१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

एमालेले माग्यो मुख्यमन्त्रीको राजीनामा

केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएसँगै कोशी प्रदेशको सरकार अल्पमतमा परेको दाबी गर्दै नेकपा एमालेले कोशीका मुख्यमन्त्रीकाे नैतिकताका आधारमा राजीनामा मागेको छ। नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले कोशी प्रदेशका मुख्यमन्त्री अल्पमतमा परिसकेका कारण नैतिकताका आधारमा राजीनामा दिन माग गरे।  

भण्डारीले भने‘मुख्यमन्त्री केदार कार्की अल्पमतमा परिसकेका कारण उनले तत्कालै राजीनामा दिएर नयाँ सरकार गठनको बाटो खोल्नुपर्छ।’ सर्वोच्चको व्याख्याअनुसार सरकार बन्ने विकल्प बाँकी रहेसम्म संसद विघटन गर्न पाइँदैन भन्ने भएकाले कोशी प्रदेशमा पनि संविधानको धारा १६८ को उपधारा ३ वा ५ बमोजिम सरकार बन्ने अवस्था रहेसम्म प्रदेशसभा विघटन गर्न नपाइने भण्डारीले दाबी गरे, तर कोशी प्रदेशमा संविधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेशसभाको बहुमत पु¥याउने संसदको सरकार छ।  

मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाको बहुमत पु¥याउने प्रदेशसभाको सदस्यको हैसियतले मुख्यमन्त्री बनेका कारण केन्द्रको सत्ता समीकरणको फेरबदलले कोशी प्रदेशको सरकार परिवर्तन नहुने सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री शमशेर राईले बताए।

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बनेको सरकार अल्पमतमा परे प्रदेशसभा विघटन गरी ६ महिनाभित्र चुनावमा जानेबाहेक अन्य विकल्प नरहेको उनले स्पष्ट पारे। राईले भने, ‘सरकार गठनका लागि संविधानमा धारा १६८ को उपधारा ५ पछि अन्य विकल्पको परिकल्पना नगरेका कारण यो सरकारको विकल्प भनेको नयाँ म्यान्डेडका लागि चुनावमा जानु मात्रै हो।’    

गठबन्धन दलहरुसँग विद्रोह गर्दै कांग्रेसका ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा (५) अनुसार असोज २७ गते मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका थिए।

प्रकाशित: २१ फाल्गुन २०८० १२:२७ सोमबार

कोशी प्रदेश मुख्यमन्त्रीको राजीनामा एमालेले माग्यो सत्ता गठबन्धन परिवर्तन सरकार अल्पमत नेकपा एमालेले कोशी