकता भयो । २०५१ सालको निर्वाचनमा राप्रपाले २० सिट जित्यो । २०५२ सालमा राप्रपाको समर्थनमा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा प्रधानमन्त्री भए । तर राप्रपाभित्रको चन्द समूहले एमालेलाई साथ दियो । देउवा सरकार ढलेपछि नेकपा एमालेको समर्थनमा २०५४ सालमा चन्द प्रधानमन्त्री भए । पछि थापाले कांग्रेससँग मिलेर चन्द नेतृत्वको सरकार ढालेर उनी आफैं प्रधानमन्त्री भए । कमल थापाले पार्टीभित्र गुट परिवर्तन गरी थापालाई साथ दिए । चन्द र थापा समूहबिच विवाद बढ्दै जाँदा राप्रपा विभाजित भयो । २०५६ सालको निर्वाचनमा राप्रपा थापा समूहले ११ सिट जित्यो भने राप्रपा चन्द समूहले कुनै पनि सिट जित्न सकेन । २०५७ सालमा फेरि राप्रपाका दुवै समूह एक भए । २०५९ सालमा राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री देउवालाई बर्खास्त गरेर चन्दलाई प्रधानमन्त्री बनाए । यो कदममा कमल थापाले ज्ञानेन्द्रलाई साथ दिए ।
२०६२ साल पुसमा कमल थापाले पार्टी विभाजन गरी राप्रपा नेपाल गठन गरे । सूर्यबहादुर थापाले पनि राप्रपाबाट अलग भएर राष्ट्रिय जनशक्ति पार्टी (राजपा) गठन गरे । सूर्यबहादुर थापा फेरि प्रधानमन्त्रीको जिम्मेवारीमा पुगे । २०६४ सालको निर्वाचनमा पूर्वपञ्च सम्मिलित तीनवटै घटकले भाग लिए । त्यो निर्वाचनमा राप्रपाले ८ सिट, राष्ट्रिय जनशक्ति पार्टीले ३ र राप्रपा नेपालले ४ सिट जिते । निर्वाचनमा पराजयपछि राप्रपा र राजपाबिच २०७० सालमा एकता भयो ।
२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा पशुपतिशमशेर राणा नेतृत्वमा रहेको राप्रपाले प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ नौ गरी १२ सिट जित्यो । कमल थापा नेतृत्वको राप्रपा नेपालले २४ र मनोनीत एक गरी २५ सिट जित्यो । सोही साल मंसिर ५ गते फेरि राप्रपा र राप्रपा नेपालबिच एकता भयो । तर सरकारमा सहभागीताका विषयले राप्रपा फेरि विभाजन भयो । राणाले २०७४ सालमा राप्रपा प्रजातान्त्रिक गठन गरे । २०७६ फागुनमा राप्रपाका तीन घटक (राणा, थापा र लोहनी) बिच एकता भयो । सूर्यबहादुर थापाका छोरा सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गरे । २०७८ मंसिर १९ गते कमल थापाले राप्रपाबाट अलग भई फेरि राप्रपा नेपाल गठन गरे । कमल थापा गत पुस १६ मा पुरानै राप्रपामा फिर्ता भए । अहिले आएर धवलशमशेर राणासहितका नेताहरू फेरि राप्रपाबाट अलग भएका छन् ।
प्रकाशित: १७ जेष्ठ २०८३ १९:३३ आइतबार





