१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशी प्रदेश सरकार नछाडे हटाउने एमालेको चेतावनी

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले राजीनामा दिएर मार्ग प्रशस्त नगरे हटाउने एमालेले चेतावनी दिएको छ।

नेकपा एमाले संसदीय दलले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी मुख्यमन्त्रीले  सरकारबाट राजीनामा दिन आलटाल गरे आवश्यक कदम चालेर हटाउने चेतावनी दिएको हो।

पत्रकार सम्मेलनमा एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले अल्पमतमा परेर पनि राजीनामा नदिए कानुन बमोजिम हटाउने स्पष्ट पारे। भण्डारीले भने ‘अल्पमतमा परेर पनि जबर्जस्ती गर्न खोज्नु भयो भने संविधानको सर्वोच्चता, सर्वोच्च अदालतको आदेश र कानुन बमोजिम उहाँलाई हटाउँछौँ।’ उनले संघीय सरकारको गठबन्धनको आधारमा कोशीमा मुख्यमन्त्री केदार कार्की अल्पमतमा परिसकेको भण्डारीको दाबी छ। पुरानो  गठबन्धन भत्किएर अर्को गठबन्धन बनिसकेपछि मुख्यमन्त्री कार्की विरुद्धमा  प्रदेशसभामा ५८ मत पुगिसकेको भण्डारीले बताए। केन्द्रबाट कोशी प्रदेशको नेतृत्व कुन पार्टीले गर्ने भन्ने टुंगो नलागेका कारण नयाँ सरकार गठनका लागि ढिलाई भइरहेको भण्डारीले बताए। ‘सम्भवतः आज वा भोली केन्द्रबाट टुंगो लाग्ने बित्तिकै प्रक्रिया अगाडि बढ्छ’ भण्डारीले भने।

केन्द्रले निर्णय गरेपछि माओवादी र एकीकृत समाजवादीका मन्त्रीहरुले राजीनामा दिने र मन्त्रीहरूले छोडेको २४ घण्टाभित्रमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउने भण्डारीले बताए। नयाँ सरकार गठनका लागि कोशी प्रदेशमा गठबन्धनका ४ वटा पार्टीसँग स्पष्ट बहुमत रहेका कारण संविधानको धारा १६८ को उपधारा २ अनुसारको सरकार पनि बनाउन सकिने भण्डारीको दाबी छ। ‘कुन धारा अनुसार सरकार गठन गर्ने भन्ने विषय प्रदेश प्रमुखमा भर पर्ने छ’भण्डारीले भने संविधानको धारा १६८ को उपधारा ५ बाट मात्रै हैन उपधारा २ अनुसार पनि सरकार गठन गर्न सकिन्छ।

भण्डारीले विगतमा एमाले र माओवादीले संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार गठन गरेको र पार्टी एकीकरण भएपछि उपधारा १ अनुसारको सरकार बनाएको नजिर रहेको जानकारी दिए। ‘संविधानको धारा ७६ को उपधारा २ अनुसारको सरकार गठन गरेर फेरि धारा १ मा फर्किएको अभ्यास भइसकेका कारण धरा १६८को उपधारा ५ पछि धारा २ को अभ्यास नहुने भन्ने हुँदैन’ भण्डारीले भने।

मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकार ढाल्न सक्रिय रुपमा प्रयत्न गरिरहेका एमाले संसदीय दलका प्रमुख सचेतक भण्डारी मुख्यमन्त्रीको दौडमा रहेको पत्रकारहरूको प्रश्नमा भण्डारीले आफू मुख्यमन्त्रीको दौडमा नरहेको बताए। उनले एमालेको भागमा कोशी प्रदेश परे  संसदीय दलको नेता नै मुख्यमन्त्री हुने स्पष्ट पारे। ‘म मुख्यमन्त्रीको दौडमा छैन’ भण्डारीले भने ‘हाम्रो भागमा कोशी प्रदेश परे संसदीय दलको नेता हिक्मतकुमार कार्की  नै मुख्यमन्त्री बन्नु हुनेछ।’ हिक्मत कार्की मुख्यमन्त्री बन्न नसक्ने भनेर प्रकाशित समाचारहरूमा सत्यता नभएको उनले बताए। पुरानो प्रक्रिया टुङ्गिएर नयाँ सरकार गठन भइसकेको र अब, नयाँ प्रक्रिया सुरु हुने भएकाले हिक्मत कार्की पुनः कोशी प्रदेशको मुख्यमन्त्री बन्न कुनै बाधा नहुने भण्डारीको दाबी छ।

यता कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की भने कोशी प्रदेशमा संविधानको अन्तिम विकल्पको सरकार गठन भइसकेका कारण अब, नयाँ सरकार गठन हुन नसक्ने बताउँदै आएका छन्।  सरकार गठनको अन्तिम विकल्प  संविधानको धारा १६८ को उपधारा ५ अनुसार सांसदको नेतृत्वमा सरकार  गठन भई विश्वासको मतसमेत पाएर सरकार  सञ्चालन भइरहेका कारण केन्द्रमा पार्टी जुटे पनि फुटे पनि नयाँ सरकार गठन नहुने कार्कीले बताउँदै आएका छन्। सरकार अल्पमतमा परेको अवस्थामा मुख्यमन्त्री केदार कार्कीले पुनः विश्वासको मत लिने र प्रदेशसभाबाट विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा १६८ को उपधारा ७ अनुसार प्रदेशसभा विघटनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने मुख्यमन्त्री निकट स्रोतले जनाएको छ। 

प्रकाशित: २ चैत्र २०८० २०:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App