१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसले भन्योः गृहमन्त्री विवादास्पद व्यक्ति भएकाले राजीनामा दिनुपर्छ

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विवादास्पद व्यक्ति रहेको दाबी गर्दै उनको राजीनामा मागेको छ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकको सुरुमै नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले लामिछानेको राजीनामा मागेका हुन्। आकस्मिक समयमा बोल्दै उनले भने, ‘उच्च नैतिकताका आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस्।’

पौडेलले गृहमन्त्री लामिछाने माथि धेरै प्रश्नहरू उठिरहेको जिकिर गर्दै भने, ‘प्रश्न बोकेर पदमा बसिरहन हुँदैन।’

सांसद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिपक्षले उठाएका प्रश्नहरूको जवाफ नदिएर भाग्दै हिँडेको आरोप समेत लगाए। प्रधानमन्त्रीले प्रश्न उठिसकेका व्यक्तिलाई गृहमन्त्री बनाउन नहुने उनले जिकिर गरिरहेका थिए।

‘गृहमन्त्री प्रश्न गर्ने पेसाबाट आउनुभएको हो। राजनीतिमा प्रश्न गर्न मात्रै पाउनुपर्छ भन्न मिल्दैन। आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहुँदैनथ्यो’, उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीले उहाँलाई गृहमन्त्री बनाउनु हुँदैनथ्यो।’

पौडेलले ३१ हजार सहकारीमा ७३ लाख बचतकर्ताको माग आफै अनुसन्धानको घेरामा रहेको व्यक्तिले पूरा गर्न नसक्ने दाबी गरे। ‘अनुसन्धानको घेराभित्रको व्यक्ति सरकारको मुख्य पदमा हुँदा सहकारी पीडितको माग कसरी पूरा हुन्छ रु,” उनको प्रश्न थियो। 

प्रकाशित: २ चैत्र २०८० १२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App