१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

ओली– दाहालबीच बालुवाटार बाहिर गोप्य भेटघाट

फाइल तस्बिर।

प्रधानमन्त्री पुष्पकमल दाहालले र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गोप्य भेटघाट गरेका छन्। प्रधानमन्त्री निवासभन्दा बाहिर उनीहरुबीच भेटघाट भएको बालुवाटार स्रोतले जनाएको छ।

प्रधानमन्त्री दाहालले सोमबार विश्वासको मत लिने भएपछि साझेदार दलका अध्यक्ष ओलीसँग भेटघाट गरेका हुन्। सोमबार विश्वासको मत लिने र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको विषयमा उनीहरुबीच कुराकानी भएको स्रोतले जनाएको छ।

ओली आठ बजेपछि घरमा पुगिसक्नु पर्ने भएकाले त्यअघि नै उनीहरुबीच एक व्यापारीको घरमा भेटघाट भएको हो। ‘आठ बजे एमाले अध्यक्ष ओलीको औषधि लिने समय हुने भएकाले त्यसअघि उहाँहरुबीच भेटघाट भएको हो’, बालुवाटार निकट स्रोतले भन्यो। 

माओवादीले कांग्रेससँगको गठबन्धन तोडेर नयाँ गठबन्धन गरेपछि दाहालले ओलीसँग मात्रै भेटघाट गरेका हुन्। नयाँ गठबन्धन बनेपछि बहुमत पुर्‍याउने विषयमा उनीहरुबीच कुराकानी भएको हुनसक्ने बताइएको छ।

कांग्रेसले विश्वासको मत पुर्‍याउन नदिने कसरत गरेकाले चाडै नै विश्वासको मत लिन लागेको विषयमा एमालेसँग छलफल गरेको माओवादीका एक नेताले बताए।

अहिले सरकारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई सहभागी बनाएका छन्। नेकपा एसको तर्फबाट दुई मन्त्रीले शपथ लिइसकेका छन्। तर पनि एसले दाहाललाई विश्वास गुमाएको आरोप लगाइरहेको छ।

शनिबार मात्रै एस पार्टीका सांसद मेटमणी चौधरीले यो सरकार एक महिना पनि नचल्ने दाबी गरेका थिए। नयाँ समीकरण बन्नु अघि ओली र दाहालबिच पटक–पटक गोप्य भेटघाट भएको थियो। सो भेटघाटको विषय बाहिर आएको थिएन।

गठबन्धन बनेपछि २०८४ को निर्वाचनसम्म सहकार्य गर्ने समझदारी भएको थियो। विश्वासको मत लिनुअघि जसपाका अध्यक्ष उपेन्द्र यादवले उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ लिने तयारी गरिएको छ।

तर यादवले उपप्रधानमन्त्रीको वरियता नमिलेको भन्दै बखेडा भिकिरहेका छन्। ‘मन्त्रिपरिषद्ले पूर्णता पाएपछि फागुन ३० मा सरकारले विश्वासको मत लिने तयारी भइरहेको छ’, बालुवाटार निकट स्रोतले भन्यो।

फागुन २१ मा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादीबीच ८ बुँदे लिखित सहमति गरी नयाँ गठबन्धन गरेका थिए।

प्रकाशित: २६ फाल्गुन २०८० २२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App