६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

वडाले रोक्यो बालविवाह

फाइल तस्वीर

जुम्लाको तिला गाउँपालिका–८ जुम्लाकोट गाउँमा हुन लागेको बालविवाह रोकिएको छ। जनप्रतिनिधि, कर्मचारी र प्रहरी चौकीको समन्वयमा हुनै लागेको बालविवाह रोकिएको वडा सचिव खड्गबहादुर रावतले बताए।

सचिव रावतका अनुसार यही फागुन ९ गते १९ वर्षीय बालक र १७ वर्षीया बालिकाबीच विवाह हुन लागेको थियो। विवाह गर्ने भनेर बालकको घरमा बालिका लगिसकेको अवस्थामा बालविवाह रोकिएको हो।

पहिले बालविवाह नगर्न आग्रह गर्‍यौं। बालविवाह गर्दा हुने हानिबारे जानकारी दियौं,’ उनले भने, ‘बालक र बालिका पक्ष आ–आफ्नो घरमा राखेर बसाल्न राजी भएपछि बालविवाह रोकिएको उनी बताउँछन्।’

उनीहरूका अभिभावकले उमेर पुग्दासम्म पढाइलेखाइ गर्ने र उमेर पुगेपछि विवाह गर्ने सहमति गरेको सचिव रावतको भनाइ छ। तिला–८ वडालाई बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी छ।

सचिव रावतले भने, ‘कुनै पनि समुदायमा बालविवाह नहोस् भनेर सचेतनाका क्रियाकलाप भइरहेका छन्। गाउँटोल, बस्ती र घरदैलोमा पुगेर बालविवाहविरुद्धको अभियान घनीभूत रूपमा चलिरहेको छ। जसअनुसारै पहिलो पटक हुनै लागेको बालविवाह रोकिएको हो।’

संविधानले बालविवाहलाई अपराध ठानेको छ। कुनै पनि व्यक्ति समुदायमा बालविवाह भइहाले ३० हजार रूपैयाँ जरिवाना र तीन वर्ष कैद हुने व्यवस्था गरेको छ। अहिले वडा कार्यालयले बालविवाह गर्दा हुने सजाय र स्वास्थ्यमा पर्ने असरबारे सचेतना तीव्र पारेको छ।

 बालविवाह गर्नेलाई सरकारी सेवाबाट वञ्चित गराउनुका साथै विवाह गर्दा हुने भोजभतेरसमेत बहिष्कार गर्ने निर्णय वडा कार्यालयले गरेको छ। विवाह गर्दा पालिकाको सिफारिस अनिवार्य गरिएको सचिव रावतले बताए।

प्रकाशित: १३ फाल्गुन २०८० ०६:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App