१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाललाई आशंकासहितको विश्वास

प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि अभिवादन गर्दै । तस्बिर : रासस

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत पाएका छन्। संविधानको धारा १०० को उपधारा २ अनुसार दाहालले बुधबार प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका हुन्। प्रतिनिधिसभाको बैठकमा उपस्थित २६८ सदस्यमध्ये दाहालको पक्षमा १५७ मत पर्‍यो। विपक्षमा उभिएका कांग्रेस, राप्रपासहित दलले मात्र होइन, पक्षमै मतदान गरेका दलले पनि प्रधानमन्त्रीप्रति आशंका र अविश्वास व्यक्त गरेका छन्।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस), नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहित दल र स्वतन्त्र सांसदले दाहाललाई विश्वासको मत दिएका हुन्। रास्वपा, जसपा, नेकपा एस, नाउपाका नेताहरूले प्रधानमन्त्रीको कार्यशैलीप्रति आशाभन्दा धेरै आशंका र अविश्वास गर्दै विश्वासको मत दिएका हुन्।

उनीहरूले प्रधानमन्त्री दाहाल राम्रो काम गरेर इतिहास बनाउनुको साटो सत्ताका लागि गठबन्धन मात्र परिवर्तन गर्न लागिपरेको आरोप लगाएका छन्। यसले दाहाललाई ‘इनफ इज इनफ’ भन्ने दिन आउन सक्नेतर्फ पनि साझेदार दलका नेताले सचेत गराएका छन्।

जसपा सांसद राजकिशोर यादवले गणपूरक र प्राविधिक रूपमा बहुमत पु¥याउन मात्र प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफूहरू तयार भएको बताए। प्रधानमन्त्रीलाई लामो समय कुर्सीमा बस्नभन्दा इतिहास रच्ने काम गर्न आग्रह गर्दै उनले भने, ‘यहाँको कार्यकाल लामो कति होला, म यकिनसाथ भन्न सक्दिनँ। तर आयु तपाईंकै हातमा छ।’ जनयुद्ध लडेका दाहालले आफू बाँचुन्जेल उथलपुथल गरिदिन्छु भनेको प्रसंग उठाउँदै यादवले भने, ‘यही हो उथलपुथल, सहयात्रीलाई थाहै हुँदैन।’

यादवले अरू देशमा सहयात्रीका कारण गठबन्धन धरापमा पर्ने गरे पनि नेपालमा भने प्रधानमन्त्री नै कारण भएको बताए। त्यति मात्र होइन, पटकपटक दाहालको पक्षमा उभिए पनि उनले सत्ता र शक्तिका लागि धोका दिँदै बाटोमा अलपत्र छाडेर हिँडेको गुनासो सत्ता साझेदार दलका सांसदले गरे।

आगामी दिनमा पनि दाहालबाट फेरि धोका हुँदैन भन्नेमा विश्वास गर्ने आधार नभए पनि विश्वासको मत दिने उनीहरूले बताए। प्रधानमन्त्रीलाई विश्वासको मत दिएको नेकपा एसका सांसद राजेन्द्र पाण्डेले बजेटमा सांसदहरूको माग सम्बोधन नगरे पारित हुन नदिने चेतावनी पनि दिए।

‘संविधानको रक्षाका लागि र पार्टीभित्रको व्यक्तिवादी चरित्रविरुद्ध हामीले विद्रोह गरेर, आफैंले बनाएको पार्टी तोडेर, विष पिएर तपाईं (दाहाल) को पक्षमा उभिएका थियौं,’ पाण्डेले प्रतिनिधिसभामा भने, ‘हामीलाई बाटोमा छाडेर पटकपटक हिँड्नुभयो। योभन्दा अनैतिकता के हुन्छ ?’

प्रतिनिधिसभाको पहिलो र दोस्रो दल क्रमशः नेपाली कांग्रेस र नेकपा एमाले मिलेका दिन माओवादी र त्यसका अध्यक्ष दाहालको हालत के हुन्छ भन्ने प्रश्न पनि पाण्डेले गरे। विगतलाई नर्बिसन चेतावनी दिँदै उनले भने, ‘सशस्त्र विद्रोहमा मारिएका ५ हजारको जिम्मा लिन्छु भन्ने र १७ हजार २ भन्नेहरू यहीँ सँगै बसेका छौं। नेपाली जनताले तपाईंहरूलाई हेर्न बाँकी छ।’

विश्वासको मत दिने बेलामा प्रधानमन्त्री दाहालका विषयमा धेरै बोल्न नचाहेको बताउँदै उनले थपे, ‘प्रधानमन्त्रीज्यू, तपाईंबारे सडकका मान्छेमा पनि कति चाँडो रङ फेर्ने प्राणी भन्ने पहिचान बनेको छ।’ सत्ता साझेदार दलमै सरकार लामो समय चल्छ र जनचाहनाअनुसार काम हुन्छ भन्ने विश्वासभन्दा अविश्वास र संशय धेरै देखिएको छ।

विश्वासको मत दिने दलका नेताहरूले जनहित र सुशासनका पक्षमा दाहाल नेतृत्वको सरकारले काम गर्न नसके अलग हुने चेतावनी पनि दिएका छन्। रास्वपाका सांसद स्वर्णिम वाग्लेले चेस खेल्न बसेपछि गोटी चाल्नैपर्ने र ‘चेकमेट’ गर्ने दिन पनि आउने बताए। केही गरेर देखाउन सरकारमा सहभागी भएको बताउँदै उनले भने, ‘हाम्रो प्रवेश काम देखाउन हो। काम गर्न नसकेका दिन हामी आफैं बाहिरिन्छौं। हामीलाई गलहत्याउन पर्दैन।’

गृहकलहका बीच प्रधानमन्त्री दाहालको पक्षमा उभिएको नाउपाले ठुला हौं भनेर साना दलको भूमिकालाई नजरअन्दाज नगर्न आग्रह गरेको छ। नाउपा सांसद रञ्जिता श्रेष्ठले आफूले कक्षा ८ मा पढ्दा एउटा विषयको परीक्षामा लामो प्रश्नको मात्र उत्तर लेख्दा फेल भएको प्रसंग उठाउँदै साना दलहरूको पनि संसद् र सरकार निर्माणमा महत्वपूर्ण भूमिका रहेको र रहने बताइन्।

साना राजनीतिक दलहरू सत्ताको सहारा मात्र नभएर नेपाली जनताको ठुलो भरोसा भएको बताउँदै उनले भनिन्, ‘हामी साना दल भनेर सबैलाई थाहा छ। चार सिटको पार्टीले पनि विश्वासको मत दिइरहेको छ। यो कुरा प्रधानमन्त्रीले महसुस गर्नु हुनेछ।’

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त माओवादी केन्द्रका अध्यक्ष दाहालले यसअघि दुई पटक विश्वासको मत लिएका थिए। संविधानको धारा ७६ (४) अनुसार प्रधानमन्त्री दाहालले पहिलो पटक २०७९ पुस २६ गते विश्वासको मत लिएका थिए। त्यसपछि एमालेसहितको गठबन्धन छाडेर कांग्रेससमेतका दलसँग मिलेका दाहालले चैत ६ गते फेरि धारा ११० को उपधारा २ अनुसार विश्वासको मत लिएका थिए।

पहिलो पटक पुस २६ गते संसद्मा उपस्थित २ सय ७० सांसदमध्ये २ यस ६८ जना दाहालको पक्षमा उभिँदा २ जनाले मात्र विपक्षमा मत दिएका थिए। उनले दोस्रो पटक विश्वासको मत लिँदा पक्षमा १ सय ७२ मत प¥यो। त्यसबेला एमालेसहितका ८९ सांसदले दाहालको विपक्षमा मत दिएका थिए।

तेस्रोपटक प्रतिनिधिसभा बैठकमा उपस्थित २ सय ६८ सांसदमध्ये कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सहित १ सय १० जनाले विपक्षमा मत दिए।

प्रकाशित: १ चैत्र २०८० ०६:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App