१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

गठबन्धन बलियो बनाउन तीन नेता बालुवाटारमा

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन अघि सत्ता साझेदार प्रमुख तीन दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्ष बालुवाटारमा भेला भएका छन्।

हालको सहकार्यलाई आगामी दिनमा मजबुद बनाउने विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल भेला भएका हुन्।

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन अघि नेकपा एकीकृत समाजवादीले पार्टीले अघि सारेका मागहरूको विषयमा छलफल गर्दै आगामी दिनको सहकार्यलाई बलियो बनाउने समझदारी गर्न उनीहरु बालुवाटारमा जुटेका हुन्।

नेकपा एसले सोमबार लिखित सहमति जनाए मात्रै प्रधानमन्त्रीलाई विश्वासको मत र राष्ट्रिय सभा अध्यक्ष पदमा माओवादी उम्मेदवारलाई मत दिने जनाएपछि सो विषयमा पनि छलफल गर्ने तथा अन्य उच्च स्तरीय सहमतिको बारेमा पनि छलफल हुने बताइएको छ।

प्रधानमन्त्री दाहालले गत २३ गते मन्त्रिमण्डल विस्तार गर्दा माधव नेपालसँगको औपचारिक छलफलपछि अन्तिम समयमा मात्रै एकीकृत समाजवादीका मन्त्री समेटिएका थिए।

कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग गठबन्धन गर्न पुगेका प्रधानमन्त्री दाहालले  गठबन्धन फेर्नु अघि आफूलाई थाहा नै नदिएको भनेर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल असन्तुष्ट थिए। उनलाई मनाउन एमाले अध्यक्ष ओली र प्रधानमन्त्री स्वंय नेपाल निवास कोटेश्वर पुगेका थिए।

उनीहरुबीच भेटघाट कुराकानी भएपछि नेपालले पार्टीको बैठकबाट सरकारमा जाने निर्णय गराएका थिए। त्यसपछि एसका तर्फबाट भानुभक्त जोशी र धनबहादुर बूढा मन्त्रीपरिषदमा सहभागी भएका थिए। उनीहरुलाई मन्त्रीमा पठाएपछि एसका सांसदहरुले संसदीय दलको बैठकमा मन्त्री बनाउने मापदण्ड माग गर्दै माधव नेपाल, घनश्याम भूसाल र प्रमेश हमालमाथि प्रश्न गरेका थिए।

प्रकाशित: २९ फाल्गुन २०८० १०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App