नेकपा (एमाले) का सांसद विष्णुप्रसाद पौडेलले वर्तमान सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाको चालु कार्यकाल पूरा गर्ने बताएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले वर्तमान सत्तारुढ गठबन्धनले प्रतिनिधि सभाको कार्यकाल पूरा गर्ने बताएका हुन्।
उनले यो गठबन्धन कुनै स्वार्थको लेनदेनमा आधारित नभएको र कुनै अवसरको निम्ति पनि नगरिएको स्पष्ट पारे। ‘जनता र राष्ट्रका समस्याहरुलाई केन्द्रमा राखेर समाधान गर्ने उद्देश्यसहित सहयात्रा प्रारम्भ भएको हो। विगतका अनुभवहरुबाट शिक्षा लिएर सहयात्रा आरम्भ भएको हौं। कुनै दुर्घटना हुदैन। गठबन्धनले सहयात्राको औचित्य स्थापित गर्छ।’ उनले भने।
सांसद पौडेलले गठबन्धन परिवर्तन हुनुलाई स्वभाविक संसदीय अभ्यासको रुपमा लिनुपर्ने सुनाए। यो प्रक्रिया स्वभाविक संसदीय अभ्यास र परम्परा रहेको उनको भनाइ थियो।
उनले संवैधानिक प्रवन्ध अनुरुप नै कदम चालिएको भन्दै सोही अनुरुप बुझ्न आग्रह गरे।
प्रकाशित: २४ फाल्गुन २०८० १५:०९ बिहीबार