१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

माओवादीबाट नेकपा एसलाई फेरि धोका!

नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाएको बारेमा नेकपा एकीकृत समाजवादी बेखबर छ। नेकपा एसलाई यस विषयमा कुनै पनि जानकारी नभएको पार्टीका प्रचार विभाग जगन्नाथ खतिवडाले बताए।

‘हामीलाई नयाँ समीकरण बनेको जानकारी छैन, प्रधानमन्त्रीले मन्त्रीहरुको राजीनामा पनि माग्नु भएको छैन’, प्रचार विभाग प्रमुख खतिवडाले भने। उनका अनुसार अहिले दिउँसो एक बजे पार्टी सचिवालय बैठक बस्ने र नयाँ गठबन्धनबारे धारणा सार्वजनिक गर्नेछ। ‘हाम्रो पार्टीको सचिवालय बैठक बस्दैछ त्यही नयाँ समीकरणबारे धारणा सार्वजनिक हुनेछ’, उनले भने।

२०७९ पुस १० गते एमाले माओवादीसहित बनेको समीकरणलाई भत्काएर नेपाली कांग्रेससँग समीकरण गराउन सफल भएका माधव नेपाललाई अहिले पुनः धोका दिएका छन्। कांग्रेस माओवादी र नेकपा एस लगायतका दलहरुसहित बनेको समीकरणले एक वर्षपछि माधव नेपाललाई प्रधानमन्त्री बनाउने घोषणा गरेको थियो। तर, त्यो गठबन्धन एक वर्षमा टुटाएर माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग नयाँ समीकरण गरेका छन्। ‘अहिले नयाँ समीकरण बनेको भनेर हामीले सञ्चारमाध्यममा मात्रै थाह पायौ’, एसमा प्रचार विभाग प्रमुख खतिवडाले भने।

तर, सत्ताको नेतृत्व गरिरहेको दल माओवादीले भने अहिलेको गठबन्धनमा नेकपा एमालेबाट फुटेर बनेको नेकपा एसलाई नयाँ गठबन्धनमा समेट्नुपर्ने पक्षमा छ। आज माओवादी सचिवालय  बैठकपछि सचिव देवेन्द्र पौडेलले वामपन्थी एकताका लागि नेकपा एसलाई पनि समेट्ने निर्णय भएको बताए। ‘माधवजीलाई पनि र उहाँले नेतृत्व गरेको पार्टीलाई अहिलेको प्रकरणमा कन्भिन्स्ड गरेर सँगै लैजाने हामीले निर्णय गरेका छौँ।

एमालेले नेकपा एसलाई समेट्न मान्ला त भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘वामपन्थी भनेपछि मान्नुपर्‍यो नि। इगो लिएर मात्र हुँदैन। हिजो इगोले हामीलाई कहाँ पुर्‍यायो सबैलाई थाहै छ। उहाँहरू (एमाले) को पनि भाषा र साइकोलोजी बुझेर हामीले निर्णय गरेको हो।’ तर यसअघि कांग्रेससहितको गठबन्धनमा भने माधव नेपाललाई एक वर्ष प्रधानमन्त्री बनाउने सहमति भएको थियो।

प्रकाशित: २१ फाल्गुन २०८० ११:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App