८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस महासमिति बैठक: जिल्ला सभापतिहरूले के भने ?

नेपाली कांग्रेसको सोमबारदेखि सुरु भएको महासमिति बैठक अन्तर्गत बुधबार जिल्ला सभापतिहरूले आआफ्ना धारणा राखेका छन्।

जिल्ला सभापतिहरूका साथै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, प्रवक्ता प्रकाशशरण महत तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस्तुत प्रतिवेदनमाथि धारणा राख्ने क्रम सुरु भएको छ। सोही क्रममा जिल्ला सभापतिले आ–आफ्ना धारणा राखेका छन्।

जिल्ला सभापतिहरूले के भने ?

केदार भण्डारी, सुनसरी

आफ्नो मान्छे परे गठबन्धन ठिक नपरे बेठिक भन्ने परिपाटी अन्त्य गरिनुपर्ने पर्छ। कोशीमा कांग्रेसले गठबन्धन गरेर गल्ती भएको छैन। एमालेलाई कमजोर पार्न सक्नुपर्छ। माओवादीलाई धेरै बिच्काउनु हुन्न। गठबन्धन तलमाथि नबनोस्। गठबन्धन गर्न हुन्न भन्ने कुरा अहिले यहाँबाट गर्न हुन्न। जिल्लालाई कमजोर बनाएर केन्द्रले निर्णय गर्दा कार्यकर्ताको मन दुखेको हुन्छ। नामकरणको विषयमा पनि स्पष्ट पारेर जानुपर्छ। कोशीमा सहज वातावरण बनाउन पार्टी नेतृत्व लाग्नु पर्छ ।

देउमान थेवे, झापा

गठबन्धनको कुरा ८३ तिर गर्दा भइहाल्छ नि। अहिले हतार किन गर्न त्यति आवश्यक छैन। यसले इलाममा उपनिर्वाचन हुँदैछ, त्यहाँ असर गर्छ। गठबन्धनकै कारण ७ प्रदेशमा सरकारमा छौं। गठबन्धन अस्ति नहुँदा हाम्रो ओठ मुख सुकेको थियो। सातै प्रदेश र संघ जाँदा के हुन्छ ? केपी ओलीले अर्को गठबन्धन गर्ने भनिसकेका छन्। चर्चामा आउन मात्र गठबन्धनको विरोध नगरौँ यर्थाथलाई आत्मसाथ गरौँ।

नारायणदत्त भट्ट, कैलाली

प्रदेश समितिलाई कसरी सक्रिय बनाउने र उनीहरुलाई कसरी गाउँगाउँ पुर्‍याउने त्यसतर्फ पार्टी ध्यान दिनुपर्छ। महाधिवेशन कहिले गर्ने भन्ने कुरा आएको छ। समयमा गर्ने समयमा नसके विधानले व्यवस्था गरे बमोजिम गर्ने, नसके संविधानको धारा प्रयोग पाँच वर्ष र ६ महिना बढाउने। तर सकभर समय गर्नुपर्छ। गठबन्धन नगर्ने कुरा अहिले नै फैसला गर्ने समय होइन। भावनामा बगेर काम गर्दा पछुताउनुपर्ने परिस्थिति आउन सक्छ। २०८४ सम्म देशमा के-के हुन्छ ? कम्युनिस्टहरु एक हुन्छौं भनेका छन् अनि के हुन्छ ?

राजु थापा, स्याङ्जा

जनताको म्यान्डेटअनुसार गठबन्धन गरिएको छ। चार वर्षपछि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय अहिले नै निर्णय गर्नुपर्छ भन्नु उपयुक्त होइन। प्रतिपक्षी दल नेकपा एमाले अहिले गठबन्धन तोड्ने रणनीतिमा छ। जनतामा संघीयता महँगो भयो भन्ने चिन्ता बढ्दो देखिन्छ। त्यसमा पार्टीले सोच्नु पर्छ।

दिनेश राई, धनकुटा

कोशीमा हामीले विकासका मुद्दालाई अघि बढाउन नसकेको अवस्थामा राजनीति कसरी गर्ने ? कोशी प्रदेको नामांकन विषय पेचिलो हुँदै गर्दा नेतागणहरु कानमा तेल हालेर बस्नुभयो। कुनै पनि राजनीतिक दलहरु खुलेर कार्यक्रम गर्न पाएको छैन। कोशीको पहिचानको विषयमा महासमिति बैठकले निर्णय दिन नसके १४ जिल्ला सभापति मिलेर समाधान दिनेछौँ।

सुनिल कुमार यादव, रौतहट

गठबन्धन रणनीतिक कुरा हो। अहिले नै निर्णय गर्न आवश्यक छैन। गठबन्धन राजनीतिक स्थायित्वको लागि गरिएको हो। भ्रष्टाचारको बारेमा कडा नीति हुनुपर्छ।

जनार्दश सिंह क्षेत्री, पर्सा

२०७४ मा गठबन्धन नगर्दा पार्टीको कुन हालत थियो भन्ने कुरा बुझ्न आवश्यक छ। भ्रष्टाचार निवारणमा कांग्रेस निर्मम ढंगले प्रस्तुत हुनुपर्ने पर्छ। २० हजार क्रियाशील सदस्य छन् भोट १० हजार आउँछ। क्रियाशील सदस्यता वितरणमा पारदर्शी पर्छ। पार्टीलाई भोट नहाल्ने क्रियाशील सदस्य किन चाहियो ?

अहिलेको गठबन्धन नभएको भए नेपाली कांग्रेसमा निराशा थप बढ्ने र कमजोर हुने स्थिति सिर्जना हुने थियो। अहिले नै गठबन्धनबारे निर्णय गरेर अघि बढ्दा उचित हुँदैन। यसबारे पछि परिस्थिति अनुसार निर्णय गरिनुपर्छ। कांग्रेसले शिक्षा, स्वास्थ्य र रोजगारीलाई युवासँग जोडेर योजना बनाउनुपर्छ।

नन्दु न्यौपाने, गोरखा

कांग्रेस पार्टी आज आफ्नै खुट्टामा अभिन सकेन। गोरखामा गठबन्धन दलको विचार नमिलेका कारण समस्या भएको छ। नेपाली समाजमा कांग्रेसको ठूलो योगदान छ र आफ्नो विचार र सिद्धान्तमा अडिग रहनुपर्छ।

बुद्ध लामा, मकवानपुर

कांग्रेसलाई विकास निर्माणसँग जोड्ने र भ्रष्टाचार अन्त्यका लागि नेतृत्व गर्नुपर्ने पर्छ। कांग्रेसले भ्रष्टाचार अन्त्यका लागि नेतृत्व गर्नुपर्छ र परराष्ट्र नीतिको सही कार्यान्वयन गर्न आवश्यक छ।

रामनाथ अधिकारी, धादिङ

गठबन्धनले एकतर्फ रुपमा सरकार चलिरहेको छ भन्ने सन्देश गएको छ। गठबन्धनबारे निर्वाचनको समयमा निर्णय लिन सकिन्छ। निर्वाचन सकेको केही महिनामा नै जनतामा निराशा छायो। पार्टीले जनतालाई आशा र भरोसा जगाउने गरी अघि बढ्नुपर्छ।

महेन्द्र जिसी, नवलपरासी

पार्टीको केन्द्रीय सदस्य हुनेहरू तलबाटै निर्वाचित भएर आउने व्यवस्था विधानमै राख्न पर्छ। प्रदेश सरकारलाई जनतालाई जनताले जोकरको रुपमा हेरेका छन्। भ्रातृ संस्थाहरूलाई अधिकारी दिइएको छैन काम गरेन मात्र भनेर भएन। नेतृत्वले संगठन किन विस्तार भएन भनेर बुझ्नुपर्छ। गठबन्धनका बारेमा आवश्यक रणनीतिबारे आफ्नो सिद्धान्तबारे अडिक भएर निर्णय लिन पर्छ।

खमबहादुर गर्बुजा, म्याग्दी

शीर्ष नेताहरू एक ठाउँमा हुन जरुरी छ। म्याग्दीमा गठबन्धन नगरी चुनाव जित्ने अवस्था छैन।

गजेन्द्र तमु, ताप्लेजुङ

कोशीमा पहिचानको मुद्दा कांग्रेसले मिलाउनुपर्छ। पूर्व र पश्चिमलाई एकै ठाउँमा जोड्दै गर्दा कांग्रेस अभिभावक बन्नुपर्छ। १३० बढी जात बसेको देशमा धर्मको कुरा गर्नुपर्छ। गाउँ बस्तीमा कांग्रेस सरकारको अनुभव गर्न सकेका छैनन्। पार्टी सफल बनाउने हो देश समृद्ध बनाउने हो भने सरकार पार्टीले सञ्चालन गर्नुपर्छ।पार्टीमा अनुशासन भएन। अन्तर्घात धेरै भयो।

रुपनारायण जबेगु, पाँचथर

कोशीको मुद्दालाई तत्काल निकास दिन नेतृत्वले निकास दिन पहल लिनुपर्छ। सबै तहका पार्टी पदाधिकारी मनोनयन गर्ने व्यवस्था विधानमा व्यवस्थापन गर्नुपर्छ र त्यो अधिकार सभापतिलाई दिनुपर्छ। सभापति कमजोर भए पार्टी कमजोर हुन्छ। जिल्लाको भातृ संगठनका प्रमुख नियुक्ति गर्दा जिल्ला सभापतिसँग परामर्श गरेर मात्र नियुक्त गरियोस्।

पेम्बा छिरिङ, रसुवा

गठबन्धनबारे जबरजस्ती निर्णय लिनु हुँदैन। आवश्यकताका आधारमा निर्णय लिनुपर्छ। जित्ने हार्न अवस्था जिल्लालाई थाहा हुन्छ। त्यसका आधारमा नै गठबन्धन गरिनुपर्छ।

ऐनबहादुर शाही, मुगु

द्वन्द्वपीडित र सहिदका परिवारलाई पार्टीले वडादेखि आरक्षण दिनुपर्छ। हिन्दु धर्मको कुरा उठिरहँदा पार्टीले धारणा बनाउन जरुरी छ।

पूर्ण शाही, डोल्पा

कांग्रेसमा अनुशासन हीनता बढ्दै गयो। नेता तथा कार्यकताले जे मन लाग्यो त्यही गर्ने अवस्था भयो।

भीमबहादुर साउद, डडेलधुरा

गठबन्धन परिस्थितिले निम्त्याउने कुरा भएकोले अहिले नीतिमा हाल्न आवश्यक छैन। अब नेपाललाई आत्मनिर्भर बनाउन १२ कक्षा पढेपछि विदेश जानुपर्छ भन्ने सोच हटाउनुपर्छ।

प्रकाशित: ९ फाल्गुन २०८० २३:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App