१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संसदमा तीन मन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्षी एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, पर्यटनमन्त्री सुदन किराती र स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई पदमुक्त गर्न प्रधानमन्त्रीसँग माग गरेको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा समय लिएर एमाले सचेतक महेश बर्तौलाले मन्त्री ज्वाला बालकुमारी घटना, मन्त्री किराती रामग्राम स्तुप क्षेत्रको जग्गा लिज प्रकरण र मन्त्री बस्नेत टेरामक्स खरिद प्रकरणमा मुछिएका कारण उनीहरूले राजीनामा दिनुपर्ने माग गरेका हुन्।

बर्तौलालाई तीनजना मन्त्रीको राजीनामा माग गरेपछि एमाले सांसदहरू आआफ्नो सिटबाट उठेका थिए। सभामुख देवराज घिमिरेले यस विषयमा सरकारको ध्यानकर्षण गराउने भनेपछि उनीहरू बसेका थिए।  

गत पुस १३ गते ललितपुरको बालकुमारीमा कोरियाली भाषा परीक्षा विवादमा प्रहरीले गोली चलाउँदा दुई युवकको मृत्यु भएको थियो। बर्तौलाले उक्त घटनामा मन्त्री ज्वाला दोषी भएको प्रतिवेदन सरकारी टोलीले ने तयार पारेको भन्दै उनलाई तत्काल बर्खास्त गर्न माग गरे।

बालकुमारीमा प्रदर्शन भइरहेका बेला मन्त्री ज्वाला झन्डावाल गाडीसहित त्यहाँ पुग्दा स्थिति तनावग्रस्त बन्न पुगेको थियो। त्यसै क्रममा प्रहरीले चलाएको गोली लागेर वीरेन्द्र शाह र सुजन राउतको मृत्यु भएको थियो।

‘प्रतिवेदनको निष्कर्ष निस्कियो, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको लापरबाहीका कारण दुईजनाको ज्यान गयो र करोडौंको सम्पत्ति क्षति भयो,’ बर्तौलाले भने, ‘सिपाहीलाई डण्डा, मन्त्रीलाई झन्डा ? दोषी मन्त्रीलाई पदमुक्त गरियोस्।’ 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि उक्त घटनामा दोषी भनिएका मन्त्री ज्वालालाई कारबाहीको माग गरे। प्रमाण हुँदा पनि कारबाही नगर्दा सुशासन कसरी स्थापना हुन्छ भन्ने प्रश्न उनको थियो।

प्रकाशित: ७ फाल्गुन २०८० ०९:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App