१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

जसपा र जनमतको ‘बटमलाइन’ मुख्यमन्त्री

तराई मधेसकेन्द्रित दुई पार्टी जनता समाजवादी (जसपा) र जनमतले संघीय सरकारमा सहभागी हुन मधेस प्रदेशको मुख्यमन्त्रीलाई आफ्नो बटमलाइन बनाएका छन्। अहिले मधेस प्रदेशको मुख्यमन्त्री जसपाले पाएको छ। यसलाई आगामी चार वर्षसम्म निरन्तरता दिन जसपाले अडान राखेको छ।

केन्द्र सरकारमा सहभागी हुने विषयमा बुधबार बिहान जसपाको कार्यकारिणी समितिको बैठक बोलाइएको थियो। बैठकमा अधिकतर सदस्यले केन्द्र सरकारमा जान हतार गर्न नहुने बरु मधेस प्रदेशको मुख्यमन्त्रीको सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए।

‘हाम्रो बटमलाइन मधेस प्रदेश सरकारको मुख्यमन्त्रीको सुरक्षणको प्रत्याभूति हो,’ जसपा प्रवक्ता मनीष सुमनले भने, ‘बाँकी अवधिसम्म मधेस प्रदेशको मुख्यमन्त्रीको सुरक्षणको प्रत्याभूति भएपछि मात्र हामी संघीय सरकारमा सहभागी हुनेछौं, नभए हुँदैनौं।’ जसपा तत्काल सरकारमा सहभागी नहुने उनले प्रष्ट पारे। ‘तत्काल सरकारमा सहभागी नभए पनि हामीले पुष्पकमल दाहाल नेतृत्व सरकारलाई समर्थन गरेका छौं,’ उनले भने।

यसैगरी जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले जनमत पार्टीले मधेस प्रदेश सरकारको मुख्यमन्त्री पाए मात्र केन्द्र सरकारमा सहभागी हुने बताए। ‘२०७९ पुस १० गतेको सहमतिमा एक वर्षपछि मधेस प्रदेशको मुख्यमन्त्री जनमतले पाउने सम्झौता गरिएको थियो। उक्त सम्झौताको जसपाले उल्लंघन गरेको छ,’ यादवले भने, ‘त्यसैले उक्त सम्झौताअनुसार अब मधेस प्रदेशको मुख्यमन्त्री जनमतले पाउनुपर्छ भन्ने हाम्रो माग हो। मधेस प्रदेशको मुख्यमन्त्री पाए मात्र हामी संघीय सरकारमा सहभागी हुन्छौं।’ मधेस प्रदेशको मुख्यमन्त्री नपाएमा जनमत संघीय सरकारमा सहभागी नहुने उनले बताए।

मधेस प्रदेशमा जसपाको १९, एमालेको २४, माओवादीको ९, नेपाली कांग्रेसको २२, जनमतको १३ तथा लोकतान्त्रिक समाजवादी पार्टीको ९ सिट छ। मधेसमा मुख्यमन्त्री बन्न कम्तीमा ५४ सदस्य प्रदेशसभा सांसदको समर्थन आवश्यक पर्छ।

यसैगरी अर्को तराई मधेसकेन्द्रित दल लोसपा तत्काल सरकारमा सहभागी नहुने भएको छ। लोसपाका नेता डा. सुरेन्द्र झाले पार्टी तत्काल सरकारमा सहभागी नहुने प्रष्ट पारेका हुन्। लोसपाले बिहीबार कार्यकारिणी समितिको बैठक बोलाएको छ।

प्रकाशित: २४ फाल्गुन २०८० ०६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App